साहित्यका प्रमुख चार विधा, कविता, आख्यान, नाटक र निबन्धमध्ये कविता सबैभन्दा प्रमुख, प्रचलित र प्राचीन विधा मानिएको छ । कविता के हो ? यो किन र कसका लागि भन्ने विषयमा संस्कृत काव्य परम्परादेखि वर्तमानसम्म अनेकौं बहस चर्चा र प्रतिक्रियाहरु भएका छन् । पूर्वीय तथा पश्चिमी साहित्य साधकहरुले कविताका बारेमा आ–आफ्नै किसिमका अवधारणाहरु अघि सारेका छन् । संस्कृत साहित्यका विद्वान्हरूले कवितालाई कविताकै रुपमा परिभाषित गरेको नपाइए पनि कवितालाई काव्य साहित्यकै दृष्टिले हेर्ने गरेको पाइन्छ । संस्कृत साहित्यशास्त्रीहरुले कवितालाई काव्य अन्तर्गत राखी काव्यको स्वरुप वा लक्षण के कस्तो ? हुने भनी आफ्ना अवधारणा प्रस्तुत गरेका छन् । संस्कृत साहित्यका विद्वान् भरतमुनिले आफ्नो कृति नाट्यशास्त्रमा, भामहले काव्यालङ्कारमा, दण्डीले काव्यदर्शनमा र वेदव्यासले अग्निपुराणमा काव्य सम्बन्धी आ–आफ्ना अवधारणा अघि सारेका छन् । भरतमुनिबाट शुरु भएको पूर्वीय काव्य साहित्य सम्बन्धी अवधारणामा त्यस पछिका विद्वान्हरुले पूर्ववर्ती विद्वान्हरुका अवधरणामा खण्डन, संशोधन अथवा परिमार्जन गरी आ–आफ्ना दृष्टिकोण प्रस्तुत गर्दै आएका छन् ।
पाश्चात्य साहित्यका विभिन्न कवि, समालोचक एवं चिन्तकहरुले पनि प्राचीनकालदेखि नै कवितालाई विभिन्न ढङ्गले परिभाषित गरेका छन् । पश्चिमा साहित्यशास्त्रीहरुले पूर्वीयहरुले जस्तो समग्र साहित्य सन्दर्भबाट नभई कविताका मात्रै परिभाषा गर्ने र यसलाई अथ्र्याउने प्रयत्न गरेबाट पूर्वीय विद्वान्का कविता सम्बन्धी अवधारणा भन्दा पश्चिमा विद्वान्हरुका परिभाषा बढी बोधगम्य देखिन्छन् । यस सन्दर्भमा फिलिप सिड्नीले ‘‘अनुकरणको कला नै साहित्य हो’’ भनेका छन् भने प्रख्यात कवि जोन मