परिचय
भूपेन्द्रशर्मा (भू ष भ गण्डर्षि) भट्टराईसँगको मेरो चिनजान २०५६ सालको लक्ष्मीजयन्तीको सुअवसरमा नै भएको थियो । जसको फलस्वरूप मेरो साहित्यिकयात्रा सुसुप्त अवस्थाबाट एउटा ज्वालामुखी बनेर प्रस्फूटन भयो भन्न करै लाग्छ । स्रष्टा थरिथरिका हुन्छन् । कसैले समाजमा परिवर्तन ल्याउँछन् कसैले स्रष्टा जन्माउँछन् भने कसैले संस्था जन्माउँछन् । भूपेन्द्र शर्मा भट्टराई संस्था र स्रष्टा जन्माउने साहित्यकार हुनुहुन्छ भन्न मन लाग्दछ मलाई । किनकी उहाँ जहाँ जानुहुन्छ त्यहाँ एउटा साहित्यिक संस्थाको निर्माण गर्नुहुन्छ र त्यो संस्थाका पदाधिकारीहरूलाई जिम्मा लगाएर हिड्नुहुन्छ । मसँग पनि त्यही घटना घट्यो । २०५६ सालको लक्ष्मीजयन्तीमा कावासोती गा.वि.स. वार्ड नं १ का विद्यार्थीहरू खास गरेर भूपेन्द्र शर्मा लामिछाने, ओम रिजाल, मोहन रेग्मी, जगत रिजाल, भेषराज रिजाल, इन्दिरा रिजाल आदिले लक्ष्मीजयन्ती मनाउने कार्यक्रम राखेको र मलाई सोकार्यक्रमको सभापति बनाइएको थियो। गण्डर्षिज्यूले तत्काल मेरो अध्यक्षतामा लक्ष्मीस्मृति साहित्य समाजको स्थापना गरेर सोकामको जिम्मा मलाई सौपनु भयो, जसको कारण आज म नोपाली साहित्यमा तीब्रगतिमा अघि बढी रहेको छु ।
अब प्रशङ्ग बदलौ, कावासोती ५ निवासी गण्डर्षिजी पत्रकार, कवि, समालोचक, गजलकार हुनु हुन्छ । उहाँले साहित्यिक र पत्रकारिता क्षेत्रमा आफूलाई समर्पित गरेवापत थुप्रै सम्मानहरू प्राप्त गर्नु भएको छ जस्तै पत्रकार महासंघ नवलपरासीबाट २०५८, कालिका एफ.एम. प्रा.लि.बाट २०६६ आदि विभिन्न संघ संस्थाबाट । उहाँको सम्लग्नता नेपाल पत्रकार महासंघ नवलपरासी शाखा, नवलपरासी साहित्य परिषद, सामुदायिक सचेतना तथा सञ्चार प्रतिष्ठान, सामुदायिक रेडियो मध्यविन्दु एफ. एम. १०१ मेगाहर्ज कावासोती, नवलपरासी अदि विविध साहित्यिक संघसंस्थाहरूमा देखिन्छ । देवचुली मासिक र परासी टाइम्स साप्ताहिकको प्रधान सम्पादक पनि हुनुहुन्छ ।
कृति प्रकाशन
शिबस्तीदेखि शिबस्तीसम्म (कवितासङ्ग्रह–२०४५), केही स्रष्टा र केही दृष्टि (समालोचनासङ्ग्रह–२०४७), रित्तो गिलास र अनारका आँखाहरू (कवितासङ्ग्रह–२०५९), करुवाको पानी (गजल–गोजिकासङ्ग्रह–२०६१), नवलपरासीका साहित्यिक व्याक्ति र कृति (समालोचना–२०६२) र गण्डर्षिका कविताहरू (कवितासङ्ग्रह–२०६७),
कृतिको संरचना
यो कवितासङ्ग्रह ७३(६५±८) पृष्ठको छ । प्रकाशक एवम् सङ्कलक नारायणी भट्टराई हुनुहुन्छ । यो सङ्ग्रह ४७वटा पुष्पगुच्छाले शृङ्गारिएको छ । सन् १९८५ देखि सन् २०१०सम्म रचित पत्र–पत्रिका, स्मारिकाहरूमा प्रकाशित तथा एफ. एम. रेडियोहरूबाट प्रसारित रचनाहरूको सङ्गालोको रूप हो । यो कवितासङ्ग्रह कविता ,गजल, बन्दना र गीतको २०४३ मंसीर २१ गतेदेखि २०६७ सालसम्मको एकीकृतरूप हो । कविताको बाहुल्यता छ भने गजलले दोस्रोस्थान लिन सफल देखिन्छ ।
