१. आमुख-
नेपाली साहित्यमा असम तेजपुरका ज्ञानबहादुर छेत्री कुनै नौलो र अपरिचित नाम होइन। उनी समय समयमा पुस्तक र पत्र-पत्रिकातिर विभिन्न साहित्यिक सामग्री लिएर देखा पर्दछन्। उनी असमतिरबाट नेपाली साहित्यका एक प्रतिनिधि र प्रतिष्ठित साहित्यकारका रूपमा उनी परिचित छन्। उनको जन्म १. तारिख नोभेम्बर १९५७ मा असमको शोणितपुर जिल्लाअन्तर्गत सोठियाको कोरेनी गाँउमा भएको हो। उनी माता स्व. कौशल्या देवी र पिता स्व. लालबहादुर छेत्रीका सुपुत्र हुन्। असम-पूर्वाञ्चलतिरबाट सिर्जनात्मक साहित्यका दाँजोमा नेपाली समालोचना त्यति फस्टिएको देखिन्न। समालोचक व्यक्तित्वहरू थोरै नै देखिन्छन्। त्यतातिरबाट नेपाली समालोचनामा कलम चलाउने केही मुख्य समालोचकहरूमा स्व. डा. चन्द्रेश्वर दुबे, लीलबहादुर छेत्री, छविलाल उपाध्याय,तारापति उपाध्याय, विद्यापति दाहाल, डा शान्ति थापा, डा लक्ष्मीप्रसाद पराजुली, दुर्गा प्रसाद घिमिरे, डा भीमकान्त उपाध्याय, लोकनाथ चापागाईं, ज्ञानबहादुर छेत्री, डा खेमराज नेपाल, टेकनारायण उपाध्याय, मोहन सुवेदी, खेमानन्द मिश्र, गोपीनारायण प्रधान, घनश्याम तिम्सिना, दैवकी तिम्सिना, डा इन्दुप्रभा देवी, डा जमदग्नि उपाध्याय आदि प्रमुख हुन्। फाट्टपुट्ट रूपमा समीक्षा-समालोचनामा कलम चलाउने केही व्यक्तिहरूमा रणबहादुर सापकोटा छेत्री, लक्ष्मण अधिकारी, डा जयन्तकृष्ण शर्मा, भवानी अधिकारी (मणिपुर) इत्यादि हुन्।
२. ज्ञानबहादुर छेत्रीको कृतित्व- पुस्तक प्रकाशनका हकमा ज्ञानबहादुर छेत्रीका हालसम्म आठवटा पुस्ताकाकार कृति हामीले पाइसकेका छौँ। तीमध्ये पाँचवटा समीक्षा-समालोचनात्मक कृतिहरू १. अवलोकन, २०००), २. नेपाली साहित्यत एभुमूकि (असमीया भाषामा, २०१०) र ३. सर्जक र सिर्जना (२०१०), ४. साहित्य अकादमी पुरस्कार विजेता नेपाली साहित्यकार (डा खेमराज नेपालसँग सहलेखन, २००२), र ५. भारतीय साहित्यका निर्माता कवि पुष्पलाल उपाध्याय (२००६), प्रभुरामको पाहुना (मौलिक कथासङ्ग्रह, २०१२ । यसैगरी उनका अनूदित कृतिहरूमा मन परेका कथा २००३), मैलो चादर (अनूदित उपन्यास, २०१०) हुन्। उनले सम्पादन गरेका पत्र- फत्रिका तथा पुस्तकहरूमा मुखपत्र शोणितपुर नेपाली साहित्य परिषद्, पुष्पलाल उपाध्याय स्मृतिग्रन्थ (संयक्त रूपमा), चित्रलेखा, हाम्रा गौरव, स्मृतिग्रन्थ (टेलिकम विभागगाय), नैवेद्य, History and Culture of the Assamese Nepali (Associate Editor)। उनी भारतका विभिन्न साहित्यिक संघ-संस्थामा सक्रिय रूपमा संलग्न छन्। उनी सागठनिक सचिव, नेपाली साहित्य परिषद्, असम नेपाली नाट्य सम्मेलनका अध्यक्ष, असम गोर्खा सम्मेलनका सल्लाहकार, भारतीय गोर्खा परिसंघका सल्लाहकार, साहित्य एकाडेमीका एक समयका सल्लाहकार तथा भारतीय भाषा संस्थान, मैसुरका नेपाली एकाइका सदस्य आदि रहेका छन्।
माथिका पुस्तक सूची नियाल्दा उनी मूलतः एक प्रखर समालोचक हुन्। यसबाहेक उनी एक कथाकार, सम्पादक एवं एक साहित्यिक संस्थाका कुशल संगठकका रूपमा पनि देखिन्छन्। जे नै हुन्, उनी एक सफल साहित्यकार, एक गम्भीर अध्येता, एक ऩेपाली भाषा-साहित्यप्रेमी हुन्। नेपाली साहित्य र साहित्यकारका बारेमा असमीय पाठकलाई जानकारी दिन असमीया भाषामा नै नेपाली साहित्यत एभुमूकि नामक एक समालोचनात्मक पुस्तक प्रकाशित गरेका छन्। हाम्रो साहित्य धेरै विकसित छ तर यसरी विकसित भएको जानकारी र परिचय अरू भाषाका मानिसहरूलाई पनि दिनु पर्दछ। यही नै हाम्रो मूल कमजोरी देखिएको छ। हाम्रो साहित्य र साहित्यिक व्यक्तित्वबारे नेपालीबाहेक अन्य भाषामा पनि लेखिनु र अनुवाद हुनुपर्दछ। नत्र भने हामी कुइरोको काग मात्र हुन्छौं। यस सन्दर्भमा हाम्रा ज्ञानबहादुर छेत्रीलाई साधुवाद छ। उनले कमसेकम असमीया भाषामा नेपाली लोकसाहित्यलगायत नेपाली साहित्यको सामान्य साहित्येतिहासको रूपरेखा तथा भानुभक्त आचार्य, पुष्पलाल उपाध्याय, दुर्वासा उपाध्याय, हरिभक्त कटुवाल, हरिप्रसाद गोर्खा राई, विष्णुलाल उपाध्याय, इन्द्रबहादुर राई र उनका आयामेली आन्दोलन तथा लीलालेखन, गीता उपाध्याय, लीलबहादुर छेत्री, कऋष्ण धरावासीको शरणार्थी उपन्यास, कृष्णसिंह मोक्तान र के बी नेपाली जस्ता साहित्य स्रष्टाहरूका साहित्यिक परिचय, उनीहरूका कृतित्वको समीक्षा गरेका छन्।
श्री छेत्रीका पाँचवटा समालोचनात्मक कृतिहरूकै आधार गरेर हेर्दा उनको साहित्यक योगदानको मूल्याङ्कन उति भएको देखिन्न। असममा एक त समालोचकहरूको कमा, अर्को त्यताका नेपाली पुस्तक र पत्रिका यता दार्जीलिङ-सिक्किमतिर आइपुग्दैनन्। असमतिरका धेरै राम्रा राम्रा कवि लेखकहकू ओझेल परेका छन्। यस पक्षमा श्री छेत्रीले असमलगायत अन्य पूर्वाञ्चलका विभिन्न कवि-लेखकहरूलाई चिनाउनका साथै मूल्याङ्कन गरेर उनीहरूलाई न्याय दिएका छन्।
३. सर्जक र सिर्जना समीक्षात्मक संकलनको समीक्षा- सन् २०१० मा अनुराग प्रकाशन, गौहाटीको प्रकाशकत्वमा प्रकाशित सर्जक र सिर्जना असमेली नेपाली साहित्येतिहास अध्ययन र अनुसन्धानमा एक महत्वपूर्ण कृति हो। यसमा डा भीमकान्त उपाध्यायको विद्वत् भूमिकाले यो कृतिसमेत मूल्याङ्कित भएको छ। यसमा बेसीजस्तो असम तथा शिलाङ र मणिपुरका एकेकजना गरी सोह्र-सत्रजना चर्चित-अचर्चित कवि-लेखकहरूको साहित्यिक योगदानको मूल्याङ्कनात्मक अध्ययन गरेका छन्।
यसमा लीलबहादुर छेत्री, पद्म ढकाल, तारापति उपाध्याय, विद्यापति दाहाल, गोपीनारायण प्रधान, टीकाराम निर्भीक, छविलाल उपाध्याय, गीता उपाध्याय, के बी नेपाली, शेरमान थापा, लक्ष्मीप्रसाद पराजुली, युद्धवीर राणा, नव सापकोटा, आलोक गौतम, दलबहादुर छेत्री, मित्रदेव शर्मा र बलराम उपाध्यायका साहित्यिक लेखनको योगदान, प्रवृति र कृतित्वमाथि चर्चा गरेका छन्। उल्लेख्य छ, यसमा चर्चित साहित्यकारहरू जम्मै उमेरले साठी वर्ष नाघेका पाका हुन्। उनीहरूले दीर्घ दिनदेखि नेपाली भाषा-साहित्यको सेवा गरेका छन्। र उनीहरू एकेकजनाको नेपाली साहित्यिक योगदान अमूल्य छ। लीलबहादुर छेत्री र गोपीनारायण प्रधानबाहेक अरू त्यति चर्चित र पुरस्कृत भएका छैनन्।
