18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘समुद्र र सपना’ कथासङ्ग्रहमा जीवनका ससाना सन्दर्भहरु

कृति/समीक्षा ध्रुब मधिकर्मी December 27, 2011, 5:53 am

नेपाली समाज र नेपालीपनलाई नेपालबाहिर बसेर निरन्तर साहित्य सिर्जना गर्ने एकजना श्रष्टा हुन् कथाकार सञ्जु बजगाई । सरल तर सटिक ढंगले प्रस्तुत गर्ने उनको कथाको शैलीले उनलाई नेपाली कथाक्षेत्रमा अलग्गै परिचय दिनेछ । उनी नेपाली माटोभन्दा टाढा अत्यन्त व्यस्त ठाउँमा बसेर नेपाली चरित्र र मानसिकताका विविध पक्षका बारेमा कथालेखन गरिरहेकी छन् । वैदेशिक पृष्ठभूमिमा लेखिएका उनका कथाहरु नेपाली साहित्यका लागि नयाँ स्वाद र कोणका दृष्टिले उल्लेखनीय छन् । पात्रहरुको मनोविज्ञान र सामाजिक सरोकारसित जोडिएर निरन्तर परिवर्तन भइरहने मनस्थितिका बारेमा उनका कथाहरु प्रभावकारी छन् । उनका कथामा नेपाली चरित्रका आफ्नै विशेषताका अतिरिक्त आफू बसेको नयाँ र नौलो स्थानको मनोविज्ञान पनि घोलिएर आएको छ । जीवन र जगतका हरेक सन्दर्भसित जोड्ने यो प्रविधिले कथालाई सामयिक मात्र होइन जीवन्त पनि बनाउनेछ । उनको हालै प्रकाशित कथासङ्ग्रह ‘समुद्र र सपना’मा यस्तै विषयबोधका पन्ध्र वटा कथा समावेश छन् ।

‘समुद्र र सपना’मा पारिवारिक विघटन, नारीमाथि पुरुषको हैकम, नारी अस्तित्वको खोज, समलिङ्गी चेतना, द्धन्द्धले पु¥याएको चोट, माटोको मोह, मानवीय सम्बन्धको औचित्य र संवेदनाको सापेक्ष स्थिति आदि विविध विषयमाथि लेखिएका कथा छन् । यस संग्रहमा भएका अधिकांश कथाहरुमा वैदेशिक पृष्ठभूमि आएको छ । नेपाली समाज अब आफ्नो मौलिक स्वरुपले मात्र बाँचिरहनसक्ने अवस्था छैन । विदेशसित पनि यो गहिरोसंग जोडिन थालेको छ । कथाकार सञ्जु बजगाई स्वयम पनि धेरै वर्षदेखि विदेश बस्दै आइरहेकीले पनि कथामा त्यसको छाया धनीभूत रुपमा आउनु स्वाभाविक छ । यद्यपि अहिलेको नेपाली समाजको एउटा यथार्थ भनेको बाहिरी समाजसितको खुल्लेआम सरोकार पनि हो । रोजगार, पर्यटन, बसाइसराइ र सुखसुविधाको खोजका लागि मान्छेहरु विदेशतिर जान रुचाउँछन् । ‘समुद्र र सपना’, ‘बन्दझ्याल’, ‘क्रसरोड’, ‘फेरि उही सपना’, ‘एम्बुस’ आदि कथामा त्यो सरोकार देख्न सकिन्छ ।

अहिलेको नेपाली समाज र चरित्र धेरै हदसम्म मौलिक परम्पराबाट भिन्न अवस्थामा छन् भने कतिपय मानवीय सन्दर्भहरुलाई परिवर्तनले रत्तिभर नछोएको देखिन्छ । आज नेपाली समाज पारिवारिक विघटन, पलायन र परालम्बीय स्थितिहरुले गाँजिएको छ । भौतिक सुविधाहरुले मानवीय पक्षहरु हराउँदै जान थालेको छ भने अर्कोतिर त्यसैको खोजीका लागि आतुरी पनि छ । एकातिर माटोको माया यथावत् छ भने अर्कोतिर माटो भनेर बसिरहन सक्ने अवस्था छैन । कोही विदेश पुग्नासाथ परिवर्तन भएका छन् भने कोही वर्षौं विदेश रहेर पनि आफ्नो पहिचानलाई जोगाएर बाँचिरहेका छन् । समुद्र र सपना कथामा कान्छ्यामाप्रतिको हार्दिकताले एकातिर मानवीय अनुभूतिलाई भौतिक सुविधाले छेक्न नसकेको यथार्थ छ भने अर्कोतिर ‘गुलाबी फ्रक’ र ‘बन्दझ्याल’मा भौतिक सुविधाप्रतिको बढ्दो आसक्ति देखिन्छ ।

शैली, भाषा, विषय र प्रयोगका दृष्टिले संग्रहमा ‘समुद्र र सपना’, ‘क्रसरोड’, ‘गुलाबी फ्रक’, ‘एम्बुस’, ‘अर्को मोड’, आदि कथा सशक्त र प्रभावकारी छन् ।

