संसारमा जसो-तसो, बाँचेकैछन् मान्छे
कसो-कसो किर्ते हाँसो, हाँसेकैछन् मान्छे ।
प्रेम भुले ईश्वर छुट्यो, कहाँ छ खै धर्म
तर आस्तिक आफूलाई, मानेकैछन् मान्छे ।।
कलह छ जताततै, शान्ति छैन कतै
ईर्ष्या अनि अहङ्कारमा, फाटेकैछन् मान्छे ।।
कसैलाई थाहा छैन, भोलि कस्तो हुन्छ
फेरि पनि लाखौं स्वप्न, पालेकैछन् मान्छे ।।
कोही छैन दिने यहाँ, सबै लिने मात्रै
खालि आफ्नो दुनो भर्न, लागेकैछन् मान्छे ।।
ईच्छामाथि अर्को ईच्छा, लोभमाथि लोभ
सुख भन्दै दु:खहरु, खापेकैछन् मान्छे ।।
आनन्द छ 'संसार' यो, भन्छ संगै रमाउँ
होश छैन दुखी आँसु, झारेकैछन् मान्छे ।।