कवि गण्डर्षि विभिन्न साहित्यकारको नजरमा
साहित्यकार गण्डर्षिजीको बारेमा बिभिन्न साहित्यकारले पोखेका अभिव्यक्तिलाई केलाएर हेर्ने अनुमति चाहान्छु –
डा. टंकप्रसाद न्यौपाने लेख्नु हुन्छ – 'काव्य सृजना प्रेरणा र प्रकाशनमा अरुलाई उत्प्रेरणा दिई काव्यिक वातावरण निर्माणमा जुटिरहने गण्डर्षि समसामयिक कविता धाराका प्रयोगधर्मी अस्मितावादी कविहुन्।'
नवलपरासी साहित्य परिषदका अध्यक्ष विष्णु लामिछाने लेख्नु हुन्छ – 'साहित्यकार भू. श.भ. गण्डर्षि जिल्लामा साहित्य कर्मी र पत्रकारहरूका गुरू हुनुहुन्छ ।'
शंकर बश्यालको नजरमा –
'गण्डर्षिका रचनाहरूमा नवीन प्रयोग धर्मी, अस्मितावादी, उत्तर आधुनिकतावादी सिधान्त देखापर्दछ ।'
गोविन्दराज विनोदी लेख्नु हुन्छ –'कवि समालोचक भूपेन्द्र गण्डर्षि प्रयोगवादी अस्मितावादी कवि र प्रभावबादी समालोचक हुन् ।
'भगवती अर्याल पाण्डेको धारणामा –
'२०३१–२०४५को साहित्यिक युग प्रथम चरण हो । कवि भूपेन्द्र गण्डर्षिको कवितासङ्ग्रह शिवबस्तिदेखि शिवबस्तिसम्म (२०४५)यसै चरणमा प्रकाशित उत्कृष्ट कृति हो।'
टंकप्रसाद काफ्ले 'सरोज उजाड' लेख्नु हुन्छ –
'नवलपरासी जिल्लामा औपचारिक रूपमा साहित्यिक गतिविधिको थालनीकर्ता भूपेन्द्र शर्मा प्रयोगशीलतामा अस्मितावादको अस्तित्व स्थापित गर्न रूचाउने कवि हुन् । सम–सामायिक बिषयबस्तुहरूलाई यथेष्ट बिम्ब प्रतिकहरूको प्रयोगद्वारा कविताको आकार निर्माण गर्ने कवि गण्डर्षि सम्पूर्ण नवलपरासेली साहित्यको प्रेणाका स्रोत हुन् ।'
प्रकाशक नारायणी भट्टराई लेख्नु हुन्छ –
'उपर्युक्त समालोचनात्मक अभिव्याक्तिले गण्डर्षिको परिचय दिई सकेको छ ।'
कृतिभित्र पस्दा
माथी विवेचित अभिव्यक्तिबाटै हामीले गण्डर्षिको व्याक्तित्व र कृतित्वको बारेमा केहीहदसम्म जानकारी प्राप्तगर्न सकेका छौं । गण्डर्षि एक प्रयोगशीलवादी र अस्मितावादी साहित्यकार हुनुहुन्छ । स्वयं यस लेखका पङ्तिकारको माथिको अभिव्यक्तिले पनि के प्रष्ट पार्दछ भने गण्डर्षि एक संस्था जन्माउने र स्रष्टा जन्माउने साहित्यकार हुनुहुन्छ । बास्तवमा कृतिप्रकाशन भन्दा पनि नवलपरासीलाई साहित्यमय बनाउने गण्डर्षिको यस कवितासङ्ग्रहमा विविध भावनाको थपाईले समय र साहित्यको महिमालाई जोड्ने प्रयास गर्नु भएको छ । उहाको भनाइ छ –'भानुभक्तीय पकड, मोतीराम जस्तै चिन्तनशील, लेखनाथीय परिष्कृति, देवकेटीय स्वच्छन्द र स्वस्फूर्तता टिप्नुपर्छ र उन्नु पर्छ ।' गण्डर्षि साहित्यमा नया प्रयोग त्यसमा पनि अस्मिता स्वत्यको प्रयोग चाहानु हुन्छ ।
प्रवृति, प्रकृति र प्राकृतिक, शान्ति र सहमतिमा कविको चिन्तन
यस कवितासङ्ग्रहमा गण्डर्षिले कविता र गजल मार्फत आजका मानिसको प्रवृति, प्रकृतिले गर्दा प्राकृतिक संरचनामा पारेको नकरात्म प्रभावलाई केलाउने प्रयास गर्नु भएको छ । आज प्रवृति, प्रकृति, र प्राकृतिकमा देखिएको ह्रास नै चिन्ताको विषय भएको छ । राजनीतिक, सामाजिक र आर्थिक पक्ष पनि त स्वार्थमा लम्केको छ । यी सबै चिजको कारणले गर्दा आज देशमा शान्तिमा अवरोध आएको छ भष्ट«चार बढेको छ । शान्तिको अभावको कारणले गर्दा देशको विकास रोकिएको छ । चाहे ओम् शान्ति, चाहे रंग, चाहे एकादेशलाई, चाहे लडाइँमा जनता, चाहे युवा राष्ट्रको आत्मा शीर्षकका कविताहरू पढौं कविको धारणा शान्तिको भावनामा सलल बगेको छ।
शान्तिको कुरामा कविको धारणा छ– 'रावणी वृत्तिले पाइरहेछ सलाम । आज देशमा राजनीतिक अस्थिरता छ । शान्ती र सहमतीय नाराले भाषणमा तीब्रता पाएको छ भने व्यवहारमा कुर्सी हत्याउनेले त्यसैको लागि मरिमेटी लागेका छन् जनताको रामराज्यको कल्पनामा रावणीय प्रवृत्ति मौलाइ रहेको छ । कसैले तपाइँ भन्दैन आज सबैले चाहिरहेका छन् मपाइँ र म नै बन्ने प्रवृतिले देशमा अशान्ति मौलाउँदै छ । देशमा विदेशी हस्तक्षेप बढ्दै छ सुस्ता र कालापानी लुटिदै छन् । कल्पबृक्षले भरिएको बुद्धत्वले छाएको देशमा सीता, भृकुटी, अरनिको भानुभक्तले रोपेको कल्पबृक्ष जनताले ल्याएको गणतन्त्र सहमति सिद्ध गर्नु नसक्नुकै कारण आज धरापमा पर्दै छ । देशमा द्वन्द्व बढदैछ हेर्यौ् कविताका एक दुई पंक्तिहरू–
'रावणी प्रबृत्तिले पाइरहेछ सलाम
सर्पले भ्याकुता निले झै
मेरी सुस्ता र सर्लक्क निल्दैछ।'
ओम शान्ति(पृष्ठ ३)
'प्रजातन्त्र–लोकतन्त्र–गणतन्त्र
यो पनि सिद्ध भयो
तर सिद्ध भएन सहमति ।'
कल्पबृक्ष (पृष्ठ ६)
'साल भन्दा राम्रा दार
हराउँदै छ– ओखरबोट
भेटिदैन –हाडे उन्यो
कटुस – रगत बनेर बग्दैछ माटोमा
माटो अलकत्रा र सिमेन्टले पुर्दैछ
आजकलमेरा पालामा'
गुरूकुल पृष्ठ ९
प्राकृतिक सम्पदाको ह्रास बढ्दैछ जनतामा जनताले परिवर्तनबाट जनताको आर्थिक समाजिक क्षेत्रमा केही परिवर्तनको महसुस गर्न सकेका छैनन्,। सहिदको सपना आज पूराहुन सकेको छैन। कोही देशको लागि क्रान्ति गरे कसैले पेटको लागि क्रान्ति गरे अनि क्रान्ति सफल भयो तर जनताको जीवनमा भने कुनै परिवर्तन आएको छैन ।
'उसले क्रान्तिगरेको छ –देशका लागि
भेडीठिस क्रान्ति गरेको छ –पेटको लागि
उसको जीवन उस्तै छ –अहिले पनि
परिवर्तन भएको छैन –अहिले पनि'
भेडहर मुसहर (पृष्ठ ११)
सहमतिमा खेलौं – शान्तिको रंग
रंगभित्र खोजौं –शान्तिको उमंग
रंग (पृष्ठ १३)
शान्ति खोजेरमात्र कहाँ पाइएन्छ र यहाँ त क्रान्तिको मार्ग अझै शान्तिमा परिणत हुन सकेको छैन । नेपाली नेपाली लडेर जित्ने कसलाई अनि हार्ने को। देशको द्वन्द्व सकियो भनेर के गर्नु ?
