18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हाम्रो प्राप्ति : हाम्रो नियति

कविता जगदीश घिमिरे September 18, 2011, 5:14 pm

नेपाल आमाको एक लाख चालिस हजार किलोमिटर

क्षेत्रफलमा

एक चौथाइ हिमाल छ – टोक्नु भएन

एक चौथाइ भीर पहरा छ – दार्नु भएन

एक चौथाइ वन छ – मास्नु भएन

बाँकी एक चौथाइ जे छ – त्यहाँ खेतीपाती पनि छ

गाउँ सहर लेक बेसी र बस्ती पनि छ

त्यहाँ दिनको दुई हजार अम्सियारहरू जन्मन्छौँ

एक हजार मर्छांै

एक हजार बाँच्छाँै र जम्मा अम्सियारहरूको सङ्ख्यामा दिनदिनै थपिन्छौँ

छिमेकबाट पनि राम्रै थपिन्छौँ

यसरी यस वर्ष एक करोड चालीस लाख जनसङ्ख्या पक्कै पुगेका छौँ

प्रत्येक नेपालीका अंशबन्डामा दस मिटर लामो दस मिटर चाक्लो

जमिनको एक चौटो पर्छ

हाम्री आमाले हामीलाई जन्मसिद्ध सन्तानका रूपमा स्वीकार गर्दै आफ्नो

छातीमा पारेर दिएको

त्यही हो हाम्रो प्राप्ति

त्यही हो हाम्रो नियति

हाम्रो त्यो प्राप्ति, त्यो नियति त्यो जग्गाको

लम्बाइ चौडाइ क्षेत्रफल गहिराइ र उब्जनीसमेत

हाम्रा सक्कली र नक्कली अम्सियारहरूको बढोत्तरीले

दिनदिनै घट्तै छ

दामासाही प्रत्येकलाई पर्ने सरदर आधा रोपनीको

त्यस चौटामा पनि

नहुनेको केही हुँदैन

हुनेका घर झुप्रो हुन्छ

गोठ कटेरो करेसाबारी सानु आँगनी तुलसीको मठ

एक दुईवटा गाईबस्तु हुन्छन्

सुखदुःख बाबुआमा छोराछारी दाजुभाइ दिदीबैनी

शत्रुमित्र नातागोता

सबै त्यतिभित्रै अटाउनुपर्छ

जन्मने ठाउँ मर्ने ठाउँ दान गर्ने ठाउँ खेल्ने ठाउँ रुने ठाउँ

कमाउने ठाउँ रमाउने ठाउँ

सबै त्यहीँ पु¥याउनुपर्छ

हामी भाग्मानी छौँ –

हामीलाई एकलौटी चिहान चाहिँदैन

पोलिएर खरानी हुनुसम्म त हो –

साझा मसान भए पुग्छ

नेपाल आमाले दिएको त्यो साझा मातृत्व

तिनका सन्तानका अनुसार फरक छ

कसैसँग त्यही आधा रोपनी जग्गामा बागबगैँचा हुन्छ

स्याउ सुन्तला फल्छ अट्टालिका उभिन्छ

धानको बाला र तोरीको पूmलमा सुन झुल्छ फुल्छ

कसैसँग त्यही आधा रोपनी दामासाहीमा सिस्नुको झाङ हुन्छ

अथवा हुन्छ वेलको घारी

हात्तीबारको काँढा

कसैसँग बलौटे मरूभूभि

कसैसँग भलबाढी भेल

कसैसँग दुर्गन्धी नाला

कसैसँग टेक्न मखमली गलैंचा

कसैसँग निदाउन रछान निदाउन रछान निदाउन रछान ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।