सङ्ग्रहको पहिलो लेख एक झलकमा लीलबहादुर छेत्रीको कृतित्व मा पूर्वाञ्चलका एक अग्रणी, आदरनीय लेखक लीलबहादुर छेत्रीको कृतित्वको समीक्षा गरेका छन्। यसमा उनको सामान्य जीवनवृत्त र उनका चारैवटा उपन्यासकारिता, कथाकारिता, नाट्यकारिता, निबन्धकारिताबारे उनका तेह्रवटा पुस्तकहरूका आधारमा संक्षिप्त रूपमा समीक्षा गरेका छन्। यसमा उपन्यासका सबल पक्षका साथै दुर्वल पक्षबारे पनि केलाएका छन्। बसाईं उपन्यासमा पात्रगत संघर्षको कमी र ब्रह्मपुत्रका छेउछाउमा मालती र गुमानेको मिलन भएको देखाएको भए असममा आन्तर्जातिक सम्प्रीति र मिश्रणको परिदृश्य झल्कने थियो भन्ने विचार छेत्रीको छ। यसै गरी उनको पछिल्लो उपन्यास ‘प्रतिध्वनि विस्मृतिका’ आफैमा एक उत्कृष्ट छ। यसमा आफ्ना बाबुको, पहाडको एकजना सामान्य केटो कसरी जीवनको छालमा हेलिँदै घरी शिलाङ र घरी गुवाहाटी हुँदै एउटा पुलिस अधिकारी भई भारतका राष्ट्रपतिबाट पुरस्कृतसम्म भएको रोचक जीवन-सङ्घर्षको गाथा छ। समालोचक छेत्रीका अनुसार यसमा कतै कतै ऐतिहासिक घटनाहरूको अत्याधिक वर्णनले निबन्धजस्तो भएको छ। यसका साथै सिक्किमको निर्माण प्रकाशन र नेपाली साहित्य परिषद् जस्ता गरिमामय साहित्यिक संस्थाले उनका समग्र कृतिहरू समेटेर ‘लीलबहादुर छेत्री रचनावली’ प्रकाशित गरिदिने आशा व्यक्त गरेका छन्।
दोस्रो लेख भारतीय नेपाली साहित्यमा पद्म ढकालको अवदानमा पद्म ढकालको साहित्यिक कृतित्व र व्यक्तित्वको चर्चा गरी मूल्याङ्कनात्मक निष्कर्ष दिएका छन्। यसमा ढकाललाई एक कुशल पत्रकार, एक योग्य संगठक, एक निस्वार्थी भाषासेवी, एक कर्तव्यनिष्ठ व्यक्तित्व, मौन साहित्य सेवी, एक सशक्त व्यङ्ग्य लेखक, एक सचेत जातिप्रेमी इत्यादि व्यक्तित्वका रूपमा मूल्याङ्कन गरेका छन्। प्रायः छ दशक जति नेपाली साहित्यको योगदान दिने ढकालको समुचित कदर भएको छैन भन्ने छेत्रीको आशय छ।
तारापति उपाध्यायको कृतित्व : एक पाठकीय टिप्पणी भन्ने लेखमा उपाध्यायका दसवटा साहित्यिक कृतिहरूका संक्षिप्त रूपमा चर्चा गरिएको छ। यसमा उनका लेखनगत सबल पक्षसँगै दुर्बल पक्षबारेमा पनि चर्चा उठान गरेका छन्। उपाध्यायलाई एक भाषाविद्, निबन्धकार, एक कुशल अनुवादक र एक साहित्य साधकका रूपमा परिचय गराइदिएका छन्। कवि गोपीनारायण प्रधानका कविता : एक अवलोकन लेखमा शिलाङका गोपीनारायण प्रधानको कविताकारिता, कवितात्मक प्रवृत्ति, विषयवस्तुबारे सम्यक् चर्चा गरेका छन्। उनका अनुसार प्रधानका कवितामा प्रकृति चित्रण, जन्मस्थान र अतीत प्रेम, युगले जन्माएको आतङ्क र आतङ्कवादीहरूको निन्दा, मानवता र मानव अधिकारको खोजी, युगीन सामाजिक विकृति र विसंगतिप्रति असन्तुष्टी, जातिप्रेम, सरल र सुबोध्य भावाभिव्यक्ति आदि प्रवृत्ति र मुख्य विषयवस्तु पाइन्छन्। यो व्याख्यात्मक र निर्णयात्मक समालोचनाको कोटीमा पर्दछ।
