18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

संक्रमणकाल

कविता श्रवणकुमार ढुंगाना July 20, 2011, 9:12 pm
श्रवणकुमार ढुंगाना
श्रवणकुमार ढुंगाना

पानी रंगिन छ

बासना छ मिठो— विषको !

दुध रंगहीन÷स्वादहीन !

धमिलो नदी उकालो चढिरहेछ

सागर अग्लिंदैछ

सगरमाथाको गहिराई बढिरहेछ

हावा जड छ रुख झैं

रुख चलिरहेछ हावा भएर !

पुरुषहरू गर्भवान छन्

स्त्रीहरू गर्दैछन् विर्यदान !

सडकहरू भरिभराउ छन्

पसल, सभा, जुलुस र सम्मेलनले

मोटरहरू खाज्दैछन्

हिंड्ने बाटो— घर भित्र !

एघार–बाह्रका कुमार कुमारीहरू

सराप्दै हिंडेका छन् आफैलाई

आफ्नो दुर्भाग्यबस नतोडिएको कौमार्यलाई !

धारा हावा ओकालिरहेछ

विजुली अन्धकार

रगत प्यास मेटाइरहेछ

सत्ता भोक !

जिब्रो थुतेर बेचेका छन् कचिला

र लिएर हिंडेका छन्

बोल्ने लाठी, खुकुरी र बन्दुक !

गिदी पोलेर खाएका छन्

र खोलेका छन्

भाँषणका फोनबाजा !

गाई गधा बनेको छ

गधा गाई !

भनिरहेछ अगुवा

एउटै कुरा दोहो¥याई दोहो¥याई

................सुन्दा सुन्दा

मानिस बहुलाएको छ !

नग्न कुर्लिरहेछ नग्नताको विरुद्ध

कैलास पर्वत भैंm उभिएर !

सवस्त्रीहरू हिंडेका छन्

आँखा झुकाएर !

ड्राइभर भारा उठाउँदैछ

कन्डक्टर चालाउँदैछ बस

यात्रु लिंदैछन् मोबाइलमा

आफन्तसँग अलविदा !

छोराहरू सुतेकाछन्

चितामा लम्पसार

बाउहरू दिंदैछन् दागबत्ती !

अबोध नाति–नातिनाहरू

लुकेका छन् घर भित्र

छेस्किनी लगाएर

सरकारको डरले !

यहाँ इतिहाँस भन्नेहरू छन्

बुझ्नेहरू छैनन्

यहाँ भविष्य गन्नेहरू छन्

सोंच्नेहरू छैनन्

यहाँ वर्तमान भोग्नेहरू छन्

बोक्नेहरू छैनन् ।

कसले भन्ला र ?

एकान्तमा मानिसको आवाज मात्रले पनि

मन ढुक्क हुन्छ—

यो भूतकाल होइन

कसले भन्ला र ?

हामी स्वर्णिम ईतिहाँस निर्माण गर्न

लागिपरेका छौं—

यो वर्तमान काल होइन

कसले भन्ला र ?

मानिस फेरि समाज तिर फर्कंदै छ—

यो भविष्यकाल होइन

अहिले त

एकान्तमा मानिसको आवाज मात्रले पनि

मन ढक्क फुल्छ—

यो त संक्रमणकाल हो !!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।