18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अरिबहादुरको आँखा

कविता मनोज बोगटी November 18, 2012, 5:18 am

होटलबाहिर

बारुदको हावा चल्दैछ।

हिंसा हो कि गिद्ध हो

बसेको छ

बुद्धको काखमा।

लाशको गन्ध बोक्ने हावाले बोकेको छ हर्कमान नेपालीको घर ठेगाना

टायरको धुँवाले बोकेको छ चेम्जोङनी बोजुको बाह्रमुखे थैली

जहॉंबाट टाउको निकालेर हेर्दैछ देशले

को छोडियो

को हिँड्यो।

रक्ताम्मे अक्षर उठ्न खोज्छ चप्पलमुनीबाट।

लोडसेडिङको इलेक्ट्रिक शकले मरेको बिजुलीको तारतार हुँदै भाग्छन्

केही पहाड।

टाउको लुकाउने सगरमाथा कहॉं छ?

जङ्गबहादुरको आँखाबाट तप्प खस्छ

एउटा धमिलो राष्ट्रगीत।

जसको शीरमाथि उभिएर बन्दुकको नोक तल्तिर तेर्साउँछ गाउँको उखानले

र हॉंस्छ नबुझेर आफ्नै नामको गाउँ खाने कथा।

तरै पनि किन बिहानै मलाई हेरेर हॉंस्यो

यो काठमाण्डौ?

अरिबहादुरको आँखाले आज यसरी सोध्यो मलाई।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।