18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

युध्दगीत

कविता जगदीश घिमिरे May 1, 2011, 4:07 pm

आऊ गीत गाऊँ युद्धको

हत्या र हिंसाको कहिल्यै नरोकिने शृङ्खलाको

समय बदलिएको छ

नयाँ सहस्राब्दीमा

खेलको नियम होइन

खेल नै बदलिएको छ

अघिजस्तो

भोगटे होइन

बम लात्तेभकुण्डो भएको छ

सुन्तला होइन

ग्रेनेड खाने कुरा भएको छ

लट्ठी होइन

राइफल डण्डी भएको छ

र कारतुस बियो भएको छ

खेल मार्ने र मर्ने भएको छ

नयाँ खेल भन्छ

ठोक् ठोक् ठोक्

हान् मार् काट् सिध्या

बम पड्का

आगो लगा

खबरदार त्यो उम्कन नपाओस्

त्यो हाम्रो शत्रु हो

जसरी पनि त्यसलाई मार्नु छ

त्यसको बाबुलाई मार्नु छ

त्यसको छोरालाई मार्नु छ

त्यसकी छोरीलाई मार्नु छ

त्यसकी स्वास्नीलाई मार्नु छ

त्यसको लोग्नेलाई मार्नु छ

त्यसको स्वजनलाई मार्नु छ

त्यसको मतियारलाई मार्नु छ

मार्नु छ मार्नु छ मार्नु छ

खेल नै यही हो कि मार्नु छ

कि मर्नु छ

उसले हात्र नपाउँदै

आफूले हात्रुपर्छ

उसले मार्न नपाउँदै

आफूले मार्नुपर्छ

दशैँमा मार्नुपर्छ

तिहारमा मार्नुपर्छ

तीजमा मार्नपर्छ

ईदमा मार्नुपर्छ

होलीमा मार्नुपर्छ

छठमा मार्नुपर्छ

लोसारमा मार्नुपर्छ

बुद्धजयनीमा मार्नुपर्छ

ईसा जयन्तीमा मार्नुपर्छ

घरमा मार्नुपर्छ

बसमा मार्नुपर्छ

जात्रामा मार्नुपर्छ

यात्रामा मार्नुपर्छ

मार्नु पर्छ मार्नु पर्छ मार्नुपर्छ

ताछेर चिरेर नुनचुक दलेर मार्नुपर्छ

घोचेर मार्नुपर्छ

रेटेर मार्नुपर्छ

ढुङ्गाले किचेर मार्नुपर्छ

पासो लाएर मार्नुपर्छ

ठटाएर मार्नुपर्छ

निसासेर मार्नुपर्छ

पानीमा चोपलेर मार्नुपर्छ

करेण्ट लगाएर मार्नुपर्छ

नङमुनि सियो रोपेर मार्नुपर्छ

जसरी पनि मार्नुपर्छ

अरू कुनै उपाय छैन

त्यसलाई मारेर नै सक्नुपर्छ

त्यसलाई मारेर नै जित्नुपर्छ

नमारे अर्धमृत बनाएर छाड्नुपर्छ

कोही उपचार गर्न, सहयोग गर्न तम्सियो भने

त्यसलाई पनि तिनै उपायले ठेगान लाउनुपर्छ

एकैपटकमा मार्नु हुँदैन

एकै गोलीले मार्नु हुँदैन

एकै चोटमा छित्रु हुँदैन

नाक काट्नुपर्छ

आँखा खोप्नुपर्छ

दाँत फुकाल्नुपर्छ

हात भाँच्नुपर्छ

गोडा भाँच्नुपर्छ

कुहेर मर्न छाडिदिनुपर्छ

जिउँदै गाडिदिनुपर्छ

गोडाको नङदेखि किच्दै मार्नुपर्छ

हातको हर्थुङ्गादेखि फुकाल्दै मार्नुपर्छ

पाता र निउँडी खुस्काउँदै मार्नुपर्छ

प्रत्येक अङ्ग ताछ्दै–चिर्दै मार्नुपर्छ

प्रत्येक अङ्ग भङ्ग गरिसकेपछि मात्र मार्नुपर्छ

बिस्तारैबिस्तारै यातना दिएर मार्नुपर्छ

यातनाको मजा लिएर मार्नुपर्छ

लड्दालड्दै सबै मर्नुपर्छ

हार्ने त मरेकै हुन्छ

जित्ने पनि मर्नुपर्छ

सबै मरिसक्नुपर्छ

सबै ध्वस्त भैसक्नुपर्छ

परिवार ध्वस्त हुनुपर्छ

समुदाय ध्वस्त हुनुपर्छ

राष्ट्र ध्वस्त हुनुपर्छ

पुलहरू भत्किसक्नुपर्छ

अस्पतालहरू ध्वस्त भैसक्नुपर्छ

पाठशालाहरू खरानी भैसक्नुपर्छ

सञ्चारहरू भङ्ग भैसक्नुपर्छ

सबैथोक भताभुङ्ग हुनुपर्छ

सबैथोक समाप्त हुनुपर्छ

युद्ध यथार्थ हो

युद्ध विज्ञान हो

युद्ध कला हो

युद्ध गर्नुपर्छ

युद्ध त्यतिन्जेल गर्नुपर्छ

जतिन्जेल एक जनासम्म पनि जिउँदो हुन्छ

मृत्यु नै नियम हुनुपर्छ

यो सिद्ध हुनुपर्छ

मृत्यु सबभन्दा सजिलो छ

हत्या सबभन्दा सजिलो छ

अपराध भत्रे कुनै कुरा छैन

अपराध–बोध नै अपराध हुनु पर्छ

यस युद्धको अन्तिम विजेता

त्यो लास हुनु पर्छ

जसले मुर्दा–शान्ति प्राप्त गर्नेछ

अनि यो देशले जुन अहिले अर्ध–मसान छ

पूर्णता प्राप्त गर्नेछ र पूर्ण मसान हुनेछ

अनि जित्नेले पनि हार्नेछ

र हार्नेले पनि जित्नेछ

यसका लागि युद्ध गर्नुपर्छ

युद्धको कुनै विकल्प छैन

युद्ध गर्नुपर्छ

युद्धको गीत गाउनुपर्छ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।