पृष्ठभूमि:
२०११ साल श्रावण १६ गते भोजपुरको मूलपानी गाउँ विकास समिति वडा नं. ९ मा जन्मिएका कृष्ण अधिकारीका पिताको नाउँ भोजराज (दिवंगत) र माता शोधा अधिकारी हो । १६/१७ वर्ष सम्म पहाडमा बसेकाले पहाडी जीवन पद्धतिको सुख दुःख संस्कार संस्कृति आदिको र त्यसपछि तराईको ग्रामीण र शहरी क्षेत्रको बसोबास भएकोले दुबै क्षेत्रको सामाजिक रीति थिति रहन सहन आदिको राम्रो अनुभव सँगालेको पाइन्छ । यिनै यथार्थ अनुभवहरू, २०३५ साल देखिको पत्रकारिताको संक्षिप्त र सङ्केतात्मक भाषाको प्रयोगको अनुभवले समेत अधिकारीको भाषिक र अभिव्यक्तिगत सौन्दर्य एवं कथा या निबन्ध वा पत्रिकाको स्तम्भ लेखन आदिमा स्पष्ट देख्न र कलात्मक सौन्दर्य अनुभूत गर्न सकिन्छ । यही कारण हुन सक्छ साझा प्रकाशनले पाण्डुलिपि प्राप्त गरेको ३÷४ महिना भित्र ‘कान्छो सार्की’ कथा सङ्ग्रहले २०६८ को अन्त्य तिरै प्रकाशित हुने अवसर प्राप्त गरेको हो कि भन्न सकिन्छ ।
विषय प्रवेश ः
‘कान्छो सार्की’ कथा सङ्ग्रह सामाजिक यथार्थमा आधारित कथा हो । विभिन्न शीर्षकमा संयोजित १९ वटा कथाहरू यस भित्र सङ्कलित रहेका पाइन्छन् । वालक, युवा, बृद्ध, पुरुष, नारी आदि सामाजिक प्राणीहरूका मनोद्वन्द्वहरूको सवल प्रस्तुति रहेकोले समाजका सबै उमेरगत वर्गका निम्ति यो सङ्ग्रहको उपादेयता रहेको पाइन्छ ।
कथाहरूको निम्ति आवश्यक उपकरणहरूको सदुपयोग परिवेशको समावेशमा ((क) ग्रामीण परिवेश केन्द्री–२,३,६,८,११,१३,१४,१५,१६,१७,१९ क्रमका ११ कथाहरू, (ख) शहर परिवेशकेन्द्री–४,५,७,९,१०,१२ क्रमका ६ कथाहरू (ग) ग्रामीण+शहर केन्द्री–१,१८ दुई कथाहरू) पात्र विधान, द्वन्द्व विधान, कथाहरूको रूप विन्यास, अलङ्कार योजना, रस भाव, रूप विन्यास एवं विम्व विधानका दृष्टिले पनि कथा योजना उत्कृष्ट र सफल बन्न गएको पाइन्छ । उखान तुक्काहरूको प्रयोगद्वारा भाषिक सौन्दर्यलाई सघाउ पु¥याएको छ ।
संक्षिप्त संवादको प्रयोगद्वारा पात्रहरूले आफ्नो परिचयगत प्रवृत्ति र मनोद्वन्द्वहरू प्रस्तुत गर्न स्वतन्त्रता पाएका छन् । त्यसैले लेखक यस कथामा तटस्थ रहन सकेकाले लेखकीय दर्शन र आदर्श वहन गर्न पात्रहरू बाध्य रहेका पाइँदैनन् । यही युक्ति कथाकारलाई सफल पार्ने कडीका रूपमा रहेको पाइन्छ ।
कान्छो सार्की भित्रको साँस्कृतिक चेतना ः