टीकाराम उपाध्याय निर्भीकको कृतित्व-परिचयमा असमका हिन्दी र नेपाली साहित्यकार टीकाराम निर्भीकको जीवनवृत्यात्मक र मूल्याङ्कनात्मक टिप्पणी गरेका छन्। निर्भीकका नेपाली हिन्दी र असमिया भाषामा लगभग दुई सय जति निबन्ध, मौतिक, अनूदित र सम्पादित गरी उनका सोह्रवटा पुस्तक लेखेका छन् भन्ने जानकारी पाउँदा यता दार्जीलिङ-सिक्किमका साहित्यमा चासो राख्नेहरूलाई आश्चर्य लाग्छ। छेत्रीले उनको संक्षिप्त रूपमा जीवन यात्रा र संघर्षको चर्चा गर्दै उनको कृतित्वको रेखाङ्कन र मूल्याङ्कन गरेका छन्। नेपाली, असमीया र हिन्दी साहित्यमा हाम्रा साहित्यकार निर्भीकले दिएको योगदानको चर्चा गरिएको छ। यसका साथै उनले अन्डमान-निकोबारको जार्वा जनजातिको विषयमा अनुसन्धानात्मक ग्रन्थ तयार पारी भारत सरकारलाई सुम्पिएको थाहा पाउँदा सुखद् आश्चर्य लाग्यो। उनका केही साहित्यिक पक्षबारे एउटा अन्तर्वार्ता पनु समावेश गरिएको छ जसबारे हामी आधिकारिक जानकारी प्राप्त गर्नसक्छौं। निर्भीकबारे यसरी मूल्याङ्कन गर्ने समालोचकलाई साधुवाद छ।
छविलाल उपाध्याय र उनको कृतित्वको संक्षिप्त परिचय एउटा सुन्दर व्याख्यात्मक समालोचनाको नमूना हो। यसमा असमका एक वरिष्ठ कवि उपाध्यायलाई एक सफल र उत्तम कवि, एक सफल अनुवादक र एक प्रवीण समालोचकका रूपमा चर्चा गरेका छन्। उपाध्यायका पवनदूत, कामरूपा, छवि कविता सङ्ग्रह, कवि र कविता, देवकोटा महाकाव्य, अस्तित्वबोध गरी एकजना काव्यकार व्यक्तित्वमाथि समीक्षात्मक र मूल्याङ्कन गरिएको छ। उनको सबैभन्दा पछिल्लो कवितासङ्ग्रह कल्पना माधुरी छेत्रीको यो पुस्तकभन्दा पछि आएकाले यसमा उल्लेख छैन। उनका काव्य र फूटकर कविताहरूमा असमको ऐतिहासिक सन्दरभ, त्यहाँका नेपाली जनजीवनको राजनैतिक, सामाजिक स्थितिमाथि दृष्टिपात, जातीय अस्तित्व चेतना, भाषा साहित्य- संस्कृति प्रेम, सामाजिक विकृतिप्रति व्यङ्ग्य प्रहार, मानव कल्याण चेतना र शास्त्रीय छन्दोबद्धता जस्ता प्रवृत्तिलाई केलाइएको छ। यसैगरी समालोचक रूपमा उपाध्यायका महाकवि देवकोटासम्बन्धी तीनवटा समालोचनात्मक पुस्तक तयार पारेका छन्। ब्रह्मपुत्रका छेउछाउ उपन्यासको कृतिपरक अध्ययन गरिएको चर्चा गरेका छन्। यसैगरी उपाध्यायलाई एक कुशल अनुवादकका रूपमा मूल्याङ्कन गरी समीक्षा गरेका छन्। उनका अनूदित कृतिहरूमा असमीय भाषाको भन्दा हिन्दी स्रोत भाषाको अनुवाद अझै सफल बनेका छन्। अनूदित उपन्यास मिरीकन्याको मुद्रणगत कमजोरीबारे पनि औंल्याएका छन्।
