18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जीवनको गाडी

कविता श्रीशीशा राई June 22, 2013, 3:33 am

घाँटीसम्म उक्लिएको गुड्ने रहर

गुडेरै दुःखका कच्ची नागवेलीहरु पार गर्ने जोश

सडकलाई डल्लो पारेर नयाँ ध्रुवमा पुग्ने वाचा

यी सवै

उपचार नपाएर दुखीरहेका गानोहरु हुन्

ठेल्ने भन्दा रोक्नेहरु धेरै भएपछि

अब जीवनको गाडी सडकमै

अल्मलिन थालेको छ

डिजेल बन्द छ

तेल निख्रिएर गाडीमा खिया लाग्दैछ

म ठेल्दैछु गाडीलाई

जीवन र उद्धेश्यको मायाले

अगाडी चक्काजामको लाम छ

आम सफलताहरुलाई छेक्न

आम हडतालको पर्खाल उठाईएको छ

जता हेरेपनि

गाडीजस्तै जीवन मक्किइरहेको देखिन्छ

नदेखे झैँ के गर्नु ?

भरे त फेरी फर्कनैपर्छ लामतिर

आँखामा पानी जमाएर हाँस्दै

मैले नै हेर्नुपर्छ यो भीडलाई

गुडेर पुग्नु नै चैँ जीवन होइन रहेछ

पार गरिएका खाल्डाखुल्डीहरुमा पनि

पक्की सडकको आकाँक्षा छ

दायाँ किनारा भन्छ –तलबाट नखसोस

वायाँ किनारा भन्छ –माथीवाट नझरोस

मनमा सँधै

बाँकी कामका फेहरिस्तहरुको खिल बोकेर पनि

गाडी गुडीरहेकै छ

तर भान्सामा सब्जि रित्तिएको छ

गोजीमा शुन्य भरिएको छ

वेगवाण गाडीमा पनि

इमेरजेन्सी व्रेक लगाउनुपरेको छ

सीटमा बसेका टाउकाहरुका लागि मात्र होईन

यात्रा नयाँ घुम्ती सम्मको हो

पुनःसंरचनासम्मका लागि हो

विस्वासहरु साक्षी बनेपछि गाडीले

कोशीमा फेरी पनि तरेकै हो

लोडसेडिङ पनि छिचोलेकै हो

लामको अघिल्तिर उभिएर तिमी भने

यात्रा बन्द गरिरहेछौ

तिम्रो आँखा नै एकसरे छ

होइन भने इ यसरी

टायर बालेर ढुंगा थुपारेर

नयाँ वर्षको प्रवेशद्धार समेत

किन बन्द गथ्र्यौ ?

तरहरा, सुनसरी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।