18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘कर्नाली ब्लुज’ उपन्यासको सेरोफेरो

कृति/समीक्षा प्रा. डा. विष्णुप्रसाद पौडेल June 24, 2012, 4:47 pm
प्रा. डा. विष्णुप्रसाद पौडेल
प्रा. डा. विष्णुप्रसाद पौडेल

सार: यस लेखमा बुद्धि सागर चपाईको साहित्यिक लेखनलाई सामान्य सङ्केत गरी उनको २०६७ सालमा प्रकाशित र विज्ञापित उपन्यास ‘कर्नाली ब्लुज’ का बारेमा केही विस्तारमा चर्चा केन्द्रित गरिएको छ । यस क्रममा उपन्यासको रचनात्मकतालाई देखाउन यसको विषय वस्तु, पात्र, परिवेश र भाषालाई बढी नियालिएको छ । यो उपन्यास द्वन्द्व कालीन सन्त्रस्त समयको कर्नाली नदीको सेरोफेरोको जटिल परिवेशको विषयमा आधारित छ । यसमा तद्देशीय जीवन र समाजका सङ्कटहरूलाई आकर्षक रूपमा प्रस्तुत गर्ने प्रशस्त प्रयत्न देखिए पनि तिनमा अझै धेरै अभाव रहेको कुरा पनि यहाँ खुलस्त पारिएको छ ।

१. विषय प्रवेश

बुद्धि सागर चपाईं (२०३८) नेपाली साहित्यमा खास गरी २०६० को दशकमा देखिएका नव पुस्ताका एउटा आशा लाग्दा प्रतिभा हुन् । यिनले २०६० सालको कविता महोत्सवमा स्वर्ण पदक जितेपछि साहित्यिक चर्चामा तानिन थालेको देखिन्छ । ‘हज्जारौं पृथ्वी, हज्जारौं आकाश’ नामक यिनको कविता सङ्ग्रह प्रकाशित छ । त्यसपछि अर्काे पुस्तकाकारको कृति यही ‘कर्नाली ब्लुज’ नै हो । यो बुद्धि सागरको पहिलो उपन्यास हो । उपन्यास पहिलो भए पनि बुद्धि सागर लेखन कर्ममै अभ्यस्त हुँदै आएका छन् । अहिलेका दैनिक पत्र पत्रिकामा यिनले लेख्ने गरेका समसामयिक विषयका टिप्पणीमूलक लेखहरूले पनि यिनको सिर्जनशीलतालाई पोषण नै गरेका छन् । प्रस्तुत सन्दर्भ यिनको भरखरै प्रकाशित ‘कर्नाली ब्लुज’ (२०६७ भदौ) उपन्यासको पर्यवेक्षणमै सीमित रहेको छ ।

२.१ विषय विस्तार

२.१.१ उपन्यासको विषय वस्तु

प्रस्तुत उपन्यासको नाम ‘कर्नाली ब्लुज’ राखिए पनि यो कर्नाली अञ्चलको परिवेशमा मात्रै सीमित छैन । न त कर्नाली नदीको सेरोफेरो मात्रै सीमित छ । यसमा सुदुर पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चलका सन्दर्भहरू उनिएर आएका छन् । विशेषतः सेती अञ्चलको कैलाली जिल्ला र कर्नाली अञ्चलको कालीकोट जिल्लासँग यस उपन्यासको सम्बन्ध रहेको छ । हर्ष बहादुरको घर सुर्खेत भए पनि ऊ त्यो ठाउँ छाडी कैलालीको मटेरा र कटासेमा बस्दै आएको छ । मेडिकल राम्रोसँग चल्ने भनी हर्ष बहादुर मटेराबाट कटासे सरेको छ । त्यहाँ केही वर्ष उसको मेडिकल राम्रै चलेको पनि हो तर चिसापानीको पुल (कर्नाली पुल) बनेपछि कटासे बजार सुनसान हुन थाल्यो । व्यापारीहरू लाखापाखा लाग्न थाले र हर्ष बहादुर त्यसपछि हटेरु (ग्राहक) हरूको अनुकूल ठाउँ खोज्दै कालीकोटको सदरमुकाम मान्मा (खाँडचक्र) मा पुगेको छ । त्यहाँ सर्दा उसले आफ्नो पेशा पनि परिवर्तन गरेको छ । मेडिकल चलाउन आफ्नो शारीरिक अवस्थाले साथ नदिएको हुँदा उसले कपडा पसल खोलेको छ ।

प्रशस्त सामान राखेर चलाएको हुँदा उसको दोकान पनि राम्रै चलेको हो तर पछि माओवादी र सरकार पक्षको द्वन्द्व बढ्न थालेपछि कालीकोट मान्माको स्थिति जटिल बन्दै गयो । माओवादीले कालीकोट पस्ने सबैतिरका पुलहरू काट्ने, टेलिफोन टावर ध्वस्त पार्ने, डिएसपी मार्ने, सदरमुकाम हान्दैछ भन्ने हल्ला फिजाउने जस्ता कार्य गर्न थालेपछि हर्ष बहादुरको व्यापार अस्ताउँदै गयो । उधारो लगेकाहरू आउन छाडे । उमेर छिप्पिँदै जाँदा शारीरिक अवस्था यसै त शिथिल हुन्छ नै त्यसमाथि आफ्नो व्यवसाय पनि डुब्दै गएको देखेपछि हर्ष बहादुरलाई गहिरो मानसिक चिन्ता थपियो । श्रीमतीले कटासेबाट सुर्खेत सर्नेभन्दा नमानेको हर्ष बहादुरलाई पछुतो भयो । फलतः ऊ गम्भीर रोगी बन्यो र ढल्यो । बल्ल तल्ल श्रीमती र केही हितैषीको सहयोगले हेलिकप्टरबाट नेपालगन्ज र एम्बुलेन्सबाट कोहलपुर टिचिङ हस्पिटल पु¥याइयो । डाक्टरले किन ढलो ल्याएको भने । ब्रेन ह्यामरेजबाट ऊ ढलेको बुझियो । कट्टीभन्दा तलको हर नै नचल्ने स्थितिमा रह्यो । उपचारले ठिक होला भन्ने आश भए पनि मुख्य डाक्टर मोहमद लखनऊबाट आउनु पर्ने र भर्ना भएको नवाँै दिन मात्र डाक्टर आएर हेर्दा दशाँै दिन उपचार हुन नसक्ने निर्णयमा पुग्यो । अन्तिम इच्छा जे छ सोही अनुसार गर्नू भन्ने डाक्टरको सल्लाह पाएपछि हर्ष बहादुरको इच्छा अनुसार उसलाई आफ्ना आफन्तहरू भएकै पुरानो घर सुर्खेतमा गाडी लिएर जाँदा जाँदै बाटैमा उसको मृत्यु भयो ।

उपन्यासको कथासार यही नै हो तर यसलाई उपन्यासमा व्यतिक्रमी तुल्याएर प्रस्तुत गर्ने काम हर्ष बहादुरको एक्लो छोरो वृष बहादुरले गरेको छ । वृष बहादुर काठमाडौंमा बि.ए. पढ्दै गरेको थियो । बाबु बिरामी भएर कोहलपुर हस्पिटलमा बाबुलाई कुर्दा मेरा बाबु विगतमा कस्ता थिए, जन्मदेखि अहिलेसम्म म कस्तो रहेँ र मलाई मेरा बाबुले बारम्बार के–कस्तो सहयोग गरे भन्ने कुरा बयान गर्ने क्रममा माथिको विषय पनि खुल्दै आएको छ । उपन्यास हस्पिटलका दश दिन, हस्पिटलबाट सुर्खेत लादै गरेको अन्तिम दिन र सुरुको आफ्नो जन्म कथा गरी जम्मा १२ भागमा विभाजित छ । हस्पिटलका दश दिनमध्ये हरेक दिन सुरुमा हस्पिटलमा भएका बाबुको उपचारको अवस्थाको जानकारी गराएपछि विगतमा बाबु कस्ता थिए भन्ने कुरालाई क्रमशः प्रस्तुत गरिएको छ । उपन्यासको कार्य व्यापारको मुख्य स्थल कोहलपुर टिचिङ हस्पिटल र त्यहाँबाट सुर्खेत जाँदै गरेको बाटो भए पनि फ्ल्यासव्याक् वा पूर्वदीप्तिका रूपमा हर्ष बहादुरले विगतमा विचरण गरेका स्थान मटेरा, पालबजार, कटासे र कालीकोट आएका छन् । उपन्यासले हर्ष बहादुरकै जीवन सङ्घर्ष कथ्न चाहेको हुँदा ती ठाउँ नै बढी महŒवका पनि बनेका छन् । उपन्यासको विषय दश दिनसम्म वर्तमानबाट विगततर्फ फर्किदै, फर्किदै प्रकट गरिएको हुँदा व्यतिक्रमी बनेको छ । बारम्बार सीमित वर्तमान र विस्तृत विगतको व्यतिक्रमले कथात्मक आस्वादनको प्रवाहमा व्यवधान पनि पु¥याएको छ । विषय कथनको यो नवीन चेष्टा भए पनि प्रवाह विच्छेदनले त्यसको रचनात्मकता स्थापित हुन सकेको छैन ।

२.२ पात्र र परिवेश

उपन्यासको मुख्य पात्र नै हर्ष बहादुर हो । यो आफ्नो पुख्र्याैली सम्पत्तिमा आशक्त नभई स्वतन्त्र रूपमा आफ्नै आर्जनमा लागेको छ । सामान्य लेखपढ गर्ने भए पनि अनुभवका आधारमा पिछडिएको क्षेत्रमा मेडिकल चलाउँदै आएको हर्ष बहादुर परम्परावादी सोचको चरित्र हो । कसैसँग झैंझगडा गर्न नचाहने, पहाडीपुरका राजालाई भनेर ऐलानी जग्गा दर्ता गराउन खोज्ने, छोराले आफ्ना पुस्तकको राजा वीरेन्द्रको तस्विरमा जुँगा बनाइ दिँदा गातो हालेर त्यसलाई ढाकिदिने, रुखबाट खसेर हलनचल भएको बिरामीलाई मर्छ भनेर अरू कसैले उपचार गर्न नमान्दा आफूले सक्तो उपचार गर्ने र मरेपछि उपचार खर्च नलिने, आफ्ना जहान परिवारप्रति गहिरो आस्था राख्ने, माया गर्ने छोरो बारम्बार फेल भए पनि उसलाई रुखो वचन नलगाउने, मास्टरसँग भनसुन गरी छोरालाई पास गराउने, प्रवेशिका पास भएपछि काठमाडौंमा नै गएर पढ्छु भन्ने छोरालाई उसकै इच्छा अनुसार पु¥याइ दिने जस्ता यसका व्यवहारले यो परम्पराप्रति आस्थाशील उदार, मानवतावादी, स्वावलम्बी र आदर्श पिताका रूपमा देखिएको छ । यसको यस्तो सकारात्मक चरित्र बारम्बार आफूलाई सहयोग गर्ने पुत्रका कोणबाट हेर्दा देखिएको हो तर सबै पिता यस्तै हुन्छन् भन्ने छैन । यस सन्दर्भमा गोविन्द वर्तमानको अनुभूति फरक छ (वर्तमान, २०६७ ः ख) । अरूको अझ फरक वा सारै तितो हुन्न भन्न सकिन्न । उपन्यासभित्रका वृष बहादुरकै साथी चन्द्रेका पिताको व्यवहार निकै रुखो छ । फेल भएको हुँदा ऊ घर टिक्न नसकेर नेपालगन्जको होटेलमा भाँडा माझ्न पुगेको छ । सन्तानका लागि माता पिता सधैं आदर्श हुन्छन्, पितृ ऋण कहिल्यै तिर्न सकिन्न भन्ने परम्परित आदर्श एउटा कुरा हो तर यथार्थ सर्वत्र त्यस्तो हुन्न र छैन पनि । उपन्यासमै देखिने किशोरी ममताको मृत्युले पनि त्यस पाटोलाई देखाएको छ । छोरी जन्मदा नै ठूलो विपत्ति आइ लाग्यो भन्दै आमा रुँदै हिड्ने ११, १२ वर्ष पुगेकी छोरी पोइला गइन भनेर पिरलिने, ऊ बिरामी पर्दा वास्ता नगर्ने, अरूले उपचार गर्न खोज्दा उल्टो झगडा गर्न आउने, भूतप्रेतमा विश्वास गर्ने, धामी झाँक्रीको नौटङ्की रच्ने र मनमनै त्यस्तो सन्तान मरेदेखि टन्टै खलास हुन्थ्यो भन्ने र मरि नसकेकी भए पनि मरी भनेर पुर्ने सोचका अभिभावक पनि यही समाजमा छन् । त्यसको साक्षी किशोरी ममता नै रही । हर्ष बहादुरका यी भनाइले पनि त्यसकै पुष्टि गर्छन्–