विद्यापति दाहालको साहित्यिक कृतित्व : एक अवलोकन भन्ने लेखमा मान्छेको छात्र जीवन जीवनभर समाप्त हुँदैन भन्ने कुराको सार र उदाहरण दाहालको जीवनीबाट पाइन्छ। अहिलेसम्म जम्मा एघारवटा पुस्तक लेख्ने विद्यापति दाहालको समालोचक छेत्रीले सठिक मूल्याङ्कन गरेका छन्। दाहालले एउटा महाकाव्य, दुइवटा नेपाली खण्डकाव्य, दुइवटा संस्कृत खण्डकाव्य, तीनवटा संस्कृत लक्षण ग्रन्थ, दुइवटा साहित्य सिद्धान्त लेखेका छन्। यसमा छेत्रीले काम्य खण्डकाव्य र उषाहरण महाकाव्यको समीक्षा र अरू कृतिबारे संक्षिप्त चर्चा गरिएको छ।
सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा नामक लेखमा असमकी वरिष्ठ र आदरनीय विदुषी साहित्यकार गीता उपाध्यायको कृतित्व र व्यक्तित्वबारे आलोचनात्मक मूल्याङ्कन गरिएको छ। उनका असमीया र नेपाली मौलिक तथा अनूदित कृतिहरूका उल्लेख गर्दै उनको शैक्षिक, सामाजिक, सम्पादक. साहित्यिक, संगठक व्यक्तित्वका रूपमा पारिचायिक टिपोट दिएका छन्। उनले महाकवि देवकोटा अमर कृति मुनामदन तथा आदिकवि भानुभक्त आचार्यको रामायणको असमीया भाषामा अनुवाद गरेकी छन्। यसका साथै उनले नेपाली र असमीया भाषामा समानन्तर रूपमा कलम चलाएर हाम्रो भाषालाई नै आलोकित गरेकी छन्। एन फ्रेन्कको डायरी फ्रेञ्च भाषाको अमर कृति हो जो उनले अँग्रेजीबाट नेपाली र असमीया भाषामा अमुवाद गरेकी छन्। यसमा उपाध्यायसित एउटा अन्तर्वार्ता लिइएको छ।
के बी नेपाली तथा नेपाली साहित्यमा उनको अवदान : छोटकरी लेखमा नेपाली साहित्यका अर्का साधक के.बी. नेपालीको पनि साहित्यिक योगदानको परिचय दिइएको पाइन्छ। एघारवटा पुस्तकका साथै १९६० देखि बिन्दु पत्रिका अनवरत रूपमा प्रकाशन-सम्पादन गर्ने नेपालीलाई एक समर्पित सम्पादक र लेखकका रूपमा चिनाइएको छ। यसमा उनलाई एकजना सफल कथाकार, उपन्यासकार, कवि, नाटककार, गीतकार र सम्पादकका रूपमा मूल्याङ्कन गरिएको पाइन्छ। यसमा उनका मेरो घर मेरो संसार, समर्पण, तस्वीर एक रातको उपन्यास तथा प्लेटफर्म खण्डकाव्य, अनुराग गीतसङ्ग्रह आदिका बारेमा समीक्षा संक्षिप्त रूपमा गरेका छन्। उनको मेरो घर मेरो संसार उपन्यास लीलबहादुर छेत्रीको बसाईं उपन्याससँग केही मिल्दो-जुल्दो भएको उल्लेख गरेका छन्। तस्वीर एक रातको उपन्यास प्रगतिवादी प्रवृत्ति फेला पर्छ भन्ने निषकर्ष दिइएको छ। यद्यपि उनका अघिल्ला दुई उपन्यासका तुलनामा यस उपन्यासको कथावस्तुगत बुनोट र बनोट खज्मजिएको, अनावश्यक विषय विस्तार, परिवेश विधानमा आंशिक कमजोरी पाइन्छ भने वर्गद्वन्द्व पक्षमा यो निकै सफल उपन्यास बनेको छ भनेर आलोचनात्मक टिप्पणी गरेका छन्।
शेरमान थापाको व्यक्तित्व र कृतित्वबारे छोटो चर्चा भन्ने लेखमा असमका एक श्रद्धेय लेखक शेरमान थापाको व्यक्तित्व केलाउँदै उनका पत्थर बोल्छ उपन्यास, इन्द्रेणी र लहर गरी दुईवटा कथासङ्ग्रह र पाँच पाते एकाङ्कीसङ्ग्रहको संक्षिप्त रूपमा भए पनि समीक्षा गरिएको छ। विशेष गरी थापाको एकाङ्की नाट्यकारिताबारे केही प्रकाश पारेका छन्। केही एकाङ्कीको सारवस्तुलाई प्रस्तुत गरी तिनको नाट्य प्रवृति पनि उल्लेख छ।समग्रमा थापाका साहित्यक रचनाहरूमा समाजका विसंगति, विकृति, रूढिवादी परम्परा, अन्धविश्वास र आर्थिक शोषणजन्य परिस्थितिमा जकडिएका मानव जीवनको मार्मिक अभिव्यक्तिहरूलाई कलात्मक शैलीमा अभिव्यक्त गरिएको छ र त्यस्ता विकृतिहरू पन्साएर स्वस्थ समाजको निर्माणमा कलम चलाएका छन् भन्ने समालोचक छेत्रीको अभिमत छ।