सडक अहिले पनि
जलिरहेछ – रगतको आगोमा
बगिरहेछ क्रान्तिको आगोमा
ज्यूँदाहरूको लास (पृष्ठ१९)
राष्ट्रियतामा कवि
राष्ट्रियताप्रति, देशप्रेमप्रति कविको धारण अति प्रष्ट छ। यस कवितासङ्ग्रहमा कविले देशलाई देवलोक भन्दा पनि सुन्दर ठान्नुहुन्छ, युवाहरू देश निर्माणमा जुट्नु पर्दछ र मात्र देशको निर्माण हुन्छ भन्नुहुन्छ। राष्ट्रियता प्रति पोखिएका केही उद्गारहरू–
नेपाल राष्ट्र अहिले सुरलोक भन्दा।
देखिन्छ उज्ज्वल अझै सबदेव गन्दा ।।१।।
स्वधार्मिक नेपाल ( पृष्ठ ५४)
यो राष्ट्र खास तर युवा सब जुट्नु पर्छ ।
विश्वास घात नगरे तव राष्ट्र बन्छ ।।६।।
स्वधार्मिक नेपाल ( पृष्ठ ५४)
दिवाका मात्र हुन् भानु र निशामा ती हराउँछन् ।
साँचो काव्य कवि युवा अहोरात्र र उदाउँछन् ।।७।।
युवा राष्ट्रको आत्मा (पृष्ठ५७)
गजलतर्फ
यस कवितासङ्ग्रहमा १४ वटा गजल पनि समावेश गरिएका छन् । गजलहरू उच्चकोटीका छन् । गजलमा प्रेमप्रणयको स्थान प्रथम भए पनि राधा नाम जप्दै, ईश्वर, बम भोले भन्दै, काले धार्मिक सभा् वना बोकेका गजलहरू पर्दछन् । यिनमा भगवानको आराधाना भगवानको लीलालाई प्रष्ट्याउने कोशिश गरिएको छ । सम्झनामा भानु, भन्ने गजलले आदिकवि भानुभक्तको स्मरण गरिएको छ । गजल लयबद्ध र गायन योग्य छन्।
बन्दना र गीत
लयात्मकरूपमा लेखिएका बँदनाहरुमा गणपति, सिद्धेश्वर, विन्ध्यवासी, लक्ष्मी, कृष्णको साथै सूर्यको बँदना गरिएको छ र सुख शान्तिको कामना गरिएको छ। गीतमा सालीलाई सँगै बस्ने सँगै बाच्ने धारणा राखिएको र रूपको बर्ण गरिएको छ ।
भाषा शैली
भाषा सरल छ । कवितासङ्ग्रह विविधताले भरिएको छ । उखान, बिम्ब र प्रतिकको प्रयोग पनि राम्रोसँग भएको पाइन्छ । भावपूर्ण अभिव्याक्तिले कृतिलाई ओजनदार बनाएको छ।
निस्कर्ष
माथी नै भनिएको छ कि गण्डर्षि एक प्रयोगशीलवादी र अस्मितावादी साहित्यकार हुनुहुन्छ। उहाँको यस कविता सङ्ग्रहमा पनि हामिले यस्तो छनक पाउन सक्दछौं । यस कवितामा हामीले सहमति, विकृति विसङ्गति, छाडापन, गरिबको पसिना, शहीदहरूको सपना, क्रान्तिको नाममा जिउँदालासहरूको रगत बग्नु, द्वन्द्वकोमार, दूराचार, पापचार, दमन भगवानको स्तुती, प्रेमप्रणय आदि विविधतालाई समाएर अघिबढेको छ कृति । यी कविताहरू, गजलहरू, गीत र बन्दनाहरू जीवनवोधी, यथार्थवोधी, विसङ्गति वोधी कोसाथै पठनीय र अनुकरणीय छन् । यस्ता साहित्यकारलाई जीवनको हरेक क्षण सुखमय होस् र सफलता मिलोस् भन्दै बिदा चाहान्छु ।