– यो गवार पापीहरू बस्ने ठाउँ हो । (पृ. ११२)

– कुन दिन यिनले मेरा छोराछोरी पनि जिउँदै गाड्छन् । (पृ. ११२)

– याँको माटोमा पाप भरिएको छ । (पृ. १२६)

वास्तवमा पाप माटोमा भरिएको हो वा पापीहरूका कारण माटो पापयुक्त देखिएको हो ? यो बहसको विषय बन्ला । पदार्थले नै चेतनाको निर्माण हुन्छ भन्नेहरूका लागि माटो नै पापले भरिएको देखिनु स्वाभाविक छ । सामान्यतः राजधानीवासी वा आफूलाई जान्ने सुन्ने बुज्रुक ठान्नेहरूले कर्नालीलाई दरिद्रता अभाव, असङ्गति, कुरूप, विद्रूप, जङ्गलीपन, पिछडिएको क्षेत्र, चेतनाशून्यता, अन्धकार, अप्ठ्याराहरूको गठजोड भएको समाज जस्ता मनोबिम्बले नै बुझ्ने गरेको पाइन्छ । यस उपन्यासमा ती पक्ष छन् तर तिनले जुन प्राथमिकता र विशिष्टता पाउनु पथ्र्याे त्यो भने नपाएको देखिन्छ ।

उपन्यासमा आलोचनात्मक यथार्थवादी दृष्टिहरू प्रशस्तै छन् । पहिलो कुरा त जनयुद्धको रिपोट लिन गएको विदेशी टोलीसहितको युएनको हेलिकप्टरलाई धेरैले पुकारा गर्दा पनि गम्भीर रूपमा बिरामी हर्ष बहादुरलाई ल्याइ दिने उदारता देखाउन सक्तैन । अन्तर्राष्ट्रिय मानवतावादका धेरै ठूला गफ गर्नेहरूको पनि व्यवहारिक यथार्थता अर्कै देखिन्छ । उनीहरूलाई त्यहाँको प्राकृतिक सौन्दर्यले लठ्याउँछ, स्थान विशेषको सैर उनीहरूको रुचिको विषय बन्छ तर मानवीयता व्यवहारमा प्रकट हुँदैन । त्यसपछि अस्पतालको ढिला सुस्ती, फोहर, अव्यवस्था र असंवेदनशीलतामा पनि उपन्यासका केही पृष्ठ खर्चिएका छन् । डाक्टरहरू अस्पतालका बिरामीलाई त्यति वास्ता नगर्ने, आफ्नो निजी क्लिनिकमा आओस् भन्ने उद्देश्यले व्यवहार गर्ने कुरा पनि यहाँ परेका छन् । फेरि नर्मदा जस्ती सदा सहयोगी नर्सको प्रशंसा पनि गरिएको छ । त्यस्तै निजी मेडिकल खोलेर बस्नेहरूप्रति सरकारले कुनै निगरानी नगर्ने, जस्ताले पनि मेडिकल खोलेर सामान्य जनता ठग्ने, उनीहरूबिच अवस्थ प्रतिस्पर्धा रहने जस्ता कुरा पनि यहाँ आएका छन् । सन्की वीरसंह धामी वा सद्दामको गतिविधिबाट पनि यसलाई बुझ्न सकिन्छ । यस्तै फेन्सिडेलको गलत प्रयोग गरी जीवन बर्बाद तुल्याउने शिव शङ्कर जस्ता पात्रहरू यहाँ देखिएका छन् ।

