गए राती यहीँबाट
काला दिनहरूको एक हूल
लुसुक्क लस्किएको छ
मलाई लागिरहेछ –
ती काला दिनहरू अब कहिल्यै फर्केर नआऊन् ।
म कल्पनातीत माटो माथि सगर्व उभिएको छु
यतिबेला यहाँबाट हुँकार गर्न मन लागेको कुरा तपाईंलाई सुनाउनै पर्छ
साँच्चै हो मलाई यहाँबाट उकुसमुकुसका चैतहरू लखेट्न मन लागेको थियो
दिङमिङ् लाग्दो समय
नालायक राजनेताहरूको झर्को र मिति टार्ने अत्या........स लाग्दो
सपनाहरू दुत्कार्न मन लागेको थियो
मलाई यहीँबाट उदाएको वैशाखको सुकिलो दिन सुम्सुम्याउन मन लागेको थियो
अझै लागेको थियो
कहिल्यै नभोगेको वैशाख भोग्न मन लागेको थियो ।
म असाध्यै खुशी छु
मैले खोजेझैं लागेको वैशाख मेरै वरिपरि
सखारै पोखियो ध्वजे डाँडाकै थाप्लोमा बिस्तारै बिस्तारै ।
म औधि रमाएको छु यो बेला
बिछट्टै राम्रा दिनहरूको पुलिन्दा बोकेर
नयाँ घाम हामीझैं नयाँ पाहुना बनेर
प.......र..को डाँडाको टुप्पाबाट हतार हतारले हाम्फाल्दै
हामीतिरै आइरहेछ हामीलाई भेट्न ।
(२०६८/०१/०१ मा धरानको कलरव संस्थाद्वारा आयोजित 'बिम्ब र रङहरूको यात्रामा' धनकुटाको ध्वजे डाँडा र डाँडाबजारमा रचित र वाचित)