देवी माता, हजुरको सेवकको यत्ति विन्ती सुनिदिनुपर्यो, बुझिदिनुपर्यो । मेरो आफ्नो नाम राख्ने रामकहानी सुनिदिनुपर्यो । सर्वदा कृपा गरी इहलोक र परलोक सपारिदिनु पर्यो । मप्रति गिद्धेदृष्टि लगाउनेका आँखा निकाली दिनुपर्यो । म मुखमा रामनाम जपेर बगलीमा छुरा राखी नेपाली जगत्को भलो गर्ने सेवकरामको रामकहानी बुझेर कृपा गर्दिनुपर्यो ।
समय अघि जाँदै छ । म पनि अघि नै गएँ भने मेरो मौलिकता कहाँ बच्छ र ? समय पूर्व लागेमा मैले पश्चिम लाग्नुपर्छ । दक्षिण लागे उत्तर फर्कनुपर्छ । समयले उन्नति गर्यो भने अवनति तर्फ मैले धकेलिनुपर्छ । स्वाभिमानको पाठ पढ भनेको सुनेमा अहङ्कारको माला नजपी मन अडिन्न । कसैले सम्झ भनेमा बिर्सनुपर्छ । बस् भने उठ्नुपर्छ । चुप् भनेमा बोल्नुपर्छ । जसले जे भन्छ, भनोस् मैले एक थरी सुन्नुपर्छ र अर्कै थरी गर्नुपर्छ । मेरो परिचय यसरी नै बन्दछ ।
जनता भन्छन्– देश बचाऊ तर मैले देश बेच्ने काम गर्नुपर्छ । नेपाल आमा रुन्छिन्, मलाई हाँस्ने मन हुन्छ । ठूलो राजनीतिज्ञ गुरु सम्झेर विद्यार्थी भन्छन्– ज्ञान दिनुस् । हाम्रो देश दिनुस् । म अहङ्कार दिन्छु । सबै काम गर्छु भन्ने आश्वासनका भरमा म भोट पाउँछु । त्यस भोटले नै म आफ्नो हित गर्छु । मलाई देशको नेता भनून् या नभनून् तर म मेरो प्रिय परिवारजनको नेता भने अवश्य हुँ । कारण के भने मैले नै छोरा नातिका लागि सात जुनीसम्म पुग्ने धन थुपारिदिएको छु । जता जानुपर्ने हो, म जान्नँ । सबैको सोचअनुसार काम गरेँ भने मेरो नाम नै बदनाम हुन्छ । म मौलिकता गुमाउँछु । मेरो आफ्नो भन्ने चिजै रहँदैन । सत्य काम गर्दा अर्को चोटि सत्यताको वकालत गर्न पाइन्न । असत्य काम गरेपछि भने नाम पनि रहँन्छ । त्यो भन्दा बढी दाम कमाइन्छ । जीवन भनेको नाम र दामका लागि हो । कसैले कामका लागि हो भन्छन् भने त्यो मेरो बदनाम हो । अहिले सुकाम गरे अर्को चुनावमा मैले जित्नुको औचित्य हुन्न । सुकाम गर्नेले अर्को पटक के गर्ने ? सत्यताको माला जपेर पेट भरिएको इतिहास नै छैन । कुकाम गरे पो सुकाम गर्ने ठाउँ रहन्छ । यो नै सर्वसिद्ध तथ्य हो । २७ वर्षसम्म कठोर जेल जीवन भोगेका दक्षिण अफ्रिकाका जननेता नेल्सन मन्डेलाले पहिलो निर्वाचित राष्ट्रपति बनेर सुकाम गरी देश र जनतालाई स्वतन्त्र र अधिकार सम्पन्न बनाए । अनि अर्को चुनाव जित्नुपर्ने आवश्यकता नै देखेनन् । अरूले नै सुकाम गरून् भनेर त्यागको बाटो अबलम्बन गरे । म त्यस्तो नेता होइन । आफूलाई मारेर अरूलाई जगाउन कहाँ सकिन्छ र माते । म त नेता हुनकै लागि जन्मेको हुँ । नेतागिरी गर्दागर्दै प्राण जाओस् भन्दछु । सुकाम गरेर म मेरो राजनीतिलाई दाउमा हाल्न चाहन्न । समाजले देखाएको सुकामको बाटोमा हिँडेँ कि मेरो पतनको खाल्टो तयार हुन्छ । सूर्य पूर्वमै उदाओस्, म पश्चिमबाटै उदाउँछु । मौलिकता बचाएँ भने म भोलि बाँच्छु नत्र मेरो राजनैतिक अस्तित्व धरापमा हुनेछ । जानिजानी म नीति बदल्न सक्दिनँ ।
अरूले ॐ गणेशाय नमः बाट पुनित कार्य सुरु भएको सुनेको, देखेको र भोगेको छु । मलाई यसो गर्न मन पर्दैन । ॐ गणेशाय नमः भन्दा मुखमा माड लाग्दैन । सुल्टो पाटोबाट पूजापाठ गर्दा सुल्टै फल प्राप्त हुन्छ । त्यस्तो फल प्राप्त गर्ने भुल मबाट नहोस् भन्ने कुरामा म सधैँ हेक्का राख्छु । हुन त मैले कसैको करेसाबारी बनाउने ठेक्का लिएको छैन । लुकाएर केही बोलेँ नै भने भोट माग्न नोट हातमा लिएर जनताका अगाडि केही झुट भने बोलेँ हुँला । ठूलो बिटो नोट देखाएर भोट किन्न सानो बिटोमात्रै खर्च गरेको चाहिँ साँचो हो । सत्य भन्न मलाई कुनै लाज छैन किनभने मैले पैतालादेखि शिरसम्म ढाक्ने गरी बस्त्र लगाएकै छु । जनताको नुन खाएअनुरूप उद्घाटन, भाषण आदिमा भाग लिएकै छु । कसैले बोलाए पनि नबोलाए पनि जनताको नेतृत्व गर्दै विदेश सयरमा निस्केकै छु । देश र जनताको नाम भुले पनि आफ्नो नाम अरूकहाँ फिँजाउने काम गरेकै छु । यहाँभन्दा बढ्ता काम गर्ने इच्छा मलाई छैन ।
अतः देवी माता, म मन्त्र जप गर्दै हजुरको पूजापाठ गर्दछु । मलाई पैसो हात पार्दिनुस् । मेरा सन्तान दरसन्तानले सात जुनीसम्म द्रव्यको अभाव भोग्नु नपरोस् । अढाई कोटी रोए पनि मेरा सन्तती भने अट्ठाहासको हाँसो हाँसून् ।
ॐ गणेशाय नमः त्याग्छु । तपाईंको शिरमा आफ्नो पाउ राखी भन्दछु ।
ॐ विपरीय नमः । म सेवकराम ललादन्न अरूले देख्दै नदेखेको, सुन्दै नसुनेको बाटो हिँड्न पाऊँ । अरूले चिताउँदै नचिताएको, बोल्दै नबोलेको भाषा बोल्न पाऊँ । जे बोल्छु, त्यो नगरूँ, जे बोल्दिनँ त्यो गरूँ । हजुरसँग भने सत्य बक्छु । पैसो कमाउन सकूँ । अरूलाई पराजयको फल दिनुस्, त्यसैमा मेरो विजय लुकेको हुन्छ । अर्को पटक म नेप्टे, चेप्टे, थेप्चे, काले, घैटे, कैँटे, मुडुली, गुडुली, फुडुलीजस्ता नाना थरीका नामधारी खसी भने खसी, राँगा भने राँगा चढाउनेछु । अहिले भने उधारो फल दिनुस् । देवी माता, यो सेवकरामको पक्का वचन भयो । लौ त, देवी माता, विदा पाऊँ । ॐ विपरीताय नमः ! ॐ विपरीताय नमः !! ॐ विपरीताय नमः !!!
तपेश्वरी–१, गल्फडिया, उदयपुर