भरखरै आधुनिकताले चियाउन थालेको त्यस क्षेत्रमा राम्रा भन्दा नराम्रा लतहरू, कुरूप यथार्थताहरू प्रशस्तै देखिन्छन् । पहाडका साना बजारमा पनि जुवातास खेल्ने, साहूहरू तस्करी कर्ममा लाग्ने (पाल बजारको दैलेखी साहू), राज्यको महŒवपूर्ण अङ्गका रूपमा रहेका पुलिसहरूको पनि त्यसमा संलग्नता रहने (पृ. १३७), चौकीका प्रहरीले भरियासँग पैसा पाए जान दिने नत्र भारी खोल्न लगाए र हैरान पार्ने, थाना पनि दुरवस्थामा राख्ने, सरसफाइ नगर्ने, सङ्कट कालका नाममा सेनाले ठाउँ ठाउँमा रोकेर दुःख दिने, गाडी रोक्न केही ढिला भयो वा चालकले नदेखेर अघि बढे ऊसँग निकै रुखो व्यवहार गर्ने, अभिभावकहरू आफ्ना सन्तान पढेर पास होउन् भन्ने तिर नलागी जसरी पनि पास गराउन तिर लाग्ने, प्रवेशिका परीक्षामा अभिभावक, शिक्षक र प्रहरी प्रशासन केटाकेटीलाई चिट चोराएर पास गराउन मरी हत्ते गर्ने, परीक्षा फल सञ्चार गर्दा उल्टो पाल्टो पारी फेल भएको मन्दिरेलाई, प्रथम श्रेणीमा पास भयो स्कुल कै प्रथम भयो भनेर सञ्चार गरि दिने, पछि उसलाई फेल भएको मार्कसिट दिएर आहत तुल्याउने, परिस्थितिको संवेदनशीलतालाई मनन नगर्ने, नदीनालाहरूमा जथाभावी फोहर फ्याक्ने, अमौरी खोलामा सिसा, बोतलहरूको पसारो देखिने, सार्वजनिक स्थानमा दिशा पिसाब गर्ने, अनेक किसिमका अन्धविश्वासहरू पालेर राख्ने, यौन नैतिकता खस्ँिकदै गएको देखिने, केटाकेटीहरू सानै वा १०, १२ वर्षमै प्रेम गर्ने, केटीहरू पोइला जाने, रातिराति पुलबाट झाडीतिर जाने (विष्ट साहूकी छोरी), अम्रिकानेहरूले पैसाका बलमा धर्म प्रचार गर्दै हिँड्ने, येशुका किताब बाँड्ने, केटाहरू अरूका हाँस चोर्ने, हुलदङ्गा गर्दै हिँड्ने जस्ता अनेक नकारात्मक पक्षहरू यहाँ उधुनिएको छ । तीप्रति लेखकीय अनास्था, विमति र आक्रोश झल्केको छ ।

कालीकोटका बासिन्दाहरूको अज्ञानता, पिछडिएको परिस्थिति, फोहर मैला र जोखिमपूर्ण जीवनशैली पनि यहाँ आएका छन् । यस्ता परिस्थितिहरू वा परिदृश्यहरू आफूलाई सचेत र सभ्य भनाउँदो नेपाली समाजका लागि अनौठा, काल्पनिक जस्ता पनि लाग्न सक्छन् । कक्षा ७ को विद्यार्थी मन्दिरेले टाउकोमा घिउ दलेर आएको हुँदा पूरै कक्षा घिउ गन्धले भरिन्छ । त्यो वृष बहादुर जस्ता विद्यार्थी र शिक्षकलाई सही नसक्नु गन्ध बन्दछ तर त्यहाँका स्थानीय बासिन्दाका लागि त्यस्ता कुरा सामान्य बनेका छन् । त्यस्तै चामल किन्नका लागि परिवारका धेरै सदस्य दिनभर लाइनमा बस्ने तर अड्कलेर दिइने चामल कहिले पाइने कहिले त्यही पनि नपाइने जस्ता परिस्थितिहरूको बयान यसमा गरिएको छ ।

जटिल पहाडी भूभागमा अरूको भारी बोकेर जीवन निर्वाह गर्नेहरूको जीवनगत जटिलतालाई पनि यहाँ प्रस्तुत गरिएको छ । हर्ष बहादुरका सामान बोेकेर ल्याउने भरियाहरूले बाटोमा जुन कष्ट र जोखिम व्यहोरे त्यो मन छुने किसिमको छ । परिमल भरिया लडेर धन्न धन्नै बाँचेको छ । त्यस्ता त्रासदीयतासँग सधै जुधेर बाँच्नुपर्ने उनीहरूको बाध्यता छ । उनीहरूको पेसा नै त्यही बनेको छ । उपन्यासमा कालीकोटको भौगोलिक, प्राकृतिक परिदृश्यको पनि केही बयान गरिएको छ ।

उपन्यासमा पहाडी भूक्षेत्र (कर्नाली) को भन्दा पनि तराई (कैलाली) को जीवनको निरिहता, टिठ लाग्दोपन, कहरपूर्ण स्थिति र विद्रूपतालाई विशेष महŒवका साथ नियालिएको छ । उपन्यासमा किशोरी ममताको दुःखपूर्ण अन्त्य मात्रै पाठकको मन चिमोट्ने किसिमको छैन । यहाँ टुहरी बाटुको जीवन पनि त्यस्तै कहरपूर्ण देखिएको छ । किशोरावस्थामा भरखर प्रवेश गर्दै गरेकी बाटु हर्ष बहादुर कहाँ काम गरेर बस्दा सुखी नै छ तर दाजुले उसको बिहे चार सन्तानको विधुर बाबु जोगीराम थारुलाई दिने निर्णय गरेको छ । आफ्नो पनि परिस्थिति बिग्रदै गएको हुँदा हर्ष बहादुरले पनि केही भन्न सक्तैन । दाजुकै निर्णय अनुसार बाटुलाई विदावादी गरि दिन्छ । आफूलाई सुहाउँदो थारु केटोले लैजाला भन्ने सोचकी (पृ.१७१) बाटुको मन धमिलिन्छ र पनि उसले कुनै प्रतिरोध नगरी उसकै पछि लाग्न बाध्य हुन्छे ।