संस्कृतिको तात्पर्य–कुनै राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीति, अर्थ व्यवस्था आदिमा प्रतिविम्वित हुने र तिनका कला कौशल, वौद्धिक विकास आदिमा प्रकट हुने सम्पूर्ण क्रियाकलापको परिष्कृत रूप भन्ने बुझिन्छ । यी सम्पूर्ण मान्यता बृहद नेपाली शब्दकोशले दिएको उक्त अर्थ र नेपाली समाजले ग्रहण गर्दै गएको आधुनिक युगीन संस्कृति र परम्पराधिन संस्कृतिका विषयमा ‘कान्छो सार्की’ कथा सङ्ग्रहले टिपेका साँस्कृतिक विम्वहरूको अध्ययन गर्नु यस लेखको मूल उद्देश्य रहेको छ ।
१. ‘एउटी आाइमाई’ कथा सङ्ग्रहको पहिलो कथा हो । एउटी आइमाई शीर्षक भएपनि यसमा दुइटी आइमाई रहेका छन् र एउटी चाहिं इष्टा (प्रिय व्यक्ति, हितैषी मित्र अर्थ) केन्द्रीय चरित्र र अर्को परिधीय चरित्र र साहित्यकार सुधर्माकी पत्नीका रूपमा सूच्य पात्र रहेकी छ । इष्टा अस्तित्ववादी, शिक्षित त्यागी, संवेदनशील नारीका रूपमा चित्रित छन् । यिनैका माध्यमबाट पुरातन रुढीवादी संस्कारका कारण लोग्नेले छोराका निम्ति अर्को विवाह गरेको र त्यसै कारक तत्वका कारण शिक्षित र अस्तित्ववादी नारी इष्टाले ‘पतिदेवो भव’को रुढीगत आदर्श तोडेर स्वतन्त्र जीवन यापन गरी आफूलाई स्वावलम्बी नारीका रूपमा उभ्याएर नयाँ संस्कृतिको स्थापना गरिएको पाइन्छ । भने सुधर्माकी पत्नीका माध्यमबाट भौतिक सुखभोगवादी नारी र उसका छोराहरूको संवेदनाहीन आधुनिक संस्कृति विकासको स्वरूपको सूचना पाइन्छ ।
२. ‘त्यो कुकुर पनि अब रहेन’ शीर्षक कथाकी केन्द्रीय चरित्र सार्वजनिक ‘म’ पात्र रहेकी छिन् । यसमा माओवादीहरूले ल्याएको नयाँ क्रान्तिकारी संस्कृति, त्यसभित्र अन्तर्निहित विकृतियुक्त पक्ष, जैविक (यौनिक) कुण्ठा र एउटी पीडित तर साहसी र कुटनीति युक्त ग्रामीण नारीका प्रतिशोधी आकांक्षाको सफलता देखाएर नारीमा भएको उदात्त शक्तिको प्रदर्शन र प्रतिशोधी संस्कृतिको अङ्कन गरिएको पाइन्छ ।
३. ‘कान्छो सार्की’ कथा सङ्ग्रहकै भाग्यमानी कथा हो । यसैका हाराहारीमा आउने एउटी आइमाई, छोरी, आधुनिकता, जीवन हारेपछि, अतृप्त यात्रा, एउटा क्रान्ति, परिवर्तन जस्ता सवल, सफल र संप्रेषणीय कथाहरू हुँदा हुँदै पनि सङ्ग्रहकै शीर्षक पाउन सक्नुले यो कथालाई भाग्यमानी कथा मानिएको हो । नेपाली संस्कृतिका विविध पाटाहरूको प्रस्तुतिका दृष्टिले पनि यसलाई सङ्ग्रहको मूल शीर्षकका रूपमा लेखकले चयन गरेको हुनुपर्छ ।
