उज्यालोलाई रोज्यौ तिम्ले, भागिन म बलिदिएँ ।
खरानी नै खोज्यौ तिम्ले, भागिन म जलिदिएँ ।
श्रम गर्न गाह्रो मान्यौ, फलमात्र खोजिरह्यौ ।
बिज बनी रोपिएँ म, भागिन म फलिदिएँ ।
सप्तरंगी संसार खोज्यौ, भेटिन्न यो थाहा थियो ।
निराश पार्नु किन व्यर्थ, भागिन म चलिदिएँ ।
जोश जाँगर छँदैछैनन्, अल्छी पनि कति तिमी ।
उत्साह दिँदै गएँ, भागिन म गलिदिएँ ।
बालुवामा पानी हाल्यौ, पानीमाथि आगो खोज्यौ ।
आगै बनी प्रहार गर्यौ, भागिन म छलिदिएँ ।
अभिलाषा धेरै पाल्यौ, कसले सक्थ्यो पूरा गर्न ।
सकेजति पूरा गरेँ, भागिन म ढलिदिएँ ।