18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

वासु शशीसम्बन्धी जीवन्त कृति

कृति/समीक्षा शिवप्रसाद भट्टराई August 26, 2012, 5:47 am

जयवागेश्वरी पुस्तकालय एवम् खासगरी नेपाली काव्यजगत् एवम् नाटकका पर्यायका रूपमा स्थापित वासु शशी आˆनो युगको एउटा विशिष्ट साहित्य-साधक मानिएका छन् । यिनै साहित्य-साधकको बहुआयामिक व्यक्तित्व, उनको साहित्य-सिर्जना र अन्य विविध पक्ष र सन्दर्भलाई केलाउँदै यस क्षेत्रमा उनको युगीन योगदानमाथि प्रकाश पार्ने काम 'स्रष्टाका दृष्टिमा वासु शशी' शीर्षकको यो कृतिले गरेको छ । जम्मा एकतीस जना स्रष्टाहरूले वासु शशीका विषयमा लेख्नुभएका सारगर्भित रचनाहरू यसमा सङ्गृहीत छन् ।

पुस्तकमा आवद्ध वासु शशीका सम्बन्धमा कृष्ण जोशीको प्रकाशकीय, प्रद्युम्न जोशीको सम्पादकीय एवम् कालीप्रसाद रिजालको मन्तव्यले नै शशीका विविध पक्षमा राम्रो प्रकाश पारेका छन् । यसपछिका सामग्रीमा प्रा.डा. कुमारबहादुर जोशीको 'साहित्यकार वासु शशीको सम्झनामा' शीर्षक लेखमा उनका विविध कार्यका कसीमा विभिन्न उदाहरणसहित उनलाई "सामाजिक-राजनीतिक चेतनाका धनी र मूलतः प्रेम र मानवताका गायक सशक्त आधुनिक गद्यकवि" का रूपमा चित्रित गरिएको छ । डा. केशवप्रसाद उपाध्यायको 'वासु शशीका नाटक' शीर्षकको लेखले उनको नाटक लेखनको पृष्ठभूमि र उनले लेखेका नाटकहरूका सम्बन्धमा समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै "उनी यथार्थवादी-मनोविश्लेषणवादी धाराका नाटककार हुन् तर उनी यथार्थको धरातलमा उभिएर आदर्शलाई अँगाल्न खोज्ने आर्ष भावना भएका चिन्तनशील स्रष्टा तथा द्रष्टा पनि हुन्" भन्दै उनको अनुपम नाट्य-सिर्जनशीलता र नवीन प्रस्तुतिका सम्बन्धमा समेत राम्रो प्रकाश पार्नसकेको पाइन्छ ।

पुस्तकमा सङ्गृहीत परशु प्रधानको 'वासु शशीलाई सम्भिmँदा', हरि अधिकारीको 'शशीको त्यो आदेशको पालना गरिरहेको छु', श्यामलको 'वासु शशी ः ओभरकोटमाथि मुस्कान', प्रकाश सायमीको 'बीसौं शताब्दीका गायक-वासुदाइ, शार्दुल भट्टराईको 'बिर्सेका कुरा', गोविन्द वर्तमानको 'स्मृतिदेशमा एउटा स्रष्टा', नरेन्द्रराज प्रसाइँको 'स्रष्टा र समाजसेवी वासु शशी', बुलु मुकारुङको 'आकाश खोज्दाखोज्दै सागर रोज्दारोज्दै टाढा हुने.... वासु शशीदाइसँग' शीर्षकका संस्मरणात्मक किसिमका लेखहरूले वासु शशीको स्वाभिमान, आनीबानी, जीवन व्यवहार आदि विविध पक्षलाई प्रकाशमा ल्याउने सार्थक प्रयास गरेका छन् ।

