18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'जीवन काँडा कि फूल' सरसर्ती पढ्दा

कृति/समीक्षा सदानन्द अभागी May 21, 2012, 3:40 pm
सदानन्द अभागी
सदानन्द अभागी

२०६७ सालकै सर्वाधिक चर्चित एवं मदन पुरस्कार प्राप्त कृति हो। यस कृतिकी रचनाकार हुनुहुन्छ कवि, लेखक, स्तम्भकार, कथाकार, निबन्धकार झमक घिमिरे। झमक घिमिरेको जन्म २०३७ असार २१ गते शुक्रबारका दिन धनकुटा न.पा. ३, कचिडेमा भएको थियो। उनका पिताको नाम कृष्ण बहादुर घिमिरे र माताको नाम आशा देवी घिमिरे हो।

प्रकाशन

झमकजीका कान्तीपुरमा प्रकाशित भएका लेखहरू त प्राथमिकताको रूपमा पढ्दथें र निकै प्रभावित हुन्थे तर उहाँका प्रकाशित कृतिहरू भने पढ्ने मौका मिलेको थिएन।आज आएर यो निकै चर्चित कृति पढ्ने मौका पाएँ। यस कृतिले मलाई धेरै पटक रुवायो र जीवन संघर्षमय छ भन्ने कुरा त बुझेकै थिएँ अझै संघर्षमा जुट्नु पर्दछ भन्ने पाठ सिकायो।

प्रकाशित कृतिहरू

उहाँका प्रकाशित कृतिहरू यस प्रकार छन्: संकल्प (कवितासङ्ग्रह २०५५), आफ्नै चिता अग्निशिखातिर (कवितासङ्ग्रह २०५७,) मान्छेभित्रका योद्धाहरू (कवितासङ्ग्रह २०५७,) ; अवसानपछिको आगमन (क्वाँटीसङ्ग्रह २०५७), सम्झनाका बाछिटाहरू (लेखसङ्ग्रह २०५७), नौलो प्रतिबिम्ब (कवितासङ्ग्रह २०६०,) पर्दा, समय र मान्छेहरू (कथासङ्ग्रह २०६२), बेमौसमका आस्थाहरू (निबन्धसङ्ग्रह २०६३) र जीवन काँडा कि फूल (आत्माजीवनीपरक निबन्ध२०६७) ।

कृतिभित्र प्रवेश गर्दा

झमकजीलाई हार्दिक बधाई तथा धन्यवाद शीर्षकमा झमक घिमिरे साहित्य कला प्रतिष्ठान, धनकुटा, नेपाल, ओरिएन्टल पब्लिकेशन काठमाण्डौ नेपाल अनलाइन नेपाली साहित्य मञ्च वेलायतले बधाई दिएकाछन्।

झमकका अक्षर शीर्षकमा

जीवनलाई सृष्टिकै सुन्दर फूल भनेर अर्थ्याइ दिएँ अहिले मैले अर्थ्याएको जीवनभित्र स्वयम् आफ्नो जीवन पर्छ कि पर्दैन कुन्नि थाहा छैन

झमकजी स्वयम्सिद्ध गरिएका दर्शनभित्र त आँफू अवश्य पर्नुहुन्छ होला? तपाइँले स्यानै उमेरमा आँफूले भोगेका अनुभूतिबाट खारिएका धेरै जीवनका उतार चढावबाट निशारण गरिएर निकालिएको अवधारणा जो हामीले अध्ययन गर्न पाएका छौ। त्यसो हुँदा तपाइँको जीवनसंघर्षले काँडै काँडाको शयनबाट उठाएर आज फूलै फूलको शयनमा चढाइदिएको जो अनुभूति तपाईले गरेर जीवनलाई सृष्टिकै सुन्दर फूल भनेर अर्थ्याइ दिनुभयो त्यो नै सत्य अनुभूति हो र यथार्थ जीनको भोगाइ हो निश्चय नै तपाइँको जीवन तपाइँले अर्थ्याएको जीवनभित्र अन्तरनिहीत भै सकेको छ।

तपाइँले जीवन काँडा कि फूल कृतिभित्र यस्ता धेरै प्रकारका समाजले भोगेका प्रश्नहरू सबैको अघि राखिदिनु भएको छ, जस्को सहजरूपमा उत्तर दिन सजिलो छैन। मेरो बुझाईमा जीवन काँडा पनि हो र फूल पनि। जीवनलाई कता मोड्ने भन्ने कुरा स्वयम् हामीमा नै निहीत हुन्छ। झमकजीले जीवनलाई फूलमा रूपान्तरण गर्नुभयो। निश्चय पनि मानिसको अठोट हो। यो अठोटलाई सकरात्मकरूपमा अग्रगामी पथमा परिचालन गरिन्छ भने र अङ्गालिन्छ भने सृष्टिकै सुन्दर सिर्जनाको लागि संघर्षशील जीवनले लिएको मार्गदर्शनले अवश्य पनि सुन्दरता छर्छ र मानिस उत्पादनमूलक जीवनतिर बढ्छ जो तपाइँले अनुभव गरिसक्नु भएको छ।

