18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कलर म्याचिङ

लघुकथा कृष्ण बजगाईं May 6, 2011, 3:29 am
कृष्ण बजगाईं
कृष्ण बजगाईं

शभा, सेमिनार, पार्टी, भोजमा सर्वत्र देखिने युगल जोडी देखेर धेरै जना रिशले डाहा गर्दथे । त्यो भन्दा बढी इष्र्या र डाहा त उनीहरुले लगाएको महँगा कपडा र गहनामा हुन्थ्यो । अरुलाई झन् औडाहा हुने कुरा चाहीं दुवैको ड्रेसको अनौठो कलर म्याचिङ थियो ।

लोग्नेको सुटसँग श्रीमतीको स्याण्डिलको कलर म्याच भएको देखिन्थ्यो । स्वास्नीको लिपिष्टिकको कलर र लोग्नेको टाईको कलर म्याच भएको देख्थे मानिसहरुले । स्वास्नीको हाते घडीको फित्ता र लोग्नेको कम्मर पेटीको कलर म्याचिङ देखिन्थ्यो । झन् श्रीमतीको कपालको रंग र लोग्नेको दाह्रीको गज्जबको कलर म्याचिङ देखिन्थ्यो । यो अजिब कलर म्याचिङलाई केही समयदेखि मानिसहरु नियाली रहेका थिए जो उनीहरुको लागि रहस्यमय लाग्दथ्यो ।

हेर्दा हेर्दै समय समयमा लोग्नेले दाह्रीमा थरी थरीका रंग दलेर जोकर जस्तै भएर हिँडेको देखियो । यस्तो बहुरुपी कार्य किन गर्छन् ? सबैलाई आश्चर्य भैरहेको थियो । पछि थाहा भयो श्रीमतीको कपालसँग उसको दाह्रीको कलर म्याच गराउनु पर्दा यस्तो हुँदो रहेछ ।

किन त श्रीमतीको केशसँग लोग्नेको दाह्रीको कलर म्याच गराएको ? थाहा भो लोग्नेको केश नै रहेनछ ।

किन यस्तो जोकरको जस्तो कार्य गर्न बाध्य पारियो त ? मानिसहरु गम खाँदै थिए । पछि थाहा भो उनकी कान्छी श्रीमती महिला पुरुष बराबर भन्दै हिंड्ने चल्तापुर्जा महिला अधिकारवादी नेतृ रहिछिन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।