17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शोकधून

कथा शिव प्रकाश February 10, 2013, 2:55 am

जीवन र मृत्युको दशगजामा उभिएर ऊ आफ्नै मृत्युको शोकधून सुनिरहेको छ । धूनसँगै बाँच्नुको बाँकी जीवनको आनन्द पनि लिइरहेको छ ।

जीवनका साँध–सीमानाहरु लगभग पार गरिसकेको छ । कुनै पनि बेला मृत्युको मुखमा आफूलाई होम्न चरु जस्तै जीवन साँदेर बसेको छ । लाग्छ– मृत्युमा पनि गहन सौन्दर्य हुन्छ र त्यसको वोध उसालाई भैसकेको छ । शान्त छ । सरल छ । स्वाभाविक छ ।

एकदिन उसले आफू एकाएक हराउने सूचना दियो हामीलाई– अपार्टमेन्ट छोड्ने सूचना जस्तो ! यस अघि ऊ पुरै छ महिना हराएको थियो । हामी कसैलाई केही थाह भएन, कहाँ गयो ? के भयो ? अन्त कतै गयो कि ? अनन्त तिर गयो ?

राज हरायो ! हाम्रो लागि राज, राजै बनिरह्यो ।

दुई मित्र छन् मसँग । हुन त यी मित्रको नाउँ अर्कै छ तर एकजना अहिले आएर कवित्व र कल्पनाशीलतामा डुब्न थालेका छन्– उनी कालीदासले चिनिन्छन् । अर्का छन् पैसा खल्तीमा मात्र हैन, दिमागमा पनि राख्नु पर्छ भन्ने– यी लक्ष्मीदासले परिचित छन् मण्डलीमा ।

राजको राजका बारेमा कालीदास पनि म जस्तै अनभिज्ञ थियो । लक्ष्मीदास कालीदास जस्तै । हामीभन्दा लक्ष्मीदासलाई बढी जानकारी हुन्थ्यो उसको बारेमा । ऊ लक्ष्मीदासको पडोसी हो । यसपटक लक्ष्मीदास पनि हामी जस्तै शून्य हरिदास भएको थियो । केही थाह छैन ।

सधैं एकले अर्कालाई सोध्थ्यौ– राज आएन ? कहाँ गयो होला ? उत्तर राजसँग मात्र थियो ।

कति सोधियो–खोजियो । कतै केही नामोनिसान नपाए पछि लागेको थियो– गइसक्यो । कता गयो थाह छैन तर गइसक्यो । बुझ्नेले के बुझे थाह छैन तर सबै यसै भन्थे– गइसक्यो ।

पुलिसलाई खबर गर्न सकिएन । ‘भीसा’ सकिएर ‘इलिगल’ बसिरहेको थियो हामी जस्तै । खबर गरौं, आफै पनि जाकिन सकिन्छ । जेल–नेल, त्यसपछि घरदेशतिर फिर्ति सवारी । आखिर को चाहन्छ देश फर्कन ?

घरबाट राजका बा–आमाको फोन आइरहन्थ्यो । हामीे ढाटिरहन्थ्यौ । प्राय सधैं उस्तै उस्तै उत्तर दिन्थ्यौ– बाहिर गएको छ, काममा गएको छ । कहिले भन्थ्यौ– भरखरै गएको, कहिले– अलि बेर भयो, कहिले– निक्कै बेर भयो ।

कसरी भन्ने तिम्रो छोरो छ महिनादेखि बेपत्ता छ भनेर । बुढेसकालको एक्लो साहारा । अमेरिका आएको बीस वर्ष भैसेकेको छ । आएदेखि आमा–बाले छोरो र छोराले आमा–बा देखेका छैनन् । त्योभन्दा ठूलो अरु कुन बज्र खस्न सक्छ जीवनमा ।

सधै फोनमा सोध्थे– कहिले आउँछस् ? सधैं भन्थ्यो– अर्को पटकको दशैंमा अवश्य आउँछु । अकोअर्को भन्दाभन्दै दशौं दशैंले नेटो काटिसकेका थिए । बूढा बाबु–आमाका थकित आँखाामा आशाको दीयो धिपधिप् बाँकी नै थियो ।

बूढाबुढी सत्तरीको हाराहरीमा छन् । छोरो चालीस नाघिसकेको छ । चिन्ताको पोखरी अर्को पनि छ– बिहाबारी भएको छैन । छोरो आउँछ र नाती–नातिना खेलाएर बसौं भन्ने आमा–बाको इच्छा भित्रभित्रै सगरमाथा जस्तै चुलिएको छ ।