संग्रहको अर्को लेखमा असमका युद्धवीर राणालाई पूर्वाञ्चलीय नेपालीहरूका लियोनाडो-दा- भिन्सीको उपाधि दिइएको देखिन्छ। यसमा राणालाई एक नाट्य अभिनेता, काष्ठ कलाकार, कवि, मूर्तिकार, संस्कृतिविद्, अनुवादक, कथाकारका रूपमा चिनाई उनको सठिक मूल्याङ्कन गरेका छन्। उनको चिहान नपाएका तक्माहरू लामो कविताले भारतमा नेपाली जातिको अवस्थितिमाथि सशक्त रूपमा भावाभिव्याक्ति दिएको छ र यो उनको उत्कृष्ट कृति हो भन्ने आशय छ।
लक्ष्मीप्रसाद पराजुलीको लेखकीय व्यक्तित्व :एक अवलोकन लेख पनि लेखकीय कृतित्वमाथि समीक्षात्मक मूल्याङ्कन गरिएको छ। पराजुलीले नेपाल र भारतका अन्य प्रान्तमा असमेली नेपाली कथा साहित्यबारे प्रशस्त आलोकित पारेका छन्। उनी साहित्यका एक गम्भीर अध्येता र समर्पित व्यक्तित्वका रूपमा प्रस्तुत गरिएको छ। पराजुलीले पूर्वाञ्चलीय नेपाली कथा लेखनलाई जम्मा तीन चरणमा वर्गीकरण गरी केही प्रमुख कथाकारको कथागत प्रवृत्तिको चर्चा गरेका छन्। पराजुलीलाई मूल रूपमा अन्वेषणात्मक समालोचकका रूपमा छेत्रीले उभ्याएका छन्। यसका साथै उनी प्रकृति चित्रण, युगीन चेतना आदि प्रवृत्ति भएका एक सफल कवि हुन् भन्ने छेत्रीको समालोचकीय दृष्टिकोण छ।
अस्मिताका कवि नव सापकोटा नामक समीक्षात्मक लेखमा असमका मूर्धन्य कवि नव सापकोटाको कवि व्यक्तित्व र कविता प्रवृत्तिमाथि प्रकाश पारेका छन्। सापकोटाका युक्लिप्टस् : आउने पिंढीलाई आशीर्वाद, काव्यान्तर (२००३), मदिरा होइन मेरो पसिना (२००८) गरी तीनवटा कवितासङ्ग्रह संक्षिप्त रूपमा भए पनि काव्यगत प्रवृत्ति, काव्यिक चेतना र स्वरबारे छेत्रीले समीक्षात्मक टिप्पणी गरेका छन्। उनका कवितामा कवितामा जातीय अस्मिता चेतनाको प्रखर कवि हुन्। उनले असमेलीलगायत भारतीय नेपालीहरूको स्थितिलाई विभिन्न प्रतीक र बिम्बका माध्यमबाट अभिव्यक्ति दिएका कुरा छेत्रीले पुष्टी गरेका छन्।
छेत्रीको समालोचक चेतना, कर्तव्य र धर्मले घचघच्याउने क्रममा यस सङ्ग्रहको एउटा लेख छ जागीरबाट सेवानिवृत्त भएपछि साहित्य क्षेत्रमा देखा परेका त्रिमूर्ति। यस लेखमा दलबहादुर छेत्री, मित्रदेव शर्मा र बलराम उपाध्यायको साहित्यिक योगदानको चर्चा गरेका छन्। भारतीय प्रशासन सेवामा प्रशासक रहेर अवकाश लिएपछि दलबहादुर छेत्रीले नेपाली भाषा र साहित्यको माया र कर्तव्य चेतनाले बसाईं उपन्यासको असमीया अनुवाद गरेका छन्। त्यसरी नै मित्रदेव शर्माले पनि पछिबाट नियात्रा, संस्मरण र अनुवाद क्षेत्रमा कलम चलाएका छन्। अभियन्ता रहिसकेका बलराम