18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बोध राज पन्त ‘अनागत’ May 15, 2011, 3:29 pm

केही आँशु केही हाँसो कर्कलाको पानी

थाहै नपाई चिप्लिएछ आधा जिन्दगानी ।

चंगा बनि बादलुको गाला चुम्न खोजें

कर्तब्यले रोक्यो सधैं धागो तानी तानी ।

उड्न खोज्दा आकास पनि सांघुरिदै गयो

मृगतृष्णा बढाएछु मैले जानी जानी ।

यो मेरो हो, यो तेरो हो, रेखाहरु खिचिरहें

मर्ने कला सिकि रहें बाँच्ने कला ठानी ।

नदेउ मन कसैलाई फीर्ता लिन सकिंदैन

फूल चुन्छु भन्दै कांढा चुनें छानी छानी ।

मणिग्राम, रुपन्देही

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।