छोराका पीडाले ती बा–आमालाई पर्नसक्ने घातलाई हामीले झूठका कवचले निरन्तर छेकिरह्यौं । हामीले ढाटिरह्यौं, तिनले पत्याइरहे ।

त्यो दिन सोच्दै नसोचेको भयो– पश्चिमबाट घाम झुल्किए जस्तै अचम्म ! तर घाम पूर्वैबाट झुल्किएको थियो, घामसँगै ऊ पनि झुल्कियो । कालो अनुहारको ओढारमा उसका सेता दाँत परैबाट देखिए । संयोगले हामी तीनै जनाको कामको ‘ड्यूटी’ त्यो दिन एकै समयमा परेको थियो ।

“कहाँ गएको थिइस् ?” मैले सोधेँ । एकछिन् मेरो अनुहारमा आँखा डुलायो । बोलेन, हाँस्यो मात्र ।

“कफी पिउँछस् ?” अँहँ बोलेन । एकोहोरो हाँसिरह्यो ।

त्यही प्रश्न कालीदासले दोहा¥यायो । फेरि पनि बोलेन हाँस्यो मात्र ।

दुःखको वस्ती यो अमेरिकामा हामी सँगै बसेको दश वर्ष भैसकेको छ । कहिल्यै उसको ओछ्यान खाली थिएन । अहिले छ महिनादेखि खाली छ । छ महिना पछि बल्ल आएको छ । कहाँ गएको थिइस् भन्दा बोल्दै बोल्दैन हाँस्छ मात्र !

लक्ष्मीदास कड्कियो– “पागल भइस कि क्यो हो ? बोल्दैनस् हाँस्छस् मात्र, कहाँ गएको थिइस् ?

हाम्रो मनमा डरले डेरा जमायो– कतै यो बौलाएको त हैन ? अमेरिकामा बिग्रिन के बेर लाग्छ ?

तर बौलाएको मान्छेको लक्षण केही पनि देखिदैन, सिवाय सोधेको कुराको जवाफ नदिएर हाँस्नु बाहेक । हँसाइ पनि बौलाहाको जस्तो छैन । मन्द छ । मृदु छ । मुस्कान छ । अनुहार विहानको घाम जस्तै उज्यालो छ । ग्लानी, थकान वा अपराधवोधका रेसा, धर्का, छिटा, बाछिटा केही देखिदैनन् अनुहारमा । सब ठीकठाक छ । दुरुस्तै छ । बोल्दैन हाँस्छ मात्र ।

लक्ष्मीदास फेरि कड्कियो– अरे भाइ, के भयो ? कताबाट आज यहाँ आइस् ? यत्रो दिन कसरी गुजारा गरिस ? केही त बता ।

तैपनि बोल्दैन । अनुहारमा पीडा र बोझको कुनै संकेत नभए पनि आँखा अलि निरस छन् । हामी उसका आँखामा उत्तर खोजिरहेका छौं तर महाकविले भने जस्तो शून्यमा शून्यसरी जस्तो छ ।

हाँस्दा हाँस्दै एकाएक उसको अनुहारबाट हाँसो हरायो । हेर्दा हेर्दै ऊ शालिक जस्तो भयो । एकोहोरियो । अब न बोल्छ, न हाँस्छ ! हामी मूकदर्शक भयौ, हेरिरह्यौ । मनमा शङ्का उपशङकाको हिउँ जम्न थाल्यो । यसलाई कुनै डिप्रेशन वा मेन्टल प्रोम्बलम् भयो कि क्या हो ?

मैले अर्को बाटो अपनाएँ– “राज, हिड् म तलाइँ घरमा छोडिदिन्छु ।”

उसको टाउकोले सहमतिको संकेत ग¥यो । बाटोमा मैले तिनै प्रश्नहरु दोहो¥याए तर पहिले जस्तै केही उत्तर दिएन । उत्तरविहिन भएर पनि उत्तरको खोजीमा लागिरहेँ ।

कोठामा पुगेपछि उही प्रश्न फेरि दोहो¥याएँ । हाँसो हराएको उसको त्यो अनुहारमा अहिले अर्कै तस्वीर उत्रियो । ऊ निक्कै गम्भीर भयो । मलाई अनिष्ठको शङ्काले घे¥यो । कतै मनको पीडाको तस्वीर अनुहारमा उत्रेको त हैन ? म उसलाई हेरिरहेको छु । ऊ एकटकले भूइँमा हेरिरहेको छ । ऊ के सोचिरहेको छ थाह छैन । म भने अनेकानेक सोचिरहेको छु ।