प्रयोग र मानवीय स्वभावको चित्रणका दृष्टिले संग्रहको एउटा सशक्त कथाको रुपमा ‘गुलाबी फ्रक’लाई लिन सकिन्छ । यद्यपि संकलनको शीर्षक राखेको दृष्टिले लेखक बजगाईलाई मनपरेको कथा ‘समुद्र र सपना’ हो । ‘समुद्र र सपना’मा संवादमा जुन प्रकारको स्वाभाविकता र मानवीय संवेदनाको चित्र छ त्यो निकै प्रभावकारी छ । कान्छ्यामासित जोडिएको पुरातन समाज, उनले टुहुरी केटीलाई गरेको स्नेह र जीवनको बाटो चुन्न दिएको आडभरोसा निकै मार्मिक छ । जीवनमा भोगेको अथाह पीडाका कारण उनीभित्र रहेको वैयक्तिकता, बृद्धावस्थामा पनि सिंगारिने रहर जीवन्त रहनु, पारिवारिक विघटनले पलाएको स्वार्थ र आफ्नै निम्ति बाँच्ने जुन जिजीविषा पलाएको छ त्यो निकै सुन्दर ढंगले आएको छ । तर जसले कहिल्यै समुद्र देखेकी छैन उनैलाई समुद्र हेर्ने रहर हुनुमा भने स्वाभाविकता देखिन्न । यहाँनिर कथाकारले कथाको आवश्यकताका लागि त्यो ईच्छा गरेको हो कि भन्ने लाग्छ । कथाको अन्त्य विषयअनुरुप प्रभावकारी हुन नसकेबाट पनि त्यो ईच्छा संयोजित देखिन्छ ।

तुलनात्मक रुपले ‘समुद्र र सपना’मा भन्दा ‘गुलाबी फ्रक’मा विषय सामान्य छ । तर यसको प्रस्तुतिमा भएको प्रयोग र मानवीय पक्षको स्वाभाविक चित्रणले कथालाई सशक्त बनाएको छ । प्रारम्भिक वाक्य र पहिलो परिच्छेदमा भएको दुईमा एक आफ्नै पुरानो आकृति भन्ने वाक्यांशले कथालाई सरल र रहस्यमयी ढंगले उठान गरिएको छ । आफ्नो अतीतलाई वर्तमानमा केलाउने, आरोपित पात्रका माध्यमबाट कथालाई नयाँ रुपले पुनरावृत्ति गर्ने र गरीवी, अभाव र वितृष्णाले जीवनमा सुखसुविधाको कति महत्वपूर्ण स्थान हुन्छ भन्ने विषयलाई अनौठौ ढंगले अनुभूति गराइएको कथा हो यो । त्यो सानी पात्रलाई आफ्नो घर माटो आफन्तको परवाह नहुनु जीवनको कस्तो विडम्बना ! कथामा यो निकै प्रभावकारी रुपले आएको छ ।

‘क्रसरोड’ कथामा मुलुकको द्धन्द्धले गर्दा विदेश पु¥याइएकी किशोरीको मानसिक पीडा र माटोको स्मृति छ । यो मानवीय संवेदना र नातासम्बन्धको कथा पनि हो । ‘अर्को मोड’ नेपाली कथासाहित्यमा आएको नयाँ विषयको कथा हो । लोग्नेबाट टाढिएकी तथा परित्यक्त झैं भएकी नारी कसरी समलिङ्गी सम्बन्धप्रति आकर्षित हुँदैजान्छिन् त्यसको राम्रो चित्रण छ यस कथामा । समलिङ्गी सम्बन्धको पृष्ठभूमिमा लेखिएको यस कथामा जिन्दगी खुसीसाथ बिताउन लोग्नेमान्छे नै चाहिन्छ भन्ने नभएको सोचमा पुगेकी एउटी नारीको मर्म छ ।

‘एम्बुस’ कथामा पनि सामान्य विषय छ तर मानवीय स्वार्थ र व्यक्तिभित्र रतिरागको एउटा पक्ष कसरी नजानिंदो रुपले झ्यांगिएर बस्दोरहेछ भन्ने तथ्यलाई यस कथामा राम्ररी देखाइएको छ । कथाको अन्त्य पनि प्रभावकारी छ । तर ‘ग्यासच्याम्बरको छेउबाट’ राम्रो र नारी सशक्तिकरणको कथा भइकन पनि यसको अन्त्य भने त्यति प्रभावकारी हुन सकेको छैन । ‘आत्महत्याको श्रृङ्खला’, ‘विद्रोह’ आदि कथाहरु त्यति प्रभावकारी छैन । ‘आत्महत्याको श्रृङखला’मा आत्महत्याकै प्रसङ्ग मात्र भयो । ‘विद्रोह’मा विषय असन्तुलित र कथावस्तु बरालिएको छ ।

‘सप्तकोसीको किनारबाट’मा स्वास्नी मरेपछि पुरुषलाई खासै असर नपर्ने र अधवैंशमा पनि अर्को बिह गर्छन् भन्ने देखाइएको छ । तर कथाको पहिलो खण्डमा गर्मीको बेला खोलामा नुहाउन जाँदाको अवस्था र खोलाले बगाएको प्रसङ्ग निकै मार्मिक र प्रभावकारी छ । ‘मार्गरेट र मेरी आमा’, ‘फेरि उही सपना’, ‘ईष्र्या’ र ‘सम्बन्धको दूरी’ आदि कथा पठनीय छन् ।

कथाकार सञ्जुका कथाहरुमा जीवनका ससाना सन्दर्भहरु निकै सुन्दर ढंगले आएका छन् । उनका पात्रहरु परिचित मात्र होइन जीवन्त पनि छन् । भाषा परिपक्व र सटिक प्रस्तुतिले एकप्रकारको प्रभावकारीता पैदा गर्छ । छोटा छोटा वाक्यहरु र सरल शब्दावलीले गर्दा कथाहर संप्रेष्य छन् तर उनका कथामा चरित्रको पुरा परिचय र परिवेशमा भने केही कमजोरी छ । कथामा भूमिका र पृष्ठभूमि अपेक्षाकृत कम छन् जसले पाठकलाई कथाको पुरा तृप्ति नभएको अनुभूति हुन्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।