यस्तै दुवै किड्नी बिग्रेर अस्पतालमा भर्ना भएको छोड्कुकी कलिली पत्नीको व्यथा, विपन्न परिवारको छोट्कुलाई धेरै दिनपछि तुरुन्तै लखनऊ पु¥याउनु पर्ने नत्र नबाँच्ने घोषणा गरि दिए पछि ऊ लगायत उसका आफन्तले व्यहोरेको व्यथा, रुखबाट घाँस झार्दा लडेर बेलैमा उपचार नपाई मरेको मान्छे र उसका वृद्ध पिताको व्यथाजस्ता प्रसङ्गहरू सङ्क्षेपमै भए पनि आएका छन् । ती निम्न वर्गीय जीवनका कहाली लाग्दा पाटा हुन् । यस्तै चिसापानी पुल उद्घाटनमा गिरिजा प्रसाद कोइराला जाँदा त्यहाँ देखिएको मानिसहरूको भीड र गिरिजा प्रसादलाई हेर्ने उनीहरूका आकाङ्क्षाले त्यस समाजको स्थिति सङ्केत गरिएको छ ।

उपन्यासमा द्वन्द्वकालीन परिवेशले पनि राम्रै स्थान पाएको छ । यसलाई नवौं दिनको अन्त्यतिर र दशौं दिनको प्रसङ्गमा बढी स्पष्टसँग प्रस्तुत गरिएको छ । हुन त हर्ष बहादुरको अस्वस्थतामै माओवादी सन्त्रासले भूमिका खेलेको छ । एउटा सफल व्यवसायी अन्ततः माओवादी युद्धकै कारण टाट पल्टदै गएर अन्ततः मृत्युको मुखमा पुगेको छ । उपन्यासमा माओवादीको युद्ध सन्त्रासलाई मूलतः कालीकोटको परिवेशमा प्रस्तुत गरिएको छ । ठाउँठाउँमा बम पड्काउने, कालीकोटको सेरिजिउलामा पाइप बम पड्काएर डीएसपीलाई मार्ने, युद्धका लागि भनेर शिक्षकहरूसँग तिस प्रतिशत तलब माग्ने, अरू कर्मचारीहरूसँग पनि त्यसरी नै माग्ने, कालीकोटलाई सञ्चार विच्छेद तुल्याउन पुलहरू भत्काउने, दुर सञ्चारको टावर ध्वस्त तुल्याउने, गाउँबाट मानिसहरूलाई सदरमुकाम जान रोक लगाउने, माओवादीले सदरमुकाममा हान्दैछन् भन्ने हल्ला फिँजाउने जस्ता अनेक सन्त्रास पूर्ण कार्य र तिनको रेडियोबाट प्रचुर सञ्चार गराइएको छ । राज्य पक्षको सेनाले त्यसलाई नियन्त्रण गर्ने नाममा बेलुका ६ बजेदेखि नै अघोषित कफ्र्यु लगाउने, भजन गाएर बस्न पनि नदिने, जरीलाल जस्ता इमानदार मानिसलाई माओवादीमा लागेको भनी पक्रने, पछि पछि त स्थिति झन् झन् भयावह तुल्याएर सधैजसो कफ्र्यू नै लगाइ रहने काम पनि भएको छ ।

यस्तै मन्दिरे जस्ता सिदासाधा युवालाई गलत सूचना सञ्चार गरी त्यस समाजमा बाँच्न मुस्किल तुल्याई माओवादी बन्न प्रेरित गर्ने जस्ता परिस्थितिको पनि सङ्केत गरिएको छ । दशौं दिनको अन्त्यतिर युद्ध बिरामको खबर आए पनि त्यसको असर पछिसम्म पनि रहेको देखिन्छ । केटाकेटीले बल भनेर खेल्दा माओवादीले राखेको बम पड्किएर एकजना बालक घटनास्थलमै मरेको अर्काे उपचारका लागि हस्पिटल पु¥याएको खबर पनि आएको छ । यस्तै खुशीरामले पहाडी पुरका राजा साहेबलाई ढुङ्गाले हानेर मारेको र राजा साहेबको जेठो छोरो त्यो ठाउँ छाडेर जाने तयारी गरिरहेका कुरा पनि यहाँ आएका छन् । उपन्यासमा राज्यपक्षको ज्यादतीप्रतिको जुन स्पष्टताका साथ आलोचनाको स्वर भेटिन्छ । त्यस्तो स्वर माओवादी ज्यादतीप्रति भने भेटिन्न बरु राज्यपक्षकै कमी कमजोरीको उपजका रूपमा माओवादी ज्यादती देखिएको सङ्केत पाइन्छ ।