छ महिना हराएर एकाविहानै देखा परेको छ । हेर्दा सबै दुरुस्त छ । सुकिलो मुकिलै छ । केही भए जस्तो पनि छैन तर केही नभए जस्तो पनि छैन । केही नभएको भए किन यस्तो हुन्थ्यो ? मैले सोचेँ– हो, पक्कै यसको दिमाग सड्किएकै हो । फेरि लाग्छ– हैन, त्यो पनि हैन । दिमाग सड्किएको भए छ महिना पछि फर्केर यो किन यहीँ आउँथ्यो । अन्तै कहीँ जान पनि त सक्थ्यो । मागेर खान पनि सक्थ्यो ।

हो–होइनको रोटेपिङमा मन चाकाचुली खेल्न थाल्यो ।

फेरि सोचेँ– यसलाई डिप्रेसन नै भएको हो । त्यसैले बोल्दैन । फेरि अर्को मनले सोचेँ– हैन, डिप्रेशन भएको मान्छे हाँस्नै सक्दैन । केही छिन अघिसम्म हाँसिरहेको थियो ।

अर्को कारण हुन सक्छ– यसले कसैलाई रेप गरेर आयो कि क्यो हो ? पक्कै यो बिचमा यो कसैसँग बस्यो र केही गरेर आयो होला ! कि यसले एड्स त लिएर आएको छैन ? यसलाई पक्कै पश्चातापको आगोले भित्रभित्रै जलाएको हुनुपर्छ । नत्र किन बोल्दैन यो ?

अनेक तर्कवितर्कका ठाडातेर्सा धर्सा किरिङ्मिरिङ् कोरिए मन मस्तिष्कमा ।

कि कुनै ठूलै ‘लटरी’ जितेर पैसाले पुष्ट भएर नखरा पार्दै छ । अघिसम्म हाँसिरहेको थियो । कि यसले कुनै मालवाला आइमाइ फेला पारेर बिहेसादी नै गरेर आयो ? कि त्यो आइमाले घरबाट घोक्रेठ्याक लगाइदिई र मोति हराएको नाग जस्तो भएको हो ?

शंकाको हाइवेमा प्रश्नहरु दौडिरेहे ।

यही बीचमा कालीदास र लक्ष्मीदासको फोन आयो । उसैको बारेमा सोधे । जे भएको छ मैले त्यही भन्दिएँ– अझै बोलेको छैन । उनीहरुले मानसिक अस्पताल लैजाने सल्लाह पनि दिए तर मेलै हेरौं भनेर टारिदिएँ ।

अन्तिम प्रयास गर्छु भन्ने सोचँे– “राज, तलाइँ के भएको हो भन् नत्र हामी तँलाइ मानसिक अस्पतालमा लगेर भर्ना गरिदिन्छौ । कालीदास र लक्ष्मीदास पनि आउँदैछन् ।”

भन्नासाथ उसका टोलाएका आँखा एकाएक चञ्चल भए– तारा जस्तै चम्किला । मुर्झाएको अनुहार एकाएक उज्यालो भयो– पूर्णीमाको जून जस्तै । ओठमा मुस्कान फर्किएर आयो । धेरै कुरा एकचोटी भनुला, बोलुला जस्तो ग¥यो तर बोल्न चाहिँ बोलेन ।

एकाएक उसमा आएको परिवर्तनले मलाई झन त्रसित बनायो । मन र वनको दुबै बाघले मलाई एकैचोटी निल्यो । भित्रभित्रै डर–त्रास भित्र–बाहिर गर्न थाल्यो । ९११ कल गरौं कि जस्तो पनि भयो तर विगत दश वर्षमा उसले कहिल्यै विश्वासघाती र स्वार्थी काम गरेको थिएन ।

असल मान्छेले कहिल्यै अर्कालाई खराब देखाउँदैन । आफूले आफूलाई राम्रो भन्दैन । यस्तै एक असल मित्र हो हाम्रो । त्यो विश्वासले जित्यो तैपनि दुई कदम पछि हटे । उसको अनुहार नियाले । मुसुक्क हाँसे । ऊ पनि हाँस्यो ।

हाँस्न त हाँस्यो तर ऊ हाँसेको देखेर डरमाथि झन् डर थपियो । साँच्चै बौलाएको हो कि जस्तो लाग्यो फेरि मलाई ।

“तिमीहरु आइहाल त, राजलाई हस्पिटल लानु पर्ला जस्तो छ ।” मैले कालीदास र लक्ष्मीदासलाई फोन गरेँ ।

