18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मनभरि आँखाभरि

कविता डा.रुपक श्रेष्ठ March 2, 2013, 5:09 pm

टेपवर्म

पुगेर गिदीमा अनायासै

टाँसिएर

चुसेर

जवानलाई पनि

जतिखेर पनि

जहाँ पनि

ढलाएको देख्छु

बेहोस बनाएको देख्छु

बहुला बनाएको देख्छु

हत्या गरेको देख्छु

अनि

मनभरि

मेरै देश मडारिन्छ

आँखाभरि

मेरै देश बग्छ

ऊफ!

राज्यसत्ता

अनि

टेपवर्म सरकार !

जूकाहरु

सुंगुरबाट आए पनि

जंगलबाट आए पनि

जूकाहरु जूकाहरु नै हुन

टाँसिन्छन्, र चुस्छन

जूकाहरु,

चुस्नमात्र टाँसिन्छन

त्यसैले जूकाहरु,

कहिल्यै गड्यौला हुन सक्दैनन

गड्यौलाले झैं

माटोको उत्थान गर्दैनन

सर्बहाराको उत्थान गर्दैनन

जूकाहरु,

बस्,

चुस्छन्,

सर्बहारा सुंगुरबाट

सर्बहारा मान्छेमा सर्छन

सर्बहाराको दिमाग चुस्दै

जंगलबाट शहरमा छिर्छन

चुस्छन

टिपेर नफालेसम्म

वा

चर्किएर नखसेसम्म

अनि

मनभरि

मेरै देश मडारिन्छ

आँखाभरि

मशाल दन्किन्छ

ऊफ !

गाई आमा

जूका सरकार !

ट्युमर

फैलिएर ब्रेनमा अनायासै

झुन्डिएर गलामा अस्वभाबिक

थुप्रिएर ढाडमा अनियन्त्रित

जतिखेर, जहाँपनि

टाँसिएर, चुसेर

थला पारेको देख्छु

निर्मम हत्या गरेको देख्छु

ओ ! हिसिला

ट्युमर ट्युमर नै हो

कालो कोठी होइन

सुहाउन राजमतीचाको जस्तो

यो त

वाहियात

कुहिएको मासुको डल्लो

चुसिरहन्छ बढिरहन्छ

सुन्दर सुकोमल शरिर

निर्मम कुरुप पारेर

कल्कलाउँदो जीवन

खिल्खिलाउँदो स्वर्ग

निमिट्यान्न नपारेसम्म

लुटिरहन्छ झुण्डिरहन्छ

निकालेर नफालेसम्म

एउटा भयानक थ्रेट बनेर

अनि

मनभरि

मेरै देश डगडगाउँछ

आँखाभरि

मेरै देश डबडबाउँछ

ऊफ !

कल्कलाउँदो देश

ट्युमर सरकार !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।