उपन्यासमा कर्नालीको सेरोफेरोका यस्ता समाज र जीवनका गम्भीर परिस्थितिहरूको बयान एकातिर छ भने अर्कातिर हर्ष बहादुरको छोरो वृष बहादुर जो पूरै उपन्यासको विषय प्रस्तोता पनि हो– उसको बाल्य तथा किशोर कालका अनेकन उट्पट्याङ र अस्थिर मनोदशाको बयान पनि छ । जसको फोटो देख्यो त्यसमा जुँगा बनाउँदै हिड्ने, बाख्राका बर्किम्ला मिचेर भागीराम जस्ता सोझा गाउँलेलाई सुर्ती भनी ख्वाउने, घरमा आगो लगाएर राम्ररी ननिभाई हिँड्ने र पूरै घर डढाउने, ८÷१० वर्षमै स्कुलकी केटी शर्मिलालाई लभ लेटर लेख्ने, हाँसचोरको ग्याङ्मा लाग्ने, पढाइप्रति नभई चिट चोर्ने तरिका सिक्ने, एकै कक्षामा बारम्बार फेल हुने, बाबुले भनसुन गरेर वा चिट चोरेर मात्रै पास हुने, एक्लो छोरो भएको हुँदा बाबुसँग नयाँ–नयाँ कुराको माग राख्ने र पूरा गरेरै छाड्ने जस्ता अनेकन प्रसङ्गहरूको निकै विस्तारका साथ प्रस्तुत गरिएको छ । तिनमा बाल मनोविज्ञानका केही पक्ष रहे पनि बढी उल्लेखनीय सन्दर्भ भने खासै देखिँदैनन् ।

यसरी कर्नाली नदीको सेरोफेरोका कतिपय कुरूप र नाङ्गा यथार्थहरूलाई वा जीवनका विविध रङ्गलाई यस उपन्यासले प्रस्तुत गर्ने काम गरे पनि तिनमा स्थानीय विशिष्टताको पक्ष भने त्यति भर्न सकेको देखिन्न । उपन्यासले देखाएका तराईका थारु तथा पहाड (कालीकोट) का समस्याहरू सबैजसो हिमाली भेग र तराई बासिन्दाका समस्या नै हुन् । स्थानीय विशेषता सघन रूपमा त्यति आउन नसके पनि यसले द्वन्द्व कालीन पश्चिमी नेपाली समाजको त्रासद परिस्थिति उजागर गरेको छ ।

२.३ भाषा

उपन्यासमा देखिने टड्कारो आकर्षण भनेको उपन्यासको भाषा हो । यसमा एकातिर तद्स्थानीय गन्ध छ भने अर्कातिर सरल र सरसता पनि पाइन्छ । छोटा छोटा वाक्य, प्रवाहपूर्ण प्रस्तुति र प्रचुर अर्थालङ्कार युक्त कथनले उपन्यास पढ्दा सरसता सञ्चार भइ रहेको हुन्छ । उपन्यासमा नयाँ नयाँ उपमामूलक कथनले अझ बढी पाठकलाई तान्छ । जस्तै केही–

“बाको रोगी अनुहार पहेंलिएको पातजस्तो । बाको सास, बर्खाको खोलाजस्तो ।” (पृ.७)

“अनुहारभरि पैmलेछन् बुढ्यौली र निरासाका धर्कै धर्का । मैलो ब्लाउज पनि शरीरमा टाँगे जस्तो ।” (पृ. ९)

“एम्बुलेन्स कोहलपुरतिर उडे झैं कुद्यो ।” (पृ. ११)

“रुखको गिंडजस्तो बाको ज्यान गह्रुँगो भयो ।” (पृ. १६)

“दाह्री काटेर नुहाएको मानिसको अनुहार झैं दिन उज्यालो थियो ।” (पृ. ३०)

“बाढीपछिको खोलाजस्तो बाको अनुहार शान्त भयो ।” (पृ. ५०)

“अचानक गोडा लुला भए, भिजेको पिठोजस्तो ।” (पृ. ७५)

“सर्पका आँखा कालो (काला ?) गुच्चा झैं गाढा थिए । सर्पको दुबोजस्ता मसिनो जिब्रो हाम्रो पलङ्तिर सोझिएको थियो ।” (पृ. १०४) ।

“कोठीजस्ता आँखा भएको जुरेलीले यताउता उतायता टाउको बटा¥यो ।” (पृ. १४१)

“ऊ खरायो झैं टुक्रुक्क बसेकी थिई ... उसका चिल्ला साप्रा टल्कि रहेका थिए । तिनले मेरा आँखा छुन थाले । ... मुटु दमाहा झैं बज्न थाल्यो । सालको पात झैं ओठ सुके । सास चैते हुरी झैं सुसाउन थाल्यो । कम्मर मुन्तिर हजारौं कमिलाले चिल्न थाले ।” (पृ. १५७) ।

“उनलाई देखेर शिवबिडी डिपोका म्यानेजरको अनुहार पनि उन्युको पात झैं ढल्पलाउन थालेको थियो ।” (पृ. १६१) ।

“सद्दाम भने यस्ता कुराले गाडिएको खामो झैं एक इन्च हल्लिएन ।” (पृ. १६७) ।

“मेरो मन भने केराको पात झैं ढलपलाउन थाल्यो । (पृ. १९२) ।

“अनुहारको छाला पनि निचोरेर सुकाएको लुगाझैँ जताततै खुम्चिको थियो ।” (पृ. २९८) आदि ।

उपन्यासको भाषा सरल र सरस छ भन्दा भन्दै पनि के कुराले भने बिजाइ रहन्छ भने यहाँ प्रयोग गरिएका कतिपय तराई बासिन्दाहरू (थारु, मधेसेहरू) को भाषा र कालीकोट क्षेत्रका बासिन्दाहरूको भाषिका तद्देशीय झलक दिन उपयुक्त भए पनि आम नेपाली पाठकका लागि भने त्यति सहज बोधगम्य देखिन्नन् । तिनको नेपाली रूप पनि दिन सकेका भए अझ बेस हुन्थ्यो तर नदिई प्रस्तुत गर्ने परिपाटी यसपूर्वका स्थापित उपन्यासकाहरू (ध्रुवचन्द्र गौतम आदि) ले चलाएका छन् । यहाँ पनि त्यही सिको गरिएको छ । ठाउँ ठाउँमा अङ्ग्रेजी लबज पनि प्रयोग गरिएको छ । यसको शीर्षकमा पनि त्यो मोह झल्केको छ । यस दृष्टिले हेर्दा नेपाली पाठकलाई थप भाषिक चुनौती पनि यसले थपेको छ ।