‘कान्छो सार्की’ पहाडी ग्रामीण जीवनको जीस्वन पद्धति र संस्कृतिहरूको संवाहक, सहयोगी भावना र उदार मानसिकता एवम् सत्यको पक्षपाती रहेको छ । घर व्यवहार धान्ने श्रीमती मरेपछि यसले पनि दोश्रो विवाह गरेको छ । यस कथाको कथा वक्ता साना मानवीय संवेदना युक्त र जातीय संकीर्णताविहीन, आधुनिक युग चेतना र संस्कृतिको संवाहक युवक छ भने, बाटोमा बास दिने जोर भाउजुहरू कृषि व्यवसायमा थप चिया दोकान समेत चलाएर आर्थिक पक्षलाई टेवा दिने र जातीयताका पक्षपाती भएर पनि जातीय संक्रमणलाई आन्तरिक रूपले स्वीकार गर्ने संस्कृतिका संवाहक रहेका छन् ।
४. ‘अर्काको छोरो’ कथाको रोहणका माध्यमद्वारा नेपालीहरूले पनि सरकारी कोटा पाएर उच्च अध्ययनको निम्त अमेरिका जाने शैक्षिक संस्कृति, विदेशिने लोग्ने, अपाङ्ग लोग्ने र आफूले जन्माएको छोरो समेत छाडेर अर्को विवाह गर्ने नारी चरित्र पनि यस कथाभित्र विम्वित भएको पाइन्छन् ।
५. ‘अतृप्त यात्रा’ कथामा दुःखेन्द्रका माध्यद्वारा नेपाली जातिले पनि व्यापार व्यवसायका माध्यमद्वारा प्राप्त आर्थिक समुन्नतिको चरममा पु¥याएर भौतिकवादी संस्कृति, छोराछोरी र श्रीमतीहरूलाई समय, सद्भाव र स्नेह दिन नसक्दाका कारण पारिवारिक विखण्डन हुने गरेका आधुनिक संस्कृति र स्वतन्त्रताको उपयोग गर्ने आधुनिक संस्कृतिहरूको सङ्केत गरी भौतिकतावादीहरूको विवशतापूर्ण र कारुणिक सन्दर्भ प्रस्तुत छ ।
६. ‘आधुनिकता’ कथामा बूढा काशीरामका माध्यमबाट जतिसुकै बृद्ध भएपनि उनीहरूमा स्वाभिमान बाँचिरहेकै हुन्छ, आफन्त सन्तानबाट माया, स्नेह र सहानुभूति नपाए पछि बृद्धाश्रमका आश्रयी बन्न पुग्ने बृद्धहरूको संस्कृति, पहाडमा गुरु पूर्णिमाका दिन धामीले अर्को धामी चेला बनाउने संस्कृति, १४ र १६ वर्षे केटाकेटी विशालाक्षी र काशीरामका वीच वैवाहिक सम्बन्ध गाँसेर वालविवाहलाई प्रश्रय दिने संस्कृति, छोराको भविष्य बनाउन शहरमा लगेर पढाउनु पर्छ भन्ने चेतनायुक्त संस्कृतिका कारण बृद्धावस्था दुःखपूर्ण भएको अवस्था र गाउँलेहरूको सदाचारी सहयोगी भावनात्मक संस्कृति आदि समेत प्रस्तुत गरी भौतिवादी आधुनिकता प्रति व्यङ्ग्य गरिएको छ ।
७. ‘छोरी’ संवेदनाका दृष्टिले अत्यन्त मार्मिक रहेको यस कथामा अर्चना डेढ वर्षकी हुँदा बाबु उपचार नपाएर विजुवालाई देखाउँदा देखाउँदै पारलोकिक हुन पुगेकोले स्वास्थ्य उपचार पाउन नसक्ने ग्रामीण परिवेश र विजुवा संस्कृति, लोग्ने मरे पछि बाँच्नकै निम्ति आफूले जन्माएका सन्तान छाडेर अर्को विवाह गर्ने निर्दयी आमाहरूको विम्वात्मक संस्कृति, छोरीहरूले पनि ट्राफिक प्रहरीमा जागिर खाएर स्वावलम्बी बन्न सक्ने अर्चनाको आधुनिक संस्कृति र बाबुको नाता गाँसेर आफू टुहुरी हुन नचाहने उत्कट अभिलाषाको परिपूर्ति संवेदनशील भावुक र मानवतावादी म पात्रका माध्यमबाट मानवतावादी सांस्कृतिक विम्व प्रस्तुत छ ।
