18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल विद्याप्रसाद घिमिरे July 9, 2012, 3:49 pm

हिजोआज मीठो भेटघाट हुन थालेको छ

आपसमा मुटु साटासाट हुन थालेको छ ।

लाज बढेबढेजस्तो सङ्कोचको चिनाजानी

लजाएर भुइँ हेर्दै बात हुन थालेको छ ।

कहिले उनी यता हेर्छिन् आफू उनी भएतिर

कहिले भने हेराइ पनि साथ हुन थालेको छ ।

अब उनीसँगै घुम्ने उनीसितै निदाउने हो

बल्ल तारा छुने औकात हुन थालेको छ ।

प्रीतिभित्र पसी हेर्दा सास्ती पनि मस्ती पनि

पत्तै नपाई हाम्रो दिन–रात हुन थालेको छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।