२.४ थप परिसीमाहरू

प्रस्तुत उपन्यासको कथानक विन्यासको व्यतिक्रमी शैली, चरित्र चित्रणमा एककोणीयता (पुल्पुल्याइएको एक्लो छोराका दृष्टिले हेरिएका पिता), स्थान विशेषको परिवेशको घनत्वको अभाव र सहज असम्प्रेषणीय स्थानीय जाति विशेषको भाषा यसका केही परिसीमा हुन् । तिनको अगाडि नै प्रसङ्गवश चर्चा भइ सकेको छ । ती बाहेक यसमा थप अन्य कतिपय परिसीमाहरू पनि पाइन्छन् । तिनलाई सङ्क्षेपमा यहाँ सङ्केत गर्नु प्रासङ्गिक ठानिएको छ –

२.४.१ चयनात्मक सीपको न्यूनता

कुनै पनि कृति समाज र जीवनको यथार्थ प्रतिबिम्ब हो तर त्यसमा समाज र जीवनका बढीभन्दा बढी महŒवपूर्ण सन्दर्भहरू मात्रै चयन गरिनु पर्दछ । एकै किसिमको दैनिन्दनीको अर्थहीन पुनरुक्तिले कृति अनावश्यक सुनिन्छ र पाठकलाई त्यसले बिझाउँछ । यहाँ विशेषतः म वा हर्ष बहादुरका दैनिन्दिनी यस्तै देखिएका छन् । उपन्यासका १ देखि ८ दिनसम्मका घटना प्रसङ्ग बयानमा यस्ता परिसीमा प्रशस्त पाइन्छन् ।

२.४.२ दृष्टि घनत्वको न्यूनता

समर्थशाली स्रष्टाले सामान्य विषयलाई पनि गहिरो अर्थ प्रदान गरेर प्रस्तुत गरेको हुन्छ । यहाँ विशेष अर्थ दिएर अथ्र्याउन सक्ने धेरै प्रसङ्ग रहेर पनि लेखक त्यसको सामान्य बयान कर्ता मात्रै भएको देखिन्छ । बौद्धिक ओजले त्यसलाई अथ्र्याउने जागर गरेको त्यति पाइन्न ।

२.४.३ अर्थहीन अश्लीलता

उपन्यासमा ठाउँ ठाउँमा बारम्बार दिसा पिसाब गरेको प्रसङ्ग, गालीमा अत्यन्त अश्लील लवज प्रयोग गरेको प्रसङ्ग, गुप्ताङ्गहरूको चर्चाको प्रसङ्ग ल्याइएको छ । यस्ता विषयले पाठकलाई मनोरञ्जन दिएको छ भन्ने भ्रम पनि लेखकलाई हुन सक्छ तर त्यस्तो सोचले टिकाउ साहित्यिक रचना निर्माण हुन सक्तैन । ‘कर्नाली ब्लुज’ को टार्गेट यति सस्तो हुनु हुँदैन । यदि नग्न यथार्थको वा यौन चित्रणको रहर हो भने यौन मनोवैज्ञानिक वा प्रकृतवादी दृष्टि घनत्वका साथ ब्लु पिक्चर नै वा नग्न कला नै पनि निर्माण गर्न सकिन्छ । तर कला र अर्थशून्य नग्नता अश्लील दोषमा दरिन्छ ।

२.४.४ अपत्यारिला प्रसङ्गहरूको बयान

उपन्यासमा ४ कक्षा पढ्दै गरेको वृष बहादुरले आफ्नी सहपाठी शर्मिलालाई “म तिमी बिना बाँच्न सक्तिनँ ।” (पृ. १५८) भनी लेखेको लभ लेटर, वीरसिंह धामी वा सद्दाम पानी मुनि ७÷८ मिनेट डुबेर बस्यो भन्ने प्रसङ्ग, खुसीरामले राजा साहेबलाई सानो भ्यागुतो मारे झैं ढुङ्गाले थिचेर सजिलै मारेको प्रसङ्ग जस्ता कतिपय कुरा पत्यारिला बनेर आउन सकेका छैनन् ।

२.४.५ समकालीन शिल्प विशिष्टताको अभाव

नेपाली साहित्यमा समकालीन नेपाली उपन्यास कथ्य र शिल्प वैचिœयले भरिएको पाइन्छ । त्यस दृष्टिले हेर्दा यसमा त्यस्तो कुनै खासै वैचिœय देखिन्न । शिल्प वैचिœयका नाममा देखिने दुर्बाेध्यता भन्दा त यही सरलता ठिक होला तर अर्थपूर्ण सम्प्रेष्य शिल्प वैचिœयले कृतिमा जुन ताजापन निर्माण गरेको हुन्छ त्यो परम्परित शिल्पले गर्न सक्तैन ।