अन्य लेखहरूमा जयदेव भट्टराईको 'मृत्युभन्दा पनि पर पुग्नुभएको छ शशी', ज्ञानेन्द्र विवशको कविताहरूमा वासु शशी', विमल भौकाजीको 'वासु शशीको जीवनउन्मुख काव्यिक यात्रा', मोहन दुवालको 'मानवीय संवेदनाका साहित्यिक हस्ताक्षर ः वासु शशी', प्रद्युम्न जोशीको 'नेपाली साहित्याकाशका चम्किला तारा वासु शशी', प्रमोद प्रधानको 'नेपाली गद्यकवितामा वासु शशी', ध्रुव मधिकर्मीको 'मानवीय भावनाका विशिष्ट कवि वासु शशी', डा. गङ्गा पाठकको 'मानवीय भावनाको कुशल कालीगढ', गोपाल पराजुलीको 'कवि एवम् नाटककार वासु शशी' र कैलाश भण्डारीको 'अमर साहित्यकार वासु शशी' शीर्षकका लेखहरूले शशीको पत्रकार व्यक्तित्व, उनका विविध किसिमका साहित्यिक आयाम र अन्य कतिपय विशेषताहरूका पक्षमा मनग्गे प्रकाश पारेका छन् ।

वासु शशी गीत, चलचित्र र अनुवादको फाँटमा पनि सक्रिय हुनुहुन्थ्यो । उनका यिनै विविधि पक्षलाई आलोकित पार्ने किसिमका लेखहरू पनि पुस्तकमा सङ्ग्रहित छन् । यो पक्षमा गणेश रसिकको 'बीसौं शताब्दीको गीत', डा. कृष्णप्रसाद दाहालको 'सफल गीतकार वासु शशी', छत्र कार्कीको 'शशीको सिर्जना रसिकको सङ्गीत' शीर्षकका लेखहरूले समीचीन प्रकाश पारेका छन् ।

पुस्तकमा सङ्गृहीत ऋतुराज सुवेदीको 'बुद्धिजम इन ट्रयु लाइट', रमण घिमिरेको 'नियति ः बुद्ध र वासु शशी', मणि लोहनीको 'एउटा भिन्न परिचय र बुद्धगाथा' र रामेश्वर राउत मातृदासको 'वासु शशीभित्रका बुद्ध' शीर्षकका लेखहरूले शशीका सिर्जनशील व्यक्तित्वका बहुआयाम र सिर्जनाहरूमा पाइने दार्शनिक पक्षको विवेचना गरेका छन् । बद्री पालिखेको 'मैले प्राप्त गरेको वासु शशी पुरस्कार ः धरानका लागि उपहार' र युवराज नयाँघरेको 'वासु शशी र स्वतन्त्रताको गीत' शीर्षकका लेखहरू पनि पठनीय सामग्री बन्नसकेका छन् ।

समग्रमा हेर्दा यो कृति वासु शशीका अनेकौं किसिमका विशिष्टता र विशेषताका पक्षमा राम्रो प्रकाश पार्न सफल छ । यसले वासु शशी, उनका कार्य र योगदानहरूलाई भावी पुस्तासम्म जीवन्त राख्ने सत्प्रयास गरेको छ । यस्तो कृतिमा वासु शशीको सङ्क्षिप्तमै भए पनि जीवनी समावेश गरिदिएको भए निकै राम्रो हुन्थ्यो । जीवनी समावेश नभएको पाइनु सबै पाठकका लागि खट्किने विषय बन्न पुग्ने निर्विवाद छ । यो विषयमा 'सम्पादकीय' र कैलाश भण्डारीको लेखमा केही चर्चा गरिएको भए पनि त्यो अधुरो र अपूरो छ । यसतर्फ पुस्तकका सम्पादक तथा प्रकाशकले ध्यान पुर्‍याउन नसक्नु दुःखद पक्ष बनेको छ । यति हुँदाहुँदै पनि वासु शशीका बारेमा जानकारी लिन चाहने र उनका विविध कार्य र योगदानका सम्बन्धमा अध्ययन अनुसन्धान गर्न चाहनेहरूलाई यो कृतिले ठूलो सघाउ पुर्‍याउन सक्ने भएकोले यसलाई प्रकाशन गर्ने र प्रकाशन गर्न सहयोग पुर्‍याउनु हुने सबै नै स्वयम्मा साधुवादका पात्र बनेका छन् । साधुवाद !

कृति : स्रष्टाका दृष्टिमा वासु शशी

सम्पादक : प्रद्युम्न जोशी

प्रकाशक : वासु शशी स्मृति परिषद, काठमाडौँ

पृष्ठ सङ्ख्या : १०८+१८=१२६

मूल्य : रू.१५१।-

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।