ऊ सहपाठीको तुलनामा आफुलाई दरिलै साहित्यकार सम्झन्थ्यो । उसका रचनाहरु मलाई कहिल्यै मन परेनन् किनकी ती रचनाहरुमा प्राय आफुले एकहोरो प्रेम गर्ने केटीको विषयमा भावहरु पोखेको हुन्थ्यो । कथा, कविता, गीत गजल मलाई सुनाएर उसले हैरानै पार्ने गथ्र्यो । हैरान म यसकारण बन्थे किनकी मलाई साहित्यमा रुचि थिएन । ऊ बारम्बार मेरो कोठामा आउथ्यो अनि आउने वित्तिकै नमस्कार भनेर आफ्नो नयाँ रचना भन्दै सुनाउन थालिहाल्थ्यो । म राम्रै रहेछ तिम्रो रचना भन्ने गर्थे या भनौं यो मेरो बाध्यता थियो । उसले सुनाएको रचनाको प्रशंसा नगरिदिए ऊ रिसाउथ्यो साह्रै रिसाउथ्यो तर म सित होईन आफ्ना रचना सित । अनि तत्कालै च्यातेर फ्यालिदिन्थ्यो । शुरुका दिनहरुमा त उसले च्यात्यो पनि किनकी उसको बानी मलाई थाहा थिएन तर आजकल म ऊ र उसको बानी देखि अभ्यस्त भैसकेको छु । मैले प्रशंसा गरिदिए वापत् ऊ मलाई सबै भन्दा मिल्ने साथी ठान्छ त्यसैले त ऊ मलाई पटक पटक नास्ता खुवाउन होटेल तिर लैजान्छ । उसले मलाई भनिरहन्छ । उसले आफु सँगै काम गर्ने केटीलाई मन पराएको कुरा । तर उसले मनको कुरा भन्न सकिरहेको छैन सो केटीलाई । केटीको बानी मन परेकोले मात्रै आफ्नो छनोटमा परेकी हो रे । म पनि उसको कुरामा साथ दिन्थे । ऊ हास्दै भन्थ्यो ए, ल म एउटा कविता भन्छु । हिजो राती मात्रै उसैलाई सम्झेर लेखेको कविता हो यो । अनि म चुपो लागेर मनमनै दिक्क मान्दै सुनिदिन्थे । उसले वाचन गरिसकेपछि म क्या दामी कविता भनेर तारिफ गर्थे ।
एक दिन ऊ विहानै मेरो कोठामा आत्तिदै आयो । म बेडमै पल्टीरहेको थिए । उसको अनुहार डर र आशंकाले भरिएको थियो शायद मेरो अनुमानमा । “किन विहानै आएको यार ?” मैले सोधे, “केही समस्या पर्यो कि ?” उसले लाज र डर मिसिएको भावमा भन्यो “उसले त मैले माया गर्छु भन्ने कुरा थाहा पाईछ ।” पलाष्टिकको निलो कुर्सीमा बस्दै भन्यो “क्या बोर भयो भन्या ।” उसको अनुहारमा निरासाले ठाउँ लियो । मैले सिरकबाट निक्लिएर बस्दै भनें “ल राम्रै भयो नि, त्यसो भए त उसले स्विकार गरिहोला नि है, तिम्रो प्रेमलाई ।” टेबुलमा राखिएको कोकको बोतलको पानी पिएर सकिएपछि खाली बोतल खेलाउदै भन्यो “के को स्विकार गर्थी हाकिमलाई भनिदिईछ, अनि मलाई त हाकीमले बोलाएर गाली गर्नु सम्म गरे । आईन्दा यस्तो केही थाहा पाएमा जागीरबाटै निकाली दिने रे । एनजिओमा काम गर्ने कर्मचारी नैतिकवान हुनुपर्छ रे, साले हाकिम आफुले भने दश वर्ष कान्छी, छोरी भन्न सुहाउने सँग विहे गरेको छ ।” उसले पड्कदैै भन्यो । यस्तो जाबो एनजिओको जागीर बरु छोडिदिन्छु कसैलाई माया गर्नु गल्ति हो र ? भन त, के मैले गल्ति नै गरें र ?” आफुलाई