सिर्जनशील पसिनाले सिञ्चिदै
मग्मगाएको मेरो माटो
मुठ्ठीमा उठाउँदै म खोजिरहेछु—
मेरो परिचय ।
जहाँबाट म उठ्न सकूँ
सजाएर स्वाभिमान — आफ्नै पौरखमा ।
म सलाम चढाउँछु
मेरा किसानी बालाई
जसका कर्मठ हातहरुबाट बगेको
रक्तकणमा देश फुलेको छ ।
मेरी आमाको अर्धनो चोली पनि कम छैन,
जसले स्वाभिमानी सन्तान हुर्काउने
स्तन सुरक्षित राखी क्रान्ति गरिरहेछ ।
“चाहे छट्पटिऊँ बगरमा — प्यासले,
चाहे छिरुन् छातीमा — गोलीहरु
तर,
बेचिनुहुन्न सगरमाथा
र
लुटिनुहुन्न लुम्विनी ।”
यसै भन्नुहुन्थ्यो हजुरबुबा—
“परिआए तैँले लेख्ने कलम
सीमाको खम्बा बनाउनुपर्छ—
लगेर दशगजामा ।”
म पाठ सिकिरहेछु—
मेरा अग्रजहरुबाट,
देश खुम्चिनुहुन्न सीमामा
इमान बेचिनुहुन्न आश्वासनमा ।
रात पूर्णिमाकै भएपनि अविश्वासी हुन्छ ।
त्यसैले,
शिर झुकाउनुहन्न ।
सजाएर छातीभरि — इमान्दारितालाई
सुरक्षित गर्नुपर्छ—
स्वतन्त्रताको अङ्कुरित पालुवालाई ।
मेचीकालीको जलप्रवाहमा
पसिनाको नुनिलो स्वाद मिसिनुपर्छ
र
अस्ताउन दिनुहुन्न,
कर्मभूमिको प्रत्येक कण कणमा
आश्थाको चन्द्रसूर्य ।
तबमात्र बन्नेछौँ—
स्वाभिमानी नेपाली ।
पन्द्रुङ्ग–१, गोरखा