गोधुलीको अस्ताउँदो सूर्य सँगै
ढल्केका यी पहाडहरु
किरणहरुको जमातलाई
जब बिदा गर्न मान्दैनन्
म मुस्कुराई मात्र रहन्छु
परिधीदेखी पर
एउटा अनुहार
तिर्खाएको सम्झन्छु
हाँगाहरुमा लुकामारी खेल्ने चराहरु
चुम्बन साटासाट गर्छन्
म भने नेपथ्य छेउ
त्यही अनुहारसित
सपना सजाईरहन्छु ।।
घडीको एकोहोरो तालमा
जब
खोला बगेजस्तो गर्छ
बतास चलेजस्तो गर्छ
असिमीत
नागबेली लहरहरु सित
जिस्केजस्तो गर्छु
र पौडिन थाल्छु
त्यही अनुहारभित्र
केही पल
केही साउतीहरु
मनले सुनाईरहँदा
झ्याउँकिरी सुसेल्न थाल्छे
र तिर्सनाहरुको
मेरो मधुमासमा
पर्दा लागेजस्तो गर्छ ।।
आजकल
मेरो पर्खाईहरुमा
त्यो दिन गाढा भएर टाँसिएको छ
जब म बटुवाहरुदेखी पन्छेर
वरपिपलु अँगालोमा
कुरिरहुँला
मेरो मायाको अनुहारलाई
यि हातहरु
जोरिरहनेछु
मैले नदेखेको भगवानको नाममा
कसैगरी पनि
नछुटोस्
मेरो संसार बोकेर आउने रेल
घुम्तीहरुमा
भिडभाडहरुमा ।।