18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साङ्केनका कुरा

कविता श्रीशीशा राई April 1, 2012, 3:29 pm

हामी बहादुर

आकाशवाट टिपेर ल्यायौँ

हाम्रो पहिचानको साङ्केन

तिमी पल्लो पट्टी

वल्लो पट्टी म

वीचमा साङ्केन

अब के गरौँ .........?

माझमा चिरेर बराबरी बाढौँ......

होईन......

सबभन्दा पहिला मैले छोएको नाताले

यसलाई म निधारमा टाँस्छु

हुँदैन.......

भुईमा मैले झारेको नाताले

यसलाई म मेरो धुरीमा सिउरिन्छु.......

बीचमा छ साङ्केन

छोईनसक्नु

हामी कुरिरहेछौँ

कतावाट.......

को हो आएर

टपक्क टिप्यो हाम्रो साङ्केन आँखैअघि

मन्दिर बनाएर देवथानमा राख्यो

र पुजा गर्न थाल्यो

अहिले साङ्केन

झलमल्ल ज्योति बलिरहेछ

हामी अक्क न बक्क छौँ

म तिम्रो उडेको अनुहार हेरिरहेछु

तिमी मेरो उडेको अनुहार हेरिरहेछौ

...............यसरी

कहिलेसम्म हेरिरहनु ?

(साङकेन (बान्तावा भाषा) = तारा)

तरहरा, सुनसरी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।