निर्दोष देखाउने प्रयत्न गर्दै भन्यो । म चुपचाप रहें । ऊ भन्दै गयो । “हैन, त्यो केटीले पनि त मलाई मन पराएको जस्तो लक्षण देखाउथी । एक दिन बजार पनि सँगै घुम्न गएका थियौं । भर्खर बजारमा आएको मफलर, तिमीलाई सुहाउछ भन्दै मलाई किनिदिएकि थिई । मैले पनि उसलाई दामी पर्स किन्द्याथे । अझ उसको प्रेममा मैले साहित्यका सबै विधामा रचनाहरु सिर्जना गरें तर ........” यति भन्दै उसले मेरो अनुहार नहेरेरै ओठ लेब्र्यायो । मैले अझै केही बोलिन । किनकि उसले अझै केही भन्न बाँकी थियो जुन कुरा उसको अनुहारले बताएको थियो । उसको कुरा सुनेपछि मलाई पनि वास्तवमा दुःख लागेको थियो तर यस मानेमा दुःख लागेको थियो कि ती केटीले हाकीमलाई नभन्नु पर्ने । “म आजै जागिर छोडिदिन्छु ।” ऊ ठुलो स्वरले कराउदै मेरो आँखामा हेरेर भन्न थाल्यो । “ तलब पनि कति नै छर ? आठ नौ हजारको जागिर त्यो पनि साला हाकिमको खुट्टा मोल्नु पर्ने, बरु बेरोजगारी बस्छु । घरकै काम गर्छु ।” आज उसमा धेरै परिवर्तन देखा परेको थियो । हिजो अस्तिको उसको साहित्यिक मन ऊ बाट हराएको थियो । ऊ कतिबेला त्यो हाकीम र त्यो केटीको नाम लिदैं गाली गथ्र्यो त कतिबेला आफ्नै भाग्य खत्तम रहेछ भनेर चित्त बुझाए झै गथ्र्यो । मलाई भने आज उसको कविता सुन्न मन लागेको थियो, उसले विछोडको कविता कस्तो सुनाउथ्यो भनेर तर उसले साहित्यका कुनै रस सुनाएन ।
मलाई साहित्य भन्ने चरा नै मन पर्दैन शायद आफुलाई साहित्यको बारेमा रुचि नभएर या भनुँ ज्ञान नभए पनि होला । मलाई लागेको थियो ऊ अब पहिलेको भन्दा पनि अब्बल साहित्यकार हुनेछ । किनकी पटक पटक ऊ आफैले भनेको सुनेको थिए कि साहित्यकार हुन त कि म जस्तो प्रेममा पर्नुपर्छ, कि त धोका खानुपर्छ या भनँु गरिविले सताउनुपर्छ । तिमी त केको साहित्यकार बन्न सक्छौ होला र ? यी तीनवटै कुराको अनुभव तिमीलाई छैन, म हाँस्थे मात्र । पहिले पहिले उसको आगमन मलाई दिक्क लाग्ने गथ्र्यो तर आजकल उसको अनुपस्थिति मलाई न्यास्रो लाग्ने थालेछ । ऊ नआउदा माात्र थाहा पाएँ । ऊ धेरै समय मेरो कोठा नआएपछि म नै उसको घरमा गएँ । तर आजकल त ऊ साहित्य बाट निकै टाढा भएको रहेछ । जागिर पनि छोडिसकेछ । म घर पुग्दा कुखुरालाई चारो हाल्दै थियो । उसले कुखुरा पालन गर्न थालेछ मैले सहजै अनुमान गरें । नजिकै रहेको गुन्द्री मेरो लागि राखिदिदै आफुले किट्लीको पानीले हात सफा गर्यो । र भन्यो । कहाँबाट बाटो विराएको यार । मैले हास्दै भनें, होईन तिमी कोठामा नआएपछि माया लाग्यो अनि आएँ । ऊ हलुका हास्यो मात्र । तिमीले त जागीर पनि छोडेछौ किन एक्कासी छाडेको यार ? भो त्यो जागिरको कुरा नगर , मलाई एलर्जी