८. ‘पिण्डको जोहो’ कथामाा परलोक सुधार्न छोरो चाहिने जस्ता रुढीवादी संस्कृतिलाई थप्पड हिर्काउने कथा हो । यसमा बाबु आमाको शेषपछि छोरीहरूले पनि बाबुको काजक्रिया र पिण्ड खान दिन सक्छन् भन्ने नयाँ संस्कृतिको विकास हुनुपर्ने आग्रह रहेको पाइन्छ ।
९. ‘मृत्यु सुख’ कथामा योगको समाधि अवस्था ड्राइवर कृष्णका माध्यमबाट र बौद्ध दर्शनको महानिर्वाण हरिकृष्णका माध्यमबाट अभिव्यञ्जित छ र मानवको आ–आफ्नो अलग अलग क्षमता र अस्तित्व रहने कुरा पनि दर्शनकै रूपमा अभिव्यञ्जित रहेको पाइन्छ ।
१०. ‘स्पर्श (आत्म विक्रय)’ कथाकी पारु र उसले व्यवसाय गर्ने होटलको परिवेशले शहरी वातावरणमा विकसित भइरहेको आर्थिक उपलब्धिका निम्ति जस्तोसुकै निकृष्ट व्यवसाय पनि चलाउने व्यापारी, यौनाचारका निम्ति निर्लिप्त धनी यौनाचारी वर्ग, आफ्नो परिवारको पालन पोषणका निम्ति देहव्यापार गर्न बाध्य पारु जस्ता नारीहरूका समस्या र विवशताका माध्यमद्वारा आधुनिक संस्कृतिमा आएका संवेदनाहीन विकृतिहरूको उद्घाटन गरी त्यस प्रकारका संस्कृति प्रति व्यङ्ग्य गरिएको छ ।
११. ‘जीवन र कला’ कथामा एउटा कलाप्रेमी र कलाकार पात्रका माध्यमद्वारा कथाको बुनोट गरिएको छ । जीवन प्रकृतिको (स्वभावका) सौन्दर्य हो र यो नासवान वस्तु छ भन्ने आशय व्यक्त गर्दै बौद्ध दर्शनको निर्वाण मुखी दर्शनको प्रतिच्छाया प्रस्तुत गरिएको पाइन्छ ।
१२. ‘नियति’ कथामा एउटा विवेकशील युवक र अन्धा बृद्धको वीचको संवादद्वारा चेतनशील युवाहरूले धेरै काम गर्नु पर्ने बाँकी रहेका कुरा गरी प्रकृतिले नै ठगेर अन्धो बन्नु पर्ने बाध्यता लिएका बृद्धहरूले आफ्नो नियति आफैं भोग्ने भाग्यवादी विचार व्यक्त छ ।
१३. ‘अफ द रेकर्ड’ अंग्रेजी शीर्षक दिएर लेखिएको यस कथामा शोषित पीडित किसानको एकल संवादद्वारा प्रस्तुत गरी मालपोतका कर्मचारीलाई प्रतिनिधि बनाई घुस्याहा कर्मचारी वर्गको घुस खाने प्रवृत्तिको संस्कृति, व्यापारी, नेता राजनीति कर्ता, तस्कर र राजस्व छल्ने जस्ता प्रवृत्तिगत संस्कृति लिएका व्यक्ति र समूहप्रति व्यङ्ग्य समेत गरिएको छ ।
