17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समाज, सिर्जना र सर्जक

विचार शिव प्रकाश August 1, 2013, 5:40 pm

करीव १२५ वर्ष अघि वृटिस कवि म्याथु आर्नोल्डले भनेका थिए– “उत्तम साहित्यिक रचनाले समाजलाई अराजकताबाट जोगाउँछ ।”

समाज भन्नाले मानिसहरुको समूह नै हो । प्राचीन र परम्परागत मान्यता तथा अर्थ र परिभाषामा समाजको व्याख्या जसरी भए पनि आधुनिक समाज भनेको विभिन्न धर्म, सम्प्रदाय, जातजाती, भाषाभाषी, सँस्कार र संस्कृतिका अनुयायीहरुको सामूहिक स्वरुप हो ।

साहित्यको परिभाषा विविध र वृहद भएता पनि सबैले साजिलै बुझ्ने र ग्रहण गर्ने परिभाषा आचार्य महावीर प्रसादले दिए– “सहित्य समाजको दर्पण हो ।” र, साहित्य समाज र समयको प्रतिविम्ब पनि हो ।

त्यही दर्पण र विम्बको कालिगढ हो साहित्यकार । दर्पण मैलो भयो भने त्यसमा न समाजलाई देख्न सकिन्छ न समाजले त्यसलाई देख्न सक्छ ।

साहित्यलाई धेरैले धेरै किसिमले बुझेका छन् तर मेरो बुुझाइको सबैभन्दा सजिलो मेसोमा सबैभन्दा पहिला साहित्य ज्ञान हो र मान्छेभित्रको जटिलतालाई उत्खनन् गर्ने विज्ञान पनि हो । अथवा साहित्य ज्ञान र विज्ञान दुबै हो ।

साहित्य समाजको दपर्ण मात्र पनि हैन, समाजको सम्वाहक हो । त्यसैले सामाज र साहित्यको सम्बन्ध आत्मा र शरीरको जस्तो छ । शिषेरोको “किताब बिनाको कोठा...” जस्तै साहित्य बिनाको समाज आत्मा बिनाको शरीर जस्तै हो ।

साहित्यले समाजलाई देखाएको मात्र हुदैन, डो¥याएको पनि हुन्छ । धेरै साहित्यिक रचनाले समाजमा ठूल्ठला परिवर्तन ल्याएका छन् । मानिसको अचेतन अवस्थाको रुखो मस्तिष्कमा साहित्यले चेतनाको उर्जा प्रवाहित गरेर मलिलो बनाएको हुन्छ । यस अर्थमा चेतना र ज्ञानको ज्योतिपुञ्ज पनि हो साहित्य । संक्षेपमा भन्नु पर्दा मानव समाजलाई ठूल्ठूला र प्रेरणदायक सन्देशहरु संप्रेशित गर्ने सवल माध्यम पनि हो साहित्य ।

समाजको यस्तो गीत हो साहित्य, जसमा स्वर र संगीत चेतनाले भरेको हुन्छ । यस सन्दर्भमा आदिकवि भानुभक्तको “घाँसी दरिद्र तर बुद्धि कस्तो,...” भन्ने कवितालाई लिन सकिन्छ । मान्छेलाई सदैव केही असल कार्य गर्न उत्प्रेरित गर्ने आदिकविको यो एक कालजयी रचना हो । जसको स्वर र संगीत समयको चेतनाले भरेको छ । चेतना नै स्वर र संगीत बनेर समयसँगै जनजनका मुखबाट गुञ्जिदै आएको छ । उनकै रामायणले हामीलाई एउटा भाषाको गोरेटो कोरिदियो । त्यही गोरोटो अहिले ठूलो बाटो बन्यो । यही बाटोमा सिर्जनाका पाइलाहरु आगाडि बढाउँदै देशले सर्जकहरु जन्मायो ।

समाजलाई सन्देश सम्प्रेषण गर्ने र समाजको प्रतिनिधित्व गर्ने साहित्य कहिल्यै पुरानो हुदैन । संसारमा आयु नभएको बस्तु एउटै मात्र छ त्यो हो– साहित्य ।

“गाउँछ गीत नेपाली ....सुन्दर, शान्त विशाल ।” मलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेको कविताले सधैं सम्झाइरहन्छ म जहाँ रहे पनि नेपाली हुँ र नेपाली नै भै रहने छु । यस्ले पनि त्यस्तै चेतनाले भरेको स्वर र संगीत पाएको छ । समयसँगै नेपालीका मुखबाट अविरल गुञ्जिरहेको छ यो स्वर । कुन नेपालीले राष्ट्रप्रेमको यो सरल भाव बुझ्दैन ? कुन नेपालीको मन मस्तिष्क यो गीतले छुदैन ?

