18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आतङ्क

कविता सुधीर छेत्री April 28, 2011, 6:13 pm

हाम्रो नजीकमा फुलिरहेका

लटरम्मे उज्यालोका फूलहरू

एक-एक गर्दै

अज्ञात प्रमेथियसले चोरिलगे,

अब अँध्यारोको बघैँचामा छौं हामी।

ईश्वरको

शस्त्र थुतेर

अब ईश्वरै ईश्वर छ गाउँभरि।

कंसहरू शिशु-कृष्णका प्राणलाई

हत्केलामा राखी

बाघचाल खेलिरहेछन्।

नरसिंह र हिरण्यकशिपु

दुवै

भट्टीमा प्रह्लादको खोइरो खन्दै

सूर र सुधामय गफ हॉंकिरहेछन्।

समुद्र-मन्थनबाट

अमृत पिएर मृत्युमुक्त बन्नगएका

गाउँलेहरू

हातमा विश्वासघातका

रित्ता भॉंडाहरू लिएर फर्कँदैछन् रे।

यो वृन्दावनको

बॉंसघारीबाट

एउटै बॉंसुरी बनाउन सकिएन

कठै।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।