हुन्छ । ऊ बम्क्यो । एक छिन शान्त भएपछि मैले भनें, मलाई तिम्रो कविता सुन्न मन लागेर यहाँ आएको हुँ, नसुनाउने ? मेरो कुरा सुनेर ऊ हास्यो । ठट्टा किन गर्छौ ? तिमीलाई साहित्यका कुनै कुरा मन पर्दैन मलाई थाहा छैन । तर पनि तिमीले मेरा रचनाहरु मन नपरेपनि मन लगाएर सुन्ने गथ्र्यौ शायद नसुन्दा मैले चित्त दुखाउछ भन्ने लाग्थ्यो तिमीलाई । मलाई थाहा थियो कि तिमी मैले वाचन गरेका गजल कविता सुन्न मन पराउन्नथ्यौ त्यहिपनि मेरो लागि सुनिदिन्थ्यौं, दाहिने आँखा हत्केलाले मिच्दै भन्यो । तर आजकल त मलाई छटपटी हुन्छ सुन्नको लागि । तिमी आउन छाडेपछि मैले थुप्रै साहित्यिक कितावहरु किनेर राखेको छु जुन पुस्तकहरु भाईलाई वाचन गर्न लगाएर मैले सुन्ने गरेको छु । तिमीले मेरो बानी विगार्यौं । मैले आफ्नो यथार्थ कहानी सुनाएँ । ऊ छक्क पर्यो । बोल्न सकेन । उसको निधार तन्केको थियो अनि आँखाहरु सन्केका थिए ।
मलाई आज उसले आफ्नै घरमा बस्न भनेको थियो । शुरुमा मैले मानिन तर भनेको नमाने मसँग कहिल्यै नबोल्ने गम्भीर भएर जब निर्णय गर्यो अनि म बाध्य भएँ । उसले लोकल कुखुरा काटेर फ्राई गरिसकेको थियो मेरो निम्ति भन्दै । उसको आमा र बा पनि काम बाट फर्किसकेका थिए । उसकी बहिनी भने भर्खरै आएकी थिई । दिनभरी कहाँ गएकि थिई मलाई थाहा हुने कुरै भएन र थाहा पाउन मन पनि लागेन । म उसको मिल्ने साथी भनेर बाआमा र बहिनी सित परिचय गरायो । उसको कोठामा थुप्रै साहित्यिक कृतिहरु यत्रतत्र छरिएका थिए । उपन्यास, कथा, कविता, गजल लगायतका थुपै्र पुस्तकहरु थिए । धेरै समय देखि ती पुस्तकहरुको बेवास्ता गरेकोे हेर्दा प्रस्टै बुझिन्थ्यो । पछिल्लो समयमा साहित्य प्रति आफ्नो रुचि बढेपछि मैले पनि आफुले केही कविता र गजल सिर्जना गरेको थिए । जुन डायरी बोकेकै थिए । मैले उसलाई सुनाउन चाहें बेलुका सुत्नेबेलामा । तर उसको मनस्थिति साहित्यबाट धेरै टाढा भागिसकेको रहेछ । मैले उसको क्रियाकलाप बाट बुझें । तर पनि यो साहित्य सिर्जना भन्ने कुरा अरुलाई नसुनाई पनि सन्तुष्ट भईदो रहेनछ, मैले बल्ल बुझें । उसलाई अब साहित्य मन पर्दैन भन्ने बुझ्दा बुझ्दै पनि मैले सुनाएँ मेरा कविताहरु । उसको अनुहारमा दिक्क लागेजस्ता भावहरु झल्किरहेका थिए तर मलाई त्यससँग मतलब थिएन किनकी मलाई त आफ्नो रचना सुनाउनु थियो, मलाई रहर थियो आफ्नो रचना सुनाउन । मैले वाचन गरेपछि उसले भन्यो, आहा कस्तो राम्रो कविता ! उसले मेरो कविताको प्रशंसा गरे पनि मलाई खुसी र सन्तुष्टि मिलेन । मलाई लाग्यो उसले मेरो कविताको तारिफ गरेर शायद कुनै समयको बदला मसित लिईरहेको थियो । तर मैले ऊ सँग बदला लिएको थिईन ।
जाजरकोट