अहिले मेरो हातमा सातौ पुनर्मुद्रण मुगसिर अङ्क छ र यसलाई बडो उत्सुकतासँग पढें मैले। माथी नै भनिसकेको छु कि यो किताप पढ्दा मेरा आँखा धेरै पटक रसाए र मैले सोच्ने गरेको जीवन पनि संघर्ष हो तर लाग्यो संघर्ष होस् त झमकजीको जस्तो, जहाँ अठोट्ता छ र अठोटताबाट जीवन सफलतातिर मोडिएको छ। यो जीवनकथा, कृतित्व र व्याक्तित्व अध्ययन अनुसनधानको विशाल क्षेत्र बन्दै गएकोछ।

यो जीवन गाथाले मानव जीवनका हरेक भोगाइलाई समेटेको छ। गोपाल गुरागाइँको "अध्ययन अनुसनधानको विशाल क्षेत्र बन्दै जाने छ" भन्ने धारणा जो आएको छ त्यो आजको सर्न्भमा सत्य पनि छ र यस्ता कृतिहरूको अध्ययन गर्नु आजको अवश्यकता पनि हो ।

"भगवान नभएको निर्क्यौल , यदि छन् भने पनि हामीले सोचेको जस्तो निस्पक्ष र दयाकारी छैनन्" शीर्षकमा विश्वास दीप तिगेला (जो पहिलो संस्करणको प्रकाशक बैशाख २०६७मा अनलाइन नेपाली साहित्य मञ्चको लागि विश्वा दीप तिगेला)ले कृतिकारको जीवन घटना (संस्मरणात्मक चर्चा)लाई कृतिप्रकाशनको बारेमा पनि प्रष्ट्याउँदै "यो कृति अध्ययन गर्नेले के गर्ने अठोट गर्दछ भन्ने धारणा राख्नु भएको छ यो कृति अध्ययन गर्नेले देश, समाज र जनताका लागि केही गर्ने अठोट गर्ने छ। उन्नति र प्रगतिको बदला, डाह, इर्षा, हत्याहिंसा, तोडफोडको संस्कार हुर्काएर रमाउने सबल हामी मानव मानव गनिन पनि लज्जित हुने छौं। समाजमा शारीरिक दुर्बलता भएकालाई हेर्र्ने दृष्टिमा परिवर्तन आउनेछ। यस्ता मर्म स्पर्शी र सन्देशमूलक कृतिसर्जक विश्वकै महत्वपूर्ण सम्पति हुन्। "

मलाइ कस्तो लाग्छ भन्ने भगवान भन्ने आस्था हो। आस्था भनेको स्वयम्को मूल्य र मान्यता हो। यही आस्थामा अवस्थित भनौं या विलयरूप नै भगवान हो जसलाई जुनरूपमा हेर्न चाहान्छौ (माने देवता नमाने ढुङ्गा),त्यही रूप हो। वास्तवमा संघर्षमा नै देवता प्रकट हुन्छन्। संघर्षको अर्कोरूप नै झमक हो। जो आज हामी समक्ष प्रकट भएर हामीले काव्यरस पान गर्न पाई रहेका छौं।

स्रष्टाको कलमबाट शीर्षकमा कृतिकार स्वयम् यस कृतिबारे लेख्नु हुन्छ - "म आफ्ना व्याक्तिगत जीवनका पाटाहरूलाई पाठक सामु राखेर उनीहरूको समय अनावश्यक लिन चाहन्नथें, म मान्छेलाई पीडा होइन उत्साह, उमङ्ग, दिन चाहान्थें" तर पाठक शुभेच्छुक लेखकहरूको धारणा - "तिम्रो जीवनलाई हामिले बुझ्न, जान्न छुन छाम्म र त्यसको अनुभूति गर्न पाउनै पर्दछ।" उनी र उनका पाठकको सम्वाद पछि झमकको यो अमूल्य रत्न हाम्रो हात परेको छ। सबैले उनलाई नजिकबाट चिन्ने धारणामा उहाँले यसरी प्रष्ट्याउनु हुन्छ "जीवनसँग जोडिएका प्रशङ्ग हुन् ती जसलाई इमान्दारी पूर्बक तपाइँ समक्ष राखिदिएँ। हाम्रा समाजका नग्न सत्य राखिदिएँ जसको मूख्य पात्र म सहायक पात्र बाबुआमा, बहिनी मीना र अन्य छन् ।"