उपाध्यायले पनि आफ्नो कविप्रतिभा निखारी दुईवटा कवितासङ्ग्रह प्रकाशित गरेको तथा एउटा काव्य-गोष्ठीमा तीन घण्टामा दुई सय जति मिठा मिठा कविता सुनाएको तथ्य प्रकाश पारेका छन्। यसै क्रममा तेजपुरका श्री जनार्दन उपाध्यायको नाम पनि जोड्नु पर्ने देखिन्छ। उनले पनि पुलिस अधिकारीको सेवाबाट अवकाश लिएपछि आफ्नो पुलिस नोकरीमा हुँदा विभिन्न ठाउँमा भएका हत्याकाण्डको तहकीकात मुचुल्का गर्दा हत्यारा पत्तो लगाउन र पक्रा पार्दाका रोचक संस्मरण संगालो पुलिसको डायरी (२०११) प्रकाशित गरेका छन्। टिभीतिर सि आइ.डि टेलिशृङ्खला हेर्ने बानी परेका व्यक्तिहरूलगायत सबैलाई उक्त पुस्तक पनि निकै रोचक र सुपाठ्य लाग्दछ।
प्रस्तुत समालोचना सङ्ग्रहको अन्तिम लेख मणिपुरेली नेपाली साहित्यमा आलोक गौतमको कृतित्व : एक चर्चामा मणिपुरका कवि आलोक गौतमको कवितात्मक उपलब्धि र प्रवृत्तिमाथि चर्चा गरेका छन्। यस लेखको अघिल्लो भागमा मणिपुरमा नेपाली साहित्यिक कृति प्रकाशनको सर्वेक्षण गरी एउटा सूची तयार पारेका छन्। यसमा डा चन्द्रेश्वर दुबे एक्लैका बाह्रवटा कृतिबाहेक अन्यका पन्ध्रवटा पुस्तकहरूको सूची दिइएको छ। साहित्येतिहासमा रूचि राख्ने सरोकारवालाका निम्ति अति उपयोगी बन्न पुगेको छ। यसका साथै आलोक गौतमका कवितामा कलापक्षमा केही कमजोरी रहे पनि भावपक्ष भने प्रबल छ। समसामयिक चेतना नै गौतमको कवितात्मक अभिप्राप्ति हो भन्ने छेत्रीको भनाई छ।
४.ज्ञानबहादुर छेत्रीको समालोचनात्मक प्रवृत्ति, प्राप्ति र सीमा- प्रस्तुत सङ्ग्रहका आधारमा ज्ञानबहादुर छेत्रीको समालोचनात्मक प्रवृत्तिलाई यसरी केलाउन सकिन्छ-
१. सर्जक र सिर्जनामा असम पूर्वाञ्चलका साठी वर्ष नाघेका सत्रजना नेपाली साहित्यकारले दिएको भाषा- साहित्य र सांस्कृतिक संरक्षण, सम्वर्द्धनका निम्ति व्यक्तिगत र सांगठनिक योगदानको समग्रमा मूल्याङ्कन गरेका छन्।
२. प्रस्तुत पुस्तकमा समालोचनाका नयाँ नयाँ पद्धतिहरूको प्रयोग नगरी जीवन चरित्रात्मक, अन्वेषणात्मक, कृतिकारपरक, व्याख्यात्मक, प्रभाववादी र निर्णयात्मक पद्धतिहरूको समालोचनात्मक आधार ग्रहण गरिएको छ।
३. प्रस्तुत समालोचना कृतिमा प्रभाववादी र निर्णयात्मक गरी दुवै प्रवृत्ति पाइनाले यसलाई प्रायोगिक समालोचनामा राख्न सकिन्छ। यसमा कृतिकारका कृति पढेर लेखकलाऊ परेको प्रभाव पक्ष बढी पाइन्छ भने यसमा समालोचित प्रायः स्रष्टाहरूको कृतित्वमाथि निर्णयात्मक टिप्पणी गरिएको छ।
४. यस पुस्तकमा सर्जक र तिनका सिर्जनाहरूबारे टिप्पणी गर्दा अध्ययन र चिन्तनका साथै कतै अन्तर्वार्ता, कतै सन्दर्भ, कतै अरूका टिप्पणी प्रस्तुत गरेर प्रामाणिकता दिइएको छ। यद्यपि यसमा समालोचकको आफ्नो मौलिक अध्ययन, चिन्तनका आधारमा कृतिगत मूल्याङ्कन गरिएको छ।
५. छेत्रीको समालोचनामा कृतिको गुण-दोष दुवै केलाइएको छ। यसमा कृतिका सबल पक्ष मात्र होइन दुर्बल पक्षबारे पनि उल्लेख गरिएको छ। यस सङ्गरहमा रहेका प्रायः सबै लेखकहरूका कृतिमा रहेका गुण-दोष दुवैलाई औंल्याइएको छ।
