18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

वैशाख, तिमी अर्कै भएर आऊ

कविता आर. आर. चौलागाईं April 15, 2012, 3:21 pm

हाम्रो सङ्घारमा अलिकति घाम लिएर आऊ

यो अँध्यारो रातमा थोरै भए पनि जून लिएर आऊ

केही ताराहरू लिएर आऊ

अलिकति शीतल हावा लिएर आऊ

एउटा पुल लिएर आऊ

सुन्दर गाउँको एउटा नक्सा लिएर आऊ

केके बनाउनुपर्ला

गतिलो योजना लिएर आऊ

जाँगर र उत्साह लिएर आऊ

पोहरपरारजस्तो हैन, यसपालि आउँदा

वैशाख, तिमी अर्कै भएर आऊ ।

हाम्रो रखवारी गर्छु भन्नेहरूले

धेरै चोटि झुक्याए हामीलाई

मर्का पर्दा नियाँ निसाफ दिन्छु भन्नेहरूले

थुप्रैचोटि अलमल्याए हामीलाई

यो अपराधै अपराधको दुनियाँमा

एक अञ्जुली विश्वास लिएर आऊ

भोकले आलसतालस छौँ हामी

एक मुठी आहारा लिएर आऊ

हाम्रो राजमार्ग हराएको छ

सक्छौ भने एउटा गोरेटो लिएर आऊ

हामीले फुलाएको फूल धूजाधूजा भएको छ

केही बिरूवाहरू पनि लिएर आऊ

पोहरपरारजस्तो हैन, यसपालि आउँदा

वैशाख, तिमी अर्कै भएर आऊ ।

पुराना काम नलाग्ने बाजा बोकेर

नयाँ संसारको गीत गाउनेहरू मनग्गे छन्

तिनीहरूका नकाब उतार्न

एउटाले मात्र सकिँदैन

तिमी थुप्रै र हज्जारौँ हातहरू लिएर आऊ

धेरै पटक हामीलाई जुधाएर

रमिता बटुल्नेहरू असङ्ख्य छन्

तिनीहरूका नक्कली अनुहार पखाल्न

तिमी सङ्लो र सफा पानी लिएर आऊ

हाम्रै छहारीमा पालिएका र पोसिएकाहरूले

हाम्रै उछित्तो काढेका छन्

तिनीहरूलाई नाङ्गेझार नपारी हुन्न

तिमी एउटा सङ्कल्प लिएर आऊ

हाम्रै रगत र पसिनाको बलमा

मुठ्ठीभर बाजहरूले

आफ्नो लागि स्वर्ग बनाएका छन्

ऊ, तिमी, म र हामी बस्न लायकको

अब एउटा नयाँ दुनियाँ हामी आफैँले रच्नुपर्छ

तिमी साँच्चैसाँच्चै इमान्दारी लिएर आऊ

पोहरपरारजस्तो हैन, यसपालि आउँदा

वैशाख, तिमी अर्कै भएर आऊ ।

हाम्रो आकाशले मात्रै केही हुँदैन

आधा आकाश छुट्ला फेरि !

तिमी एउटा सिङ्गै आकाश लिएर आऊ

पुराना, पाका र नौला कोपिलाहरूबिना पनि

हाम्रो बगैँचा उजाड देखिन्छ

तिमी त्यस्ता सम्पत्तिहरू पनि लिएर आऊ

अब काटमार, हत्या र लुटमार हैन

भाइचारा, सदभाव र मेलमिलाप लिएर आऊ

सबभन्दा ठूलो कुरा त

हाहाकार, छटपटी र कोलाहल हैन

सधैँका निम्ति अनि सबैका लागि

तिमी शान्ति, शान्ति र सिर्फ शान्ति लिएर आऊ

पोहरपरारजस्तो हैन, यसपालि आउँदा

वैशाख, तिमी अर्कै भएर आऊ ।

हेटौँडा–४, अभिकुञ्ज; मित्रनगर, मकवानपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।