18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अनन्त सम्बोधन

कविता मनु लोहोरुङ् June 9, 2013, 5:04 am

मेरो मनभित्रको मन पर्ने

एक टुक्रा गीत गुन्गुनाउने तिमीलाई-

मेरो केशराशी छुएर जाने बताससंग

अलिकति शाब्दिक चुम्बन पठाएँ है !

जहाँ तिमी बसेको भूगोल सम्म

मेरा सम्झनाका बयेलीहरु लहराउँने छन्

अनुभूति गर्नू - ति मेरा प्रेमिल स्पर्शहरु हुनेछन् |

मरुभूमिको उष्णता होस् या

कुनै टापुहरु छुन उठेको छाल-

त्यहाँ प्रकृतिले मेरै निम्ति उत्सव गाइ रहेको हो

बुझ्नू - म तिम्रो प्रेमलाई सम्बोधन गरी रहेछु |

पृथ्वीको गर्भ छिचोलेर उक्लेको घाम

धर्तीको सतहसंग अंगालो हाल्न ओर्लेको जून

दिन उघार्न मिर्मिरेमा झरेका तारहरु हुन्

हावाले काउकुती लगाएका फूलपत्रहरु

ति सबै सबै 'हाम्रो' अनन्त प्रेमको साक्षी बक्न तयार छन्|

हो, मैले हृदयको उद्गार मिसाएर

यो एकांश कविता पठाएको छु |

नदीको किनारासंग, सागरको लहरसंग

सगरको उचाईसंग, हिमालको अग्लाईसंग

अझ भनौं, तिम्रो मुटुको धड्कनसंग

अनन्त,अविरल, अविचल, बाँची रहोस् !!!

हाल : संखुवासभा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।