साहित्य, समाजका लागि एक अमूल्य सिर्जना हो । लेख्नका लागि र प्रचारका लागि नै लेख्ने हो भने जे लेखे पनि हुन्छ । नग्नतालाई नै सुन्दरता ठान्नेहरुका लागि नग्नताको बजार सबैभन्दा ठूलो छ, साहित्यको नाम दिनु जरुरी छैन । तर साहित्य नै लेख्ने हो भने साहित्यले समाजलाई बुझ्नु पर्छ र समाजले पनि साहित्यलाई बुझ्नु पर्छ । नबुझेसम्म मनन गर्न सक्दैन । मनन गर्न नसक्नु भनेको ग्राह्य नहुनु पनि हो । समाजलाई ग्राह्य नहुने शब्दहरुको जन्तीको लस्कर कदापी साहित्य हुदैन ।

देवकोटाको मुनामदनले समाजको मनमुटु छामेको छ । हृदयको कोमलतालाई छोएको छ । समाजले पनि मुनामदनमा आफ्नै विम्ब–प्रतिविम्बहरु भेट्टाउँछ । र त जिब्राजिब्रामा सधैं झुण्डिएको छ– “सुनको थैला, हातको मैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले ।” यो पङ्तिले मात्र हैन, सिङ्गो मुनामदनले हाम्रो समाजको अन्तस्करण छोएको छ । समतामूलक समाजको निर्माणका लागि यो हरफले हाम्रो समाजलाई एक महान् सन्देश दिएको । यस अर्थमा साहित्य शब्द मात्र त हैन, सन्देश पनि हो ।

साहित्य लेखन एक तपस्ता हो तर यो मोक्ष, मुक्ति र प्राप्तिका लागि हैन समाजका लागि लेखिन्छ । समाजसँग “इन्टरएक्सन” गर्ने साहित्य त्यही समाजमा सधैं हाँसिरहेको हुन्छ । खेलिरहेको हुन्छ । नाँचिरहेको हुन्छ । बाँचिरहेको हुन्छ । समाज कहिल्यै मर्दैन, स्वरुप परिवर्तन हुन सक्छ र साहित्य परिवर्तित समाजमा पनि सधैं बाँचिरहेको हुन्छ । नेपाली साहित्यको विभिन्न कालखण्डलाई हेर्ने हो भने हाम्रा स्रष्टाहरु आफ्ना सिर्जना मार्फत अझै समाजसँग “इन्टरएक्सन” गरिरहेका छन् ।

लेखनाथको पिँजडाको सुगाले वालक बबुरोको गाथामा सम्पूर्ण राष्ट्रलाई पराधिनताको पीडा कस्तो हुन्छ भनेर सन्देश दिइरहेको छ ! प्रत्येक नेपालीलाई हमेसा होसियारी गराइरहेको छ । त्यतिबेलादेखि यतिबेलासम्म समाजसँग पिँजडा र सुगा दुबै बोलिरहेका छन् । जागरण कवि धरणीधरले अर्को सजगताको सन्देश दिएका छन्– जाग जाग...... उठ.. उन्नतीका खातिर उठ, जाग । रातो र चन्द्रसूर्य..... गीत कुन नेपालीको नसानसामा तातो रगत बनेर बगेको छैन ? माधव घिमिरेकै यो सिर्जना नेपालीको मुटुको धड्कन बनेर बसेको छ ।

विसं २००२ मा लेखिएको गोपालप्रसाद रिमालको आमाको सपनाले कुन छोराछोरीको दायित्ववोधलाई उत्वोध गरेको छैन ? यस्ता अन्य धेरै साहित्यिक सिर्जनाहरु छन् जसले जन्मदै समाजसँग सम्बाद गर्दै आएका छन् र समाजमा सधैं बाँचेका छन् ।

अन्ततः यो संसारमा बाँच्ने योग्यता हो । साहित्यमा पनि योग्यता हुन जरुरी छ । योग्यताविनाको साहित्य साधन हुन सक्छ तर साहित्य हुन सक्दैन ।

साहित्य निर्माण हैन, रचना हो । रचना भनेको सिर्जना हो । सिर्जना, सिर्जनामात्र हैन, सन्देश पनि हो । सन्देश नै समाजको सम्वाहक पनि हो । साहित्य समाजको जननी पनि हो । साहित्यले समाजाई प्रतिविम्बित मात्र गरेको हुदैन प्रतिनिधित्व पनि गरेको हुन्छ– एउटी आमाले एउटा घरको प्रतिनिधित्व गरे जस्तै । आमाले भरखरै खुट्टा टेक्न थालेको बच्चालाई हिड्न सिकाए जस्तै साहित्यले समाजलाई हिड्न सिकाउँछ । सभ्यता र संस्कारको सुमार्गमा अघि बढ्न प्रेरित गर्छ ।

