18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उमर खय्याम, खलील जिब्रान र म

कविता शरद निरोला May 11, 2013, 3:34 pm
शरद निरोला
शरद निरोला

सौन्दर्य कहाँ हुन्छ, कसमा हुन्छ, कति हुन्छ

बिचरा खलील जिब्रानले त जानेनन

उमर खय्यामले समेत सुरामा सुन्दरी देखे

असली सौन्दर्यको मर्म बुझेनन्

"रोटीको एउटा टुक्रा, सुराको एउटा गिलास, साथमा तिमी"

(अनि मेरो उपहास)

उमर खय्यामले त देखे मदिरामैं मस्ती

बिर्सिदिए आफ्नो इतिहास

तर म न त खय्याम नै हूँ न त खलील जिब्रान

एउटा बबुरो नेपाली सधैं लखतरान

तापनि एकातिर जिब्रानको बोली लटपटाएकै हुन्छ

अर्कोतिर खय्यामको खहरे त्यत्तिकै बग्छ

सौन्दर्यको परिभाषाको चक्रव्यूहमा अभिमन्यु झैं फँसेर

जिब्रानले कुरुपतामा पनि सौन्दर्य अनुभूति गरे

खय्यामले पनि मदिराका उग्र छालहरुमा

रुप र जवानीका रंगहरु भरे

खय्यामले भने झैं "गोप्य कुरा अनन्त छ

न त तिमीलाई थाहा छ न त मलाई

बुर्का पछाडि केवल हामी दुईकै मात्र चर्चा छ

बुर्का खोल्नासाथ

न तिमी छ्यौ न मेरो नै अस्तित्व छ"

मेरो पनि त्यही हालत छ--तिम्रो रुपको अगाडि न मेरो अस्तित्व छ

न त सप्को पछाडि मेरो कुनै तारीफ छ

केवल एक झलक देखेको भरमा

सम्पूर्ण जीवन अभिशप्त छ

अब त यस्तो लाग्छ किन म

खय्यामको प्यालाभित्र सुटुक्क पसिनं

किन जिब्रानको कुरुपता अंगाल्ने परिभाषाभित्र

निसंकोच आत्मदाह गरिनं

आखिर सौन्दर्यले अति दिग्भ्रमित भएको मान्छे म

कुरुपताभित्र पनि सौन्दर्य हुन्छ खुट्याउनै सकिनं

मेरील्याण्ड

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।