18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

न्याय

लघुकथा डा.रुपक श्रेष्ठ June 1, 2013, 5:15 pm

"बत्तीस हजार टुक्रा बनाओ ! " भिडको बिचमा अग्लो ठूलो ढुङ्गामा उभिएको रिसले चूर, शरीरले हट्टाकट्टा, खुवाईले मोटो भद्दा देख्दै डरलाग्दो मान्छेले भिषण स्वरमा आदेश दियो / रगताम्मे हुने गरि कुटपिट गरि बाँधेर ल्याईएको व्यक्तिको घाँटीमा खुकुरीले छप्काउन लागे बाँधेर ल्याउनेहरुले / " ए मूर्ख हो, यसलाई संजाय दिने त्यसरी होइन /" रिसले उग्र हुँदै कुर्लियो त्यहि मोटे / छप्काउन ठिक्क परेकाहरु अलमलिए / त्यस मोटे फेरी डुक्रियो, "यसलाई खुट्टादेखि छप्काउँदै काट्दै टाउको सम्म टुक्र्याएर गनी गनी बत्तीस हजार टुक्रा बनाओ /" भिडले ठूलै पर्व मनाए झैं निक्कै उत्साहका साथ खुँडा, खुकुरी, बन्चरो ईत्यादिले छप्काउँदै गए, बन्दि बन्धनमै टुक्रिदै चिच्याउँदै गर्दा गर्दै बत्तीस हजार टुक्रामा परिबर्तन भयो अनि एकछिनको लागि भिडको बिचमा डरलाग्दो शान्ति छायो / "अब सोह्र हजार टुक्रा यसको परिवार र नातेदारको आँगनमा छरिदेओ अनि बाँकी सोह्र हजार टुक्रा बेपत्ता हुने गरि फ्याँकिदेओ / यसले आफ्नो कर्मको फल भोग्नै पर्छ ! " त्यो फेरि आकास नै थर्किने गरि कुर्लियो / मुर्दा शान्ति भिडको छेउबाट कपाल फुलेकी मूक दर्शक वृद्धाले लामो सुस्केरा काडेर काँपेको स्वरमा फुसफुसाई, " यो ढुङ्गामाथि चढेर गरेको न्याय कहिले सम्म सुन्नु पर्ने हो प्रभू ?? "

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।