अब यस कृतिप्रतिको मेरो धारणा पनि राखौं। यस कृतिको बारेमा माथीका साहित्यकारहरू र स्वयम् कृतिकारले पनि प्रष्ट्याउने प्रयत्न गर्नु भएको छ। निश्चय पनि यो जीवनगाथा त हो तर अरुले प्रस्तुत गरेका जीवनगाथा भन्दा यो जीवनगाथा निश्चय नै सम्वेदनशील छ। मैले गर्ने गरेको विवेचनामा प्राय कृतिको सारसङ्क्षेप दिने गर्दथें तर यस कृतिमा भने म सारसङ्क्षेपतिर लाग्नुभन्दा समस्त साहित्यिक कर्मी, समालोचक आम विद्यार्थी, तथा समस्त साहित्य अनुरागी पाठक बर्गले यो अविस्मरणीय काव्यको रसास्वादन स्वयम् स्वअध्ययनबाट चाख्न सकुन् भन्ने धारणा राख्दै केवल रचनाक्रमलाई मात्र यहँा राख्न चाहान्छु। गुरागाइँले लेखे जस्तै यस कृतिको क्षेत्र व्यापक छ । यस्मा झमकजीले समाज / पाठक / राज्यसँग उठाएक / राखेका यावत जीज्ञाशा मानवता सम्बन्धी, मानव मानवमा भेद आदिको विश्लेषण गर्ने हो भने निश्चय नै यो भन्दा ठूलो ग्रन्थ बन्दछ। हरेक रचनाक्रमले जीवन जगतमा घटेका तथा प्रस्तुत गरिएका धारणाहरूले जीवन र जगतलाई राम्रोसँग समेटेको छ। मानव जीवनमा घट्ने घटनाक्रम त्यसले पार्ने मनोवैज्ञानिक असर, समाजले गर्दै आएका विकृतिहरू त्यसले छाडेका अवशेषहरू, बौद्धिक बर्गबाट व्यवहारमा उतार्न पर्ने कर्महरू, अपाङ्ग र महिलामा गरिने भेदभाव, जीवनको उज्यालोपक्ष र अँध्यारोपक्षमा समाजले देखाउने भावाना, मानवमूल्य र मान्यता, मानिसले लिनपर्ने अठोट र दृढता, भूतप्रेतप्रति विश्वास, मानव सोच, चेतना र उत्सुकता, ऋतुधर्म र बैंस स्वाभिमान र श्रम, धार्मीक आस्थाभित्र एक अर्को धर्मबीचको झगडा, देवताहरू, स्वतन्त्रताको चाहना, देशले भोगेको द्वन्द्व, आस्था, आँसु, जीवनका आभाहरू, सहमति आदि विविधपक्षका गहन अभिव्यक्तिले यो कृति सजिएको छ । स्पष्टधारणा स्वच्छ भावना सरल भाषा आफ्नै देशको परिवेश,त्यसमा विविध पक्षका व्याक्तिहरूसँगको सम्पर्क र विकृतिमा तीक्ष्ण व्याङ्ग आदिले भरिएको यो जीवनगाथा सबैको लागि पढ्न योग देखिन्छ।

मैले माथी नै भनिसकेको छु कि यो कृतिको भावलाई सङ्क्षेपीकरण गरिएको छैन तापनि यस कृतिभित्रका केही उद्गारहरू यहाँ प्रस्तुत गर्न चाहान्छु -

"धन्य प्रकृति! तैले मलाई जन्माइस् मान्छेका क्रुर व्यवहार सहनकै निम्ति र म हुनुको अर्थलाई जगाइदिइस्"(पृष्ठ ३४)। नवप्रवृतिलाई यी पंक्तिले सरल भावमा प्रष्ट्याएको छ।

समाजमा छोरा र छोरीमा देखिने लिङ्ग भेदको मार्मिक उदाहरण -"आखिर छोरी भएर जन्मिनमा उसको के दोष?" (पृष्ठ ३७)। "मान्छेमा संवेदना हराउँदो रहेछ कुनै बेला" (पृष्ठ४३)।

"म सँग भोक थियो तर भोक लाग्यो भन्ने आवाज थिएन" (पृष्ठ ४८)

"अहिले सम्म ममा पीडा र आँसुका बाहेक अरू रङ पोखिएनन्" (पृष्ठ ४९.,)

"दुखाइले आहत हुँदा धोको पुगन्जेल रुन पनि नपाइने (पृष्ठ५०)। "…बादलभित्र पनि चाँदीको घेरा देख्न थालेकी थिएँ (पृष्ठ ५६)

"साच्चै भन्ने हो भने जिङ्दगी एउटा प्रयोग पनि रहेछ"(पृष्ठ ६२)।

मैले माथी नै भनिसकेको छु, यस कृतिमा जीवनभोगाइका थुप्रै मार्मिक उदाहरणहरू छन्। यी मानव जीवनमा कसैले धेरै र कसैले थोरै भोगेका छन् अर्थात नभोगी सुख नै छैन। यस्तो जीवन भोगाईलाई झमकजीले यस्तो गहन कृतिको रूपमा सिर्जजनागरी हामीलाई जीवन के हो भनि जान्ने अवसर प्रदान गर्नु भएकोमा मुरी मुरी धन्यवाद

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।