शान्त सुन्दर तलाउको पत्थर फोड्ने तिमी को हौ ?
अटुट हाम्रो विश्वासको शिशा तोड्ने तिमी को हौ ?
अलौकिक शुन्यतामा मौलाएको शीतल जुनलाई,
खहरे त्यो खोलाबीच एक्लै छोड्ने तिमी को हौ ?
काम लाग्दा लोटाएर कामपछि मिल्काइदिने,
चैटिएरनि टुटिसक्या नाता जोड्ने तिमी को हौ ?
वसन्त नि बिताइदिएँ वर्षाभरि भिजिरहें,
मेरो नाममा शरदमा छाता ओढ्ने तिमी को हौ ?
बाँच्नसम्म बाँचेकै थें, हाँस्न पनि हाँसेकै थें,
विशद् मेरो गन्तव्यको बाटो मोड्ने तिमी को हौ ?
आश्वासनको खडेरीमा ओइलाएको यो 'पथिक'को,
विना कुटो कोदालो नै माया गोड्ने तिमी को हौ ?
काव्य कुञ्ज, भक्तपुर