कुरा गर्दागर्दै उसले मेरो फोन खोस्यो र खित्का छोडर हाँस्न थाल्यो । ऊ हाँसिरहेको छ तर वर्षिन लागेको कालो मेघ जस्तो देखेँ मैले उसलाई । म भित्रभित्रै काँप्न थालिसकेँ । आजसम्म कसैसामू यति त्रसित भएको थिइन तर आज आफ्नै मित्र यति डरलाग्दो भयो मेरो लागि । लाग्यो– यो बौलाएकै हो ।

तीन दिन भैसकेको छ घाम रिसाएर वादलको कालो बर्को ओढेर सुतेको । बोस्टनको मौसम र मान्छेको मन उस्तै भने पनि हुन्छ– कतिखेर परिवर्तन हुन्छ थाह हुदैन । आजको दिन नै अलक्षिनी पराको छ– दिउँसै रात परे जस्तो । यस्तो मौसममा बौलाहाहरुको बहादुरी झन बढ्छ भन्ने सुनेको थिएँ । यसको बहादुरीको सामना मैले कसरी गर्ने ? मान्छेले दुःखमा नै भगवान् सम्झिन्छ, मैले पनि सम्झिएँ । मेरो साहारा, म र भगवान् भन्दा अरु कोही छैन । मनमनै दुई लाईन हनुमान चालिसा पनि पाठ गरेँ ।

कोठामा फोनको घण्टी बज्यो । ऊ फोन उठाउन दौडियो ।

अब भने पक्का भयो– यो पागल हैन । पागल भए किन फोन उठाउन जान्थ्यो ? फोनसँग यसको के लिनु दिनु हुन्थ्यो ?

लिभिङरुममा बसेर उसका एकतर्फी कुरा सुने । भन्दै थियो– यसपालीको दशैंमा आउँन सकिन, अर्को साल पक्कै आउँछु । उसका आमा–बाको फोन रहेछ ।

कालीदास र लक्ष्मीदास पनि घरमा आइपुगे । राज फोनमा कुरा गरिरहेको छ । त्यो देखेर उनीहरु ममाथि आइलागे– पागल त्यो होइन, तँ भइछस् ।

हुन पनि हो, ऊ आरामले फोनमा कुरा गरिरहेको छ । केही फरक छैन सद्देमान्छे र उसले कुरा गरेको ।

“जति चिन्ता लिनु भो, अब नलिनु । म अर्को दशैंमा पक्कै आउँछु र जीवनभर तपाइँहरुसँगै बस्छु । अमेरिकासँग म चाँडै बिदा लिदैछु ।” उसले फोन विसायो । फेरि एकपटक मुस्कुरायो र हामी सबै भएतिर आयो ।

ऊ थपिए पछि ऊसँगै हामीबीच शून्यता पनि थपियो । निक्कैबेर आँखा–आँखा मात्र बोले । मुखामुख भयो तर कसैको मुख खुलेन ।

उसको लिला र खेला देखर हामी ध्यानावस्थित भयौ– नदी किनारका बकुल्ला जस्तै ।

“राज ! यो तेरो के राज हो ? तँ.... !” मैले वाक्य पुरा नगर्दै उसले उत्तर दियो । तिमीहरुको पहिलो प्रश्न– कहाँ गएको थिइस् र दोस्रो प्रश्न– किन बोल्दैनस् भन्ने होइन त ? उसको स्वर एकाएक परालको आगो जस्तो दन्कियो ।

पोखरीमा पानी हुँदा माछाले कमिला खान्छ; पानी सुकेपछि कमिलाले माछा खान्छ भने जस्तो भयो । केहीबेर अघि हामी उसलाई प्रश्न गरिरहेको थियौ, अहिले ऊ हामीलाई प्रश्न गरिरहेछ । गरुडको छायाँमा पेरेको साप जस्तो भयौ हामी । त्यसै ओइलायौ । बोलेनौ । मुखामुख ग¥यौ ।

“म किन बोल्दिन भन्ने प्रश्नको जवाफ त दिनु पर्दैन होला । किन भने म बोलिरहेको छु, त्यसैले म बौलाएको छैन । बाँकी रह्यो– म कहाँ गएको थिएँ ?