एउटा शासकको घर र साहित्यकारको घरमा ठूलो अन्तर हुन्छ । शासकको घरमा शस्त्र हुन्छ साहित्यकारको घरमा शास्त्र हुन्छ । शासकको घरमा सम्पन्नता हुन्छ साहित्यकारको घरमा संस्कार हुन्छ । शासकको घरमा साधन हुन्छ साहित्यकारको घरमा साधना हुन्छ ।

समाजमा संचेतानाको सिंचन र परिवर्तनमा साहित्यले ठूलो भूमिका खेलेको हुन्छ । सुब्बा कृष्णलाल अधिकारीको मकैको खेतीले मेटामोर्फिक चट्टान जस्तो बलियो भएर नेपालको शासनसत्तामा गाडिएको राणा शासनलाई तिनताक बेस्सेरी हल्लायो । कति शक्ति छ सिर्जनामा ? राजनीतिको “र” पनि थाह नभएका जनतामा चेतना र चासो जगायो ।

नेपालको इतिहासमा मकैपर्वका रुपमा चिनिएको यो काण्ड आजभन्दा झण्डै सय वर्ष अघि विसं १९७७ मा घटेको थियो । मकैको खेती नामक पुस्तक लेखेर छपाए वापत लेखकालाई नौ वर्ष जेल सजाय तोकियो । एक हजारप्रति छापिएको उक्त पुस्तकको ९९९ प्रति तत्काल जलाएर भष्म गरियो । बाँकी एक प्रतिका लागि नौ मध्ये पाँच वर्ष जेल सजाय तोकेका थिए सबैभन्दा शक्तिशाली राणा शासक चन्द्र शम्शेरले । लेखक कृष्णलालको मृत्यु जेलमै भयो । उनलाई नेपाली साहित्यको पहिलो शहीद भनेर चिन्ने गरिन्छ ।

समय र समयको परिवर्तन साथै साहित्यले पनि परिवर्तनलाई आत्मसात गर्दै आएको छ । पछिल्ला दिनमा आएर कवि भूपि शेरचनको घुम्नेमेच माथि अन्धो मान्छे हाम्रो समाजको एक शास्वत सत्य–चित्र बनेर आयो । सबैका जीब्राजीब्रामा झुण्डियो ।

हो, साहित्यले समाजमा ठूल्ठूला परिवर्तनहरु ल्याएको छ । धपधपी बलेका चेतनाका पुञ्जले पुठूल्ठूला तानाशाहको शासनसत्तालाई खरानी बनाएको छ ।

रसियन लेखक फाइडोर डिस्टोयेभस्कीको “क्राइम एण्ड पनिस्मेण्ट” अहिले पनि पाठकाको रुचिको स्थानमा रहेको छ । सन् १८६६ देखि अहिलेसम्म चर्चाको विषय बनेको त्यो पुस्तक समाजका लागि एक दिग्दशर्न भएको छ । सोही ताका सन् १८६९मा पहिलो पल्ट प्रकाशित रसियन लेखक लियो टोल्सटोयको “युद्ध र शान्ति”ले अहिले पनि सम्पूर्ण भूगोलसँग सम्बाद गरिरहेको छ ।

समाज, समाज मात्र हैन, शासक पनि हो । परिवर्तनलाई आत्मसात गर्न नसक्नु पनि एक शासक हुनु हो । शासकहरु परिवर्तन चाहदैनन् । समाजमा रहेका कुरिति, कुसंस्कार, व्यभिचार, भेदभाव आदि समाज बनेर समाजमाथि नै शासन गरिरहेको हुन्छ । सन् १९९४ मा प्रकाशित वाङ्लादेशी लेखिका डा. तसलिमा नसरीनको “शेम”(शरम) शासक समाजले पचाउन सकेन । उनी निर्वासित हुनु प¥यो तर समाज सुधारमा “शेम”ले उर्जा निरन्तर दिइरहेको छ । यही प्रवृतिका भारतीय लेखक सलमान रुस्दीले पनि समाजका लागि शासक समाजको विरुद्ध द सटानिक भर्सेस लेखे ।