१४. ‘परिवर्तन’ कथामा समाजमा झ्याङ्गिएर आएका जातीय विस्तारवादी संस्कारको परिवर्तन गर्न गङ्गाधर र उनका छोरा दयासागर जस्ता गाउँका शिक्षित र पण्डित वर्गकै अहम भूमिका हुनु आवश्यक छ । सामाजिक, सांस्कृतिक रूपान्तरणमा धर्मदास कामीको संकीर्ण विचारलाई दयासागरले गरेको प्रतिवादबाट स्पष्ट हुन्छ र जातीय अविभेदकारी संस्कृतिको विकास गराउनु पर्ने अपरिहार्यताको सन्देश पनि प्रवाह गर्न सक्षम रहेको छ ।
१५. ‘प्रेम दिवस’ कथामा जातीय संस्कृतिका रूपमा रहेको दहेज प्रथाको विकृत मानसिकता र सांस्कृतिक रूप लिएको समाज प्रति व्यङ्ग्य गर्ने र पाश्चात्य संस्कृतिमा विकसित हुँदै आएको ‘प्रेम दिवस’ जस्तो संस्कृतिको क्रमशः नेपालमा पनि प्रवेश पाउन थालेको नयाँ संस्कृतिले विकास हुने मौका पाउन थालेको संकेतात्मक सूचना पाइन्छ ।
१६. ‘एउटा क्रान्ति’को सामाजिक समस्याका रूपमा रहेको दशेज प्रथा हो । यस प्रकारका कुसंस्कारलाई समाजबाट विस्थापित गराउनु पर्ने र नयाँ प्रेममय दाम्पत्य जीवनको स्थापना गराउनु पर्ने आशय त्यस गाउँका प्रौढ र गाउँलेहरू एवम् राममाया, शकुन्तला आदि युवाद्वारा देखाइएको ऐक्यबद्ध भावनाद्वारा एउटा नयाँ क्रान्तिले सफलता पाएको छ र दहेजका पक्षपाती संस्कृतिका संवाहक धनिरामको समाजलाई व्यङ्ग्य गरी लज्जित र निस्सहाय पनि बनाइएको पाइन्छ ।
१७. ‘भविष्य’ कथाका ३ पात्र बूढाबूढी र नाति रहेका छन् । यसकथामा राणाकालीन अन्धकार, सिंहदरवार धाउनेहरू, रातीकालो वर्को ओढ्नेहरूका, कारण देश नै अन्धकारमय बनिरहेको छ र यी वर्गहरू उज्यालो अर्थात् चेतनशील जनताको समाजदेखि डराउँछन् र उज्यालो वाल्न दिंदैनन् त्यसकारण भविष्य निर्माण गर्नुपर्ने दायित्व लिएको नाति अर्थात् तेस्रो पुस्ताले हजुरबाको आश्रयमा लुटुक्क निदाउनु नहुने उनीहरूले आफ्नो भविष्य निर्माण र नयाँ आधुनिक चेतनशील संस्कृतिको विकास गराउनु पर्ने व्यञ्जना दिइएको छ ।
१८. ‘जीवन हारेपछि’ शीर्षकको कथा सामाजिक समस्या लिएको कथा हो । यस कथामा बयोबृद्ध बाबु आमा धनराज र धनलक्ष्मीका निम्ति आफ्ना सन्तानहरूको न्यानो सहयोग पाउन नसक्नुको कारक तत्वका रूपमा आफ्नै देशमा रोजगारीको अवसरको व्यवस्था नभएकोले आर्थिक उपलब्धिका निम्ति युवाहरूले विदेश पलायन हुनपर्ने संस्कृतिको विकास भएको र बूढाबूढीहरू सन्तानहीन जस्ता भएर उनीहरूको अशक्त अवस्था गुजार्नु पर्ने नयाँ संस्कृतिको विकास भइरहेको यथार्थ प्रस्तुत छ ।
