विचारमा लागेको कालो धब्बालाई
आलोकमय बनाउन खोज्ने हामी
नियतमा तुष बाँकी राख्यौँ भने
कहाँ पुगिन्छ र गन्तव्यमा ?
हामीले त छुनु छ — विश्वास,
भेट्नु छ — लक्ष्य, टेक्नु छ —शिखर ।
त्यसैले,
यो यात्रामा इमान गुमाउनु हन्न ।
यो सभ्यताको यात्रा हो,
यो सत्यताको सुरुवात हो,
यात्रामा काँडाकै अवरोधहरू होलान्,
र लामो विकृतिका पर्खालहरू उभिएलान् ।
पन्छाउनु छ — काँडाहरू
भत्काउनु छ —पर्खालहरू
अनि,
सम्पन्न गराउनु छ — यात्रा ।
हिमालको कञ्चन हिउँ
पहाडको राताम्मे गुँरास
तराइको फराकिलो छात्ती
यी सबै भिर्न सक्षम हुनु छ यो यात्रामा ।
बनाउनु छ बाटो — हिउँको भाषमा
खन्नुछ खुड्किलो — पत्थरे पहाडमा
उर्मानु छ विश्वास — तराइको फाँटमा ।
यो स्वाभिमानको प्रतिबद्घ यात्रामा
आत्मसमर्पणको अबशेषसम्म बोक्नुहुन्न ।
अन्तिम विजयको निर्भिक यात्रा हो यो
हीनताबोधका विकृतग्रन्थीहरू हुर्काउनु हुन्न ।
त्यसैले,
संसार बदल्ने यो यात्रामा हामीले
सजीव संकल्प तुहाउनु हुन्न ।
पन्द्रुङ्ग १, गोरखा