समाजले स्वीकारे पनि शासक समाजले समाजविरोधी रचना भनेर टर्कीका पामुक ओरनको रचनाहरुलाईलाई पनि पचाउन सकेको छैन । स्वतन्त्रता पछिको भारतमा व्याप्त दुराचार, भ्रष्ट्राचार, कुरुती, कुसंस्कारको पतनको कारण बन्यो लेखिका रेणुको “राग दराबारी” । कवीर, तुलसीदास, प्रेभचन्द भारतीय समाजमा समाजिक चेतना र संस्कारको आलोक बने । चेतनाका नायक, लोक नायक, सुधारकका उपाधीहरु पाए ।

सन् १८५० मा अमेरिकी काँग्रेसले “स्लेभ एक्ट” पारित गरेपछि शिक्षिका तथा पत्रकार हेरिट विचरले दासताका विरुद्ध किताब लेख्ने साहस गरिन् । “अंकल टम्स केभिन” सन् १८६१ को गृहयुद्धको सहायक बन्यो । गृहयुद्ध पछि नै आधुनिक अमेरिकाको निर्माण सुरु भयो ।

सन् १९९१ को नोवेल पुरस्कार विजेता अफ्रिकी श्वेत लेखिका नादिम गोर्डिमरका रचनाहरुले श्वेत शासकहरुको निद्रा विथोल्न थाल्यो । फलतः अफ्रिकी रङ्भेद आन्दलनको उर्जा बने उनका साहित्यिक रचनाहरु । “ट्वाइस ब्लेस्ट, सुगर एण्ड साल्छ, स्टेट अफ वार” जस्ता किताबकी फिलिपिनो लेखिका निनोच्का रोस्काले पनि मार्कोस सत्ताको मूल जरो हल्लाई दिइन् । अमेरिकाकै अप्टन वेल सिन्क्लेयरका “द जंगल” १९०६ जस्ता किताबले अमेरिकी कानून परिवर्तन गर्न वाध्य बनायो । फ्रान्सलाई रुसो र भोल्टेयरका साहित्यले नयाँ जीवन दियो । साहित्यले समाजलाई दिएका यस्ता धेरै उदाहरणहरु छन् ।

साहित्यभित्रको संवेदना र त्यसको असर मावन मनमस्तिष्कमा कतिसम्म पर्छ भन्ने कुरा “ग्लुमी सण्डे” भन्ने गीतले प्रमाणित गरेको छ । हंगेरियन कवि लाज्लो जेभोरले लेखको कवितालाई “ग्लुमी सण्डे” भनेर रेज्सो सेरिसले सन् १९३३ मा संगीतवद्ध गरेपछि धेरेको मृत्युको कारण बन्यो त्यो गीत । गीत सुनेर धेरैले आत्महत्या गरे । यतिसम्म कि संगीतकार स्यमंले पनि आत्महत्या गरे । यसलाई “सुसाइडल सङ्” पनि भनिन्छ ।

सहित्य सिर्जनामात्र हैन, भावनाको आँचलभित्र लुकेको संवेदनाको गुठरी पनि हो । लेख्ने हैन, सिर्जना नै गर्छु भन्ने सर्जक जिम्मेबार हुन पनि त्यतिकै खाँचो छ । यो जिम्मेवारीका लागि सबैभन्दा पहिला सर्जकका व्यक्तिगत आचरण पनि आफ्ना सिर्जना जस्तै सुन्दर हुन जरुरी छ ।

समाजमा सिर्जनाको मधुरमहक फैलाउँदै जनजनका मनमस्तिष्का कणकणमा वास गर्ने साधक कस्तो हुनु पर्छ ? बेलाबेला जुरुक् जुरुक् उठेर हाम्रो नेपाली साहित्यसँग उत्तर खोजिरहेको छ यो प्रश्नले ।

साहित्य साधनासँगै निष्ठा, नैतिकता र इमानमा पनि साधना चाहिन्छ । सुन्दर सिर्जना गर्ने कति सर्जकहरु व्यक्तिगत तुच्छ व्यवहार र स्वार्थ कारण “उर्गेनको घोडा”मा जस्तो मान्छे “पशु” भएका छन् । अहिले साहित्यमा रत्नपार्कका “खुलुजीका दवा” बेपारी प्रवृत्ति निक्कै बढ्न थालेको छ । त्यो प्रवृत्तिको पङ्तिमा उभिएर आफूलाई कवि वा साहित्यकार भन्न हिच्किचाउने पनि बढ्दै छन् ।

अन्तमा,

सधै युद्ध रुचाउने अमेरिकी माटोमा जन्मेकी युद्ध विरोधी कवि मुरियल रुकिशरले भनेकी छिन्– “संसार कणहरुले हैन, कथाहरुले बनेको छ ।

बोस्टन, अमेरिका ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।