६. यसमा साहित्यका प्रायः सबै विधालाई समानान्तर रूपमा आधार ग्रहण गरिएको छ।यसमा कतै उपन्यास, कतै, कथा, कतै नाटकको संक्षिप्त रूपमा अध्ययन गरिएको छ।
७. सरलता, सहजता, सर्वबोध्य भाषा र शैलीमा समालोचना लेखेर पाठकलाई तत्तत कृतिहरूबारे जिज्ञासा, महत्त्व, गुणवत्ता दर्साइएको छ।
८. प्रस्तुत पुस्तक भने परम्परागत समालोचना परिपाटीमा रहेको देखिन्छ। यसमा वर्तमानमा चलेका समालोचनाका नयाँ नयाँ पद्धति, ढाँचा र परिपाटीलाई नअप्नाई आफ्नै वरिपरिका साहित्यकारको महत्त्व, मूल्याङ्कन दर्साइएको छ।
९. यसमा रहेका प्रत्येक लेखका शीर्षकहरूमा नै व्यक्तित्व र कृतित्व, छोटो चर्चा, एक अवलोकन, टिप्पणी आदि शब्द प्रयोग हुनाले यसको सीमा पनि स्पष्ट परिलक्षित हुन्छ। यो सङ्ग्रह संक्षिप्त परिचयात्मक किसिमको देखिन्छ।
१०. यसमा सर्वेक्षण, अन्वेषण, सूचनात्मक, संकेतात्मक प्रविधि अपनाइएको छ।
५.उपसंहार- जे नै होस्, नेपाली समालोचना क्षेत्रमा तीन-तीनवटा समालोचनात्मक लेख सङ्ग्रह प्रकाशन गर्ने हाम्रा ज्ञानबहादुर छेत्री स्वयंको चाँहि उत्ति मूल्याङ्कन र कदर भएको देखिन्न। उनी नेपाली भाषा र साहित्यका एक अध्येता, चिन्तक, अनुवादक, समीक्षक, सचेत व्यक्तित्व हुन्। उनको अवलोकन (सन् २०००), नेपाली साहित्यत एभुमूकि (असमीया भाषामा, २०१०) र २०१० सालमा नै प्रकाशित सर्जक र सिर्जना गरी तीनवटा समालोचनात्मक कृति दिने हाम्रा छेत्री पनि एक विशिष्ट समालोचक हुन्।
प्रस्तुत कृति सर्जक र सिर्जना जीवन चरित्रात्मक, प्रभाववादी, निर्णयवादी, कृति र कृति दुवैको मूल्याङ्कनपरक रहेको छ। यसमा असमतिरका उमेरले साठी वर्ष नाघेका वयोवृद्ध कवि, कथाकार, नाटककार, निबन्धकार, उपन्यासकार, समालोचक, अनुवादक, साहित्यिक संस्थाका संगठक, साहित्यिक पत्रकार व्यक्तित्वहरूको कृतित्व र व्यक्तित्वमा प्रकाश पारिएको छ।असममा नेपाली समालोचनाको खरेडी परेको अवस्थामा आफ्ना वरिपरिका साहित्य सर्जक व्यक्तित्वहरूलाई आफ्नो समालोचनात्मक लेखनको केन्द्रविन्दु बनाई छेत्रीले ती व्यक्तिबाहेक समग्र नेपाली साहित्य संसारलाई नै ठुलो गुण लाएका छन्। हाम्रा छेत्रीले झैं सबै समालोचकहरू आ-आफ्ना ठाँउका सर्जकलाई यसरी चिनाइदिए र मूल्याङ्कन गरिदिए प्राय़ः सबै प्रतिभाहरू आलोकित हुने थिए। असमतिरका धेरै कवि-लेखकहरू मूल्याङ्कनबाट वञ्चित देखिएको अवस्थामा छेत्री जस्ता समालोचकलाई ईश्वरले अझै लेख्ने प्रेरणा प्रदान गरून्।
सन्दर्भ ग्रन्थ सूची-
१. ज्ञानबहादुर छेत्री, सर्जक र सिर्जना, गुवाहाटी, अनुराग प्रकाशन, २०१०।
२. ज्ञानबहादुर छेत्री, नेपाली साहित्यत एभुमूकि, कुवैत, अभि-जमान स्मृति ट्रस्ट, २०१०।
३. मेघनाथ छेत्री, भारतीय नेपाली समालोचक र समालोचना,सुकना, पूर्णिमा शर्मा,२००८।
दार्जीलिङ