18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सपनाको वारीपारी

कविता श्रीशीशा राई October 25, 2011, 4:57 pm

कतै निदाईहाले पनि अबदेखि

कहिल्यै पुरा नहुने सपना नदेखुँ भनेर

सुतेको हुँ म

निदाउनु एकछिन अघिसम्म पनि

दुनियाँलाई सपना मात्रै नबाढुँ भनेर

मुठ्ठी उठाईरहेको थिएँ

सपनामा–

मेरो देशभित्र एउटा देश माग्छ हाङ बुद्धिकर्ण

तर देश देश जस्तो हुनलाई शान्ति चाहिन्छ भन्छ

चमार हल्लाउँदै उसले ढ्या......म्म ढोल बजाएपछि

मैले सौहार्दतामा जाँडको एक सुरुप पिएँ र

एउटा शान्त देश हातमा राखिदिएँ

उसले जीतको उल्लास मनायो

विउँझिदा

विपनासँग समागमका लागि

मेरो पाइला एक कदम अघि थियो

यहिनेर लोडसेडिङ, भोक र अँध्यारो बाटो थियो

आफ्नै लामखुट्टेहरुले झुलको छिद्रवाट चोरेर

मेरो पाखुरा चुसेछन्

कन्याउँदा कन्याउँदै

भुईमा खसेको कलम टिप्न पाइनँ मैले

सँगै सुतेकी मेरी श्रीमति विरालो झैँ घुरिरहेकी छ

म उनलाई विउझाउन सक्दिन किनभने

अन्तरसंघर्ष छ, बोलचाल छैन

ई यसरी,

विपनातर्फको मेरो यात्रा अल्मलिन्छ

र मेरा सपनाहरु सँधै व्यर्थ हुन्छन्

तरहरा, सुनसरी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।