दुःख र शोक थियो
र त तिम्रो जन्म भयो
बुढ्यौली र मृत्यु थियो
र त तिम्रो जन्म भयो
भन त सिद्धार्थ
के तिमी यस्तै समयमा
जन्मने होइन र ?
यदि हो भने
के तिमीले देखेनौ मलाइ
र मेरो वास्तविकतालार्इ ?
बर्तमान जहाँ-
हजारौं साना ठूला अंगुलिमालहरु
सिंहासनमा विराजमान छन्
र मेरै छातिको डवलीमा
ताण्डव नृत्य गर्दै मस्तिमा छन्
र त हामी
दुःख र पीडा पन्छाउन गएकाहरु
मलेशियाहरुमा अङ्ग प्रत्यङ्ग चढाइरहेका छौं
खाडीमा सूर्यसंग मल्ल युद्ध लड्दालड्दै
कफन भित्र आफै ‘शान्त उपहार’ भएर आइरहेका छौं l
निस्तै ढिंडोसम्म दिने गरा र पाखाहरु समेत सवै
साहुको पोल्टामा परेको पनि धेरै भैसक्यो
दुःख छल्न भौतारिएका सन्तानहरुले
आमाबाबुको संङलो लास देख्न नपाएको पनि धेरैको भैसक्यो
कलिला लालाबालाहरु हुर्काउन पठाएको रेमिट्यान्सले
लट्ठ पारेर निमोठिएको पनि धेरैको भैसक्यो
हरेक वर्ष तिम्रो जन्म सम्झदै
आशा बिछ्याएको पनि धेरै भैसक्यो l
भन त सिद्धार्थ
तिमि आउने समय
अझै भएको छैन र ?
शायद तिमीले
आजका अंगुलिमालहरुका वास्तविकता
देखि सकेका छैनौं कि ?
या भ्रममा छौ-
फूलका मालाले सुशोभितहरु
ताली र स्वागतद्वारका सर्वाधिकार सम्पन्नहरु
हरेक भारी सभामा सम्मानित हुनेहरु
कसरी दुष्ट अंगुलिमाल हुन सक्छ, होइन र ?
भ्रमको भूमरी निर्माणका यी दक्ष कालिगढहरु
शिक्षित छन्
समय समयमा दिक्षित पारिएका पनि छन्
त्यसैले तिनीहरु तिम्रै शरणागत पनि छन् ।
एक पटक आफ्नै आँखा खोलेर त हेर, बुद्ध
कतै तिनै शरणागतहरुका
अगरबत्तिका धुवांले
छेकेको त छैन
या मोतिया विन्दुका जालो
बिछ्याएको त छैन ?
भन त सिद्धार्थ
मेरो वास्तविकता अझै देखेको छैन ?
तिमी आउने समय
अझै भएको छैन ?