आँखा चहकिलो पादै मलाई कुरिरहेकी वामाङ्गी
म भर्खरै काठमाडौंबाट फर्कदाँ बोकेको झोला
हतारले हातमा लिँदै दैलाको ठेलाबाट भित्र छिराउँछिन् ।
काठमाडौं जाँदा झोलामा उनले
नागरिकताको प्रमाणपत्र
जागिरको परिचयपत्र
पढ्न राजधानी छिरेका छोरीहरूलाई ‘केही’
मेरा अप्रकाशित कविताका अमुक थान चिर्कटाहरू
नियमित औषधिका केही मात्रा/चस्मा राख्ने खोल
र एकाध जोर लाउने फार्ने लुगाफाटा
अँ नपढेका स्वनामधन्य लेखकका पुस्तक पनि
खाँदि दिएकी थिइन् ।
मैले काठमाडौं पुग्ने बित्तिकै सबै खन्याएँ —
सिर्फ नागरिकताको प्रमाणपत्र/परिचय पत्र/पढ्न बाँकी किताब
अन्यमनस्क मन र थिग्रिएका संगत/विसंगत विचारका केही थाकहरू बाहेक ।
फकँनु त छँदैथ्यो –
फर्कँनलाई झोलामा बोकें
तात्तातो किताब(जो भर्खरै छापिएर लेखकलाई ‘सेलिबे्रटी’ बनाइरहेको थियो )
मेरो ठाँउमा अप्राप्य पत्रिकाहरू
औषधि त भर्खरै सकिएको थियो कुरै भएन
मैला लुगाका पोका
दिमागमा सम्पादकज्यूको गह्रुँगो आश्वासनको धङ्धङी ।
फुर्सद मिल्ने बित्तिकै श्रीमती झोला केलाउन थाल्छिन् —
मैलो न मैलो लुगा
कोठामा राख्ने ठाँउ नहुँदा पनि थन्क्याउनु पर्ने किताब र पत्रिका डङ्गुर
चुँडिएको फित्तायुक्त रङ् उडिसकेको झोलाभित्रको
खालीपन........................।