३. उपसंहार

बुद्धि सागर चपाईको पहिलो उपन्यास ‘कर्नाली ब्लुज’ कर्नाली नदीको सेरोफेरोका केही सीमित क्षेत्रमा आधारित उपन्यास हो । यसमा मुख्यतः सेती अञ्चलको कैलाली र कर्नाली अञ्चलको कालीकोट जिल्लाका सीमित परिवेश रहेका छन् । उपन्यासमा प्रधानमन्त्री मरिचमान सिंह, गिरिजा प्रसाद कोइराला र माओवादी युद्ध विरामसम्मका प्रसङ्ग आएका छन् । त्यसैले यो २०४६ पछि जनआन्दोलन २ वा २०६३ सालसम्मको समकालीन समयमा आधारित छ । यसमा आफ्ना प्यारा बाबु हर्ष बहादुरको जीवन सङ्घर्ष पुत्र वृष बहादुरले प्रथम पुरुष शैलीमा कथन गरेको छ । पिता र पुत्रको जीवन सन्दर्भबाट यहाँ एउटा सिङ्गो जीवन नियालिएको छ । त्यस्तै कैलाली र कालीकोटको समाज पर्यवेक्षणबाट तराई र उच्च पहाडी नेपाली समाज हेरिएको छ । ती दुवै तिर नेपाली जीवन रहरलाग्दो नभई कहर लाग्दो वा अत्यास लाग्दो देखिएको छ । यस्तो स्थिति प्रकृति र मानिस दुवैले सिर्जना गरेका छन् । कतिपय मानिसले स्थान परिवर्तन गर्दै हिँडेपनि गलत संस्कार छाडेर हिँड्न सकेका छैनन् । लैङ्गिक विभेद, धार्मिक सांस्कृतिक अन्धविश्वास, सामन्ती शोषण जस्ता कुसंस्कार प्रशस्त छन् । वर्मा गए पनि कर्मसँगै जस्तो स्थिति देखिएको छ । समस्यामुक्त जीवन कतै देखिदैन ।

समकालीन नेपाली परिवेशमा आधारित प्रशस्त उपन्यास नेपाली भाषामा लेखिएका भए पनि मध्य तथा सुदुर पश्चिमको परिवेशमा लेखिएका समकालीन नेपाली उपन्यास त्यति नरहेको अवस्थामा यसको उपस्थिति त्यस दृष्टिले पनि बढी महŒवपूर्ण बनेको छ । यसले द्वन्द्वपूर्व र द्वन्द्वकालीन वा सङ्क्रमण कालीन त्यस समाजको स्वरूपलाई कुनै न कुनै रूपमा नियालेको छ । विकासको प्रवेशले नयाँ बस्तीको निर्माण र विस्थापनलाई पनि देखाएको छ । पुरानो पुस्ताको अवसान र नयाँ पुस्तालाई आएका चुनौतीको पनि सङ्केत गरेको छ । हर्ष बहादुरको अवसान भनेको पुरानो पुस्ता र राजतन्त्रको अवसान पनि हो तर देशमा हर्ष बहादुरको अवसानसँगै हर्ष वा खुशीकै अवसान र वृष बहादुरको उदयसँगै साँढे (वृष) तन्त्रकै जग्जगी रहने हो कि भन्ने स्थिति पनि ध्वनित छ । त्यस बाहेक तद्देश्यीय जनजीवनको परम्परित संस्कार, त्यहाँको भौगोलिक, प्राकृतिक आर्थिक र सामाजिक जटिल अवस्थाको सर्सर्ती आकलन गर्ने काम पनि यसले गरेको छ । त्यसलाई कत्तिको परिपक्व दृष्टिघनत्व र कलात्मक सीपका साथ प्रस्तुत ग¥यो भन्ने बारेमा मनन गर्दा पहिलो यस उपन्यासका कतिपय परिसीमा पैलिने भए पनि अपेक्षाकृत नवीन विषय र सरल सरस भाषाका कारण यस उपन्यासले चर्चा पाइ रहने छ । आशा गरौं बुद्धि सागरका आउँदा रचनामा बुद्धि र कलाको अझ बढी सुसन्तुलन देख्न सकिने छ । त्यसैले नै कृतिलाई चर्चाको शिखरमा तानि रहने छ ।

मुख्य सन्दर्भग्रन्थ:-

गौतम, कृष्ण (२०६४). उत्तर आधुनिक जिज्ञासा. काठमाडौ“ ः भृकुटी एकेडेमिक पब्लिकेसन ।

पाण्डे, नयनराज (२०६७) “स्मृतिका जुलुसहरू” कान्तिपुर. ९ असोज, पृ. कोसेली ख ।

पाण्डेय, मैनेजर (१९८९). साहित्य के समाज शास्त्र की भूमिका. चण्डीगढ ः हरियाणा साहित्य अकादमी ।

पिटर, जे. कार्थक (२०१०) “कर्नाली ब्लुज ः नो कन्ट्री फर द यङ्ग”. ?, पृ. १–४ ।

पौडेल, विष्णु प्रसाद (२०६४). समकालीन उपन्यासकार ध्रुवचन्द्र गौतमका उपन्यासका मुख्य प्रवृत्ति. काठमाडौं ः विश्व विद्यालय अनुदान आयोगबाट सञ्चालित लघु अनुसन्धान पत्र ।

भट्टराई, गोविन्द राज (२०६४). उत्तर आधुनिक विमर्श. काठमाडौ“ ः मोडर्न बुक्स ।

बराल, ऋषिराज (२०६३). उत्तर आधुनिकतावाद र समकालीन यथार्थ. काठमाडौ“ ः प्रगतिशील साहित्य अध्ययन केन्द्र ।

वर्तमान, गोविन्द (२०६७) “कर्णालीबाट आएको विरहगान” नागरिक. ९ असोज, पृ. अक्षर ख ।

सिंहल, वैजनाथ (सन् १९८८). हिन्दी विधाए ः स्वरूपात्मक अध्ययन. चण्डीगढ ः हरियाणा साहित्य अकादमी ।

सहप्रा. पृथ्वी नारायण क्याम्पस, पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।