ऊ बोल्दा बोल्दै अब्राहम लिंकनको स्ट्याचु जस्तो भयो– एकदम गम्भीर । मुखमा कुभिण्डो भने जस्तो भएका छौं हामी, बोलेका छैनौं । एउटा छोटो अमूर्त मौनता पछि उसले भन्यो– “म जेल गएको थिएँ ।”

एकाएक आकास खसे जस्तो भयो । संसारै अध्याँरोले छोपे जस्तो भयो हामीलाई । एउटा कहाली लाग्दो शून्यता त्रास बनेर सल्बलाउन थाल्यो । सोच्दै नसोचेको यो कसरी भयो ? हामीभित्र प्रश्नको व्याड बन्यो । भरभर्ती उम्रिन थाले प्रश्नका विरुवा ।

“इमिग्रेसनको केशमा छ महिना जेल हाल्यो । मलाई स्वदेश फिर्ता गर्न चाहेको थियो तर सकेन । जित मेरो भयो । मैले पनि जान्न भनिदिएँ । ”

कुनै दन्त्यकथा सुने जस्तो लाग्यो हामीलाई । “अनि ?” मेरो उत्सुकताले बाँकी कथा खोज्यो ।

“अरु खासै केही छैन । एकडेढ महिना पछि थाह पाउने छौ ।” उसले धेरै कुरा गर्न चाहेन । काममा पनि गएन । भन्यो– “म आराम गर्छु । लामो यात्रामा जानु छ ।”

केही दिन यसरी विते सामान्यरुपमा । ऊ पहिलेभन्दा सरल, सामान्य र खुशी देखिन्थ्यो । लाग्थ्यो– ऊ प्राप्तिको समीप पुगिसेको छ । उसले हैन अब इच्छाहरुले उसलाई पछ्याइरहेछन् । भन्ने गथ्र्यो– “बाँकी दुई दिनको जिन्दगी हाँसीखुशी बिताउनु पर्छ ।” अझ बढी रसिक बन्न थालेको थियो ।

उसको एउटा ह्याण्डव्याग छ । त्यसमा उसका केही औसधी र केही कागजपत्रहरु छन् । ऊ त्यो हाण्डव्यागको सुरक्षामा विशेष ध्यान दिन थालेको छ । आवश्यकता भन्दा बढी । हाम्रो पहुँच र नजरबाट सधै टाढा अथवा आफूसँगै राख्न थालेको छ ।

“ए, आखिर कुरा यस्तो पो रहेछ । एकडेढ महिना पछि थाह हुन्छ भनेको मतलब त एक महिना पछि घरदेश पर्किने पो रहेछ ।”

राजको व्यागमा मैले हवाई टिकट फेला पारेँ । थाह भो ऊ नेपाल जादैछ भनेर । बिहानै उठेर कतै गएको छ । सायद उसले त्यो व्याग आफुसँगै लान विर्सिएको हुनु पर्छ ।

धैर्यवान ती बुढा पहाड जस्ता आमा–बालाई बीस वर्षपछि भेट्दाको क्षण कस्तो हुन्छ होला ! जीवनमा त्यो भन्दा अर्को खुशीको क्षण कुन हुन्छ होला ! बीस वर्षपछि राज घर फर्किने परिकल्पनामा निक्कैबेर डुबेँ । दुबै आँखा टिलपील भए । परेलीका डिलहरु छिचोलिए । खुशीको तलाउ भरिएर बग्न थाल्यो ।

अचानक खुशीका आँशुका थोपा एउटा खाममाथि टप्किए । खाम खोलेर हेरेँ ।

हेर्दाहेर्दै शास रोकिएला जस्तो भयो । चिटचिट पसिनाले शरीर शिताङ्ग भयो । व्रह्माण्ड फनफनी घुमे जस्तो भयो । भित्रैबाट भेल उर्लेर आयो । हिउँ पग्लिए जस्तो पग्लिए मेरा आँखा । खुशीका आँसु झार्दै गरेका तिनै आँखाबाट पीडाका भेल बग्न थाल्यो । निक्कैबेर एकनासले बगिरह्यो ।

नियतिको खेल, जीवनको राज, राजको जीवन !

खाममा अस्पतालको रिपोर्ट थियो । रिपोर्टमा उसको ‘डेट‘ तीन महिना लेखिएको थियो । तीन महिनामा दुई महिना पार भैसकेको थियो । कहिलेकाहीँ सत्य कति कुरुप, क्रुर र भयङ्कर हुन्छ– उसलाई क्यान्सर भएको रहेछ । स्वदेश फिर्ता नगर्नुको कारण पनि त्यही रहेछ ।

कस्तो भयो होला विचरा राजलाई ? धेरै बेर धैरैकुरा सोचेर बसेँ । विस्तारै फेरि झोला खोतल्दे गएँ ।

उसको जीवनभरको कमाई– उसले लक्ष्मीदासको नाउँमा पचास हजार डलरको एउटा चेक लेखेको रहेछ । चेकसँगै एउटा नोट– म हराए पछि मेरा आमा–बालाई दिनु ।

बोस्टन, अमेरिका ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।