१९. ‘एउटा विहे, पैशाच’ कथा पूर्वेली नेपाली सांस्कृतिक पक्षको ज्वलन्त नमुनाका रूपमा उपस्थित रहेको छ । असार महिनाको रोपाइँ गर्दाको उत्साहजनक रमाइलो, रोपारे, हली र खेत धनीका विचको हँसिमजाक पूर्ण वातावरण, जिम्दारहरूले बाजा बजाएर बेठी लाउने परम्परा, केटी फकाउनलाई उसका मिल्ने साथीका माध्यमबाट प्रेम सन्देश सञ्चार गराउने कुटिनी प्रवृत्ति, मनोरञ्जनका निम्ति युवा युवतीहरू मिलेर मेला (लाखेनाच) हेर्न जाने र रमाइलो मनाउने परम्परा, फकाउँदा नमानेमा एकान्तमा पारेर वा साथीभाइको समेत सहयोग लिएर केटी घिस्याएर भएपनि श्रीमती बनाउने परम्परा, समाजको होचो अर्गेलीलाई जिम्दार र गाउँले बुज्रुकहरू बसेर छलफल गरी निर्णय गर्ने परम्परा, जातीयताका उचनीचका कारण प्रेम गरेर पनि वैवाहिक एक सूत्रतामा बाँधिन सङ्कोच मान्ने प्रवृत्ति, केटीका माइतीको शिर उठाउन रक्सी राखेर आफूले गरेका गल्ती स्वीकार गरी माफी माग्ने संस्कारयुक्त पहाडी जीवन विम्वहरू र सांस्कृतिक परम्पराहरूको विम्वात्मक टिपोटका रूपमा यो कथा रहेको पाइन्छ ।
यसरी ‘कान्छो साकी’ कथा सङ्ग्रह भित्र रहेका १९ वटा कथाहरूमा नेपाली समाज, त्यस भित्रको सुख, दुःख, पीडा, द्वन्द्व र सामाजिक पक्ष, विपक्षका प्रशस्त विम्वहरू र परिधीय रूपमा रहेर पनि सांस्कृतिक पक्षको एल्वमका रूपमा सङ्ग्रहित रहेको सामाजिक यथार्थवादी कथा मान्नु पर्ने हुन्छ ।
यी कथाहरू रोचक बन्न सक्नुमा जीवनको एकदम नजिक रहनु र सरल भाषिक संयोजन एवं मानवीय संवेदनशीलतालाई च्याप्प पक्रिन सक्नु नै रहेको पाइन्छ । जस्तो सुकै विषय पक्रिएर पनि त्यसलाई रोचक बनाएर पाठकले अनुभूत गरेको तर भन्न नसकेको यथार्थलाई र पाठकको मनोविज्ञानलाई कथामा प्रस्तुति गर्नु नै रहेको सारतत्वका कारण कथाकारले प्रथम सङ्ग्रहबाटै यति राम्रो सफलता पाएका हुन् भन्न सकिन्छ ।
अन्त्यमा ः
कान्छो सार्की ११२+६ पेजको कृति साझा प्रकाशनबाट २०६८ सालको अन्त्यतिर ११००्रकाशित भएको हो । यस सङ्ग्रहमा १९ वटा कथाहरू सङ्कलित रहेका छन् । मूल्य रु. १७५ रहेको छ । कथा संरचना शिल्पको र संवेदनशील अभिव्यक्तिका कारण कथा पठनीय रहेको पाइन्छ । त्यस्तै गौरा प्रसाईंको ‘मेरो जीवनका पानाहरू’ पनि रहेको छ । मूल्य रु १८५÷– र पृष्ठ १२० रहेको ‘मेरो जीवनका पानाहरू’ पारदर्शी आत्मसंस्करण र लेखकीय इमान्दारीताका कारणले प्रशिद्दितर्फ उन्मुख देखिन्छ । कान्छो सार्कीको ११०० प्रति दुई महिना भित्रै उपलब्ध हुन नसक्नु चाहिं कथाको संरचना र संवेदनशील मानव हृदय रहेको मान्न सकिन्छ ।