हराउँदैन सिनो आफैं, चिल चाहिन्छ भन्छिन् !
काँडा बिज्या घाउ थाक्न, खिल चाहिन्छ भन्छिन् !!
कति कठोर रै'छौ तिमी, भन्दै रिसाएर !
नौनीजस्तै सुकोमल, दिल चाहिन्छ भन्छिन् !!
पैसा अन्तै खर्च गर्छ, भन्ने शंका गर्दै !
कहाँ केमा खर्च भयो, बिल चाहिन्छ भन्छिन् !!
खुसी हुँदा मख्ख पार्दै, फकाउँछिन् कहिले !
अनि सधैं साथमा मलाई, 'निल' चाहिन्छ भन्छिन् !!