आज बन्द जाममा फँसिरहेछ मेरो देश
गन्तव्यमा पुग्न नपाई रोइरहेछ मेरो देश ।
छातीमा टाँसे मुटुमा राखेँ ढुकढुकी नै अर्पेर
हरेक पल च्वास्स च्वास्स दुःखिरहेछ मेरो देश ।
सहमती र सहकार्यको भाषण मात्र धेरै भो
शान्ति हरायो क्रान्तिमा होमीरहेछ मेरो देश ।
हिमाल, पहाड, तराई पनि आगो सरी जल्दैछ
विस्तारै विस्तारै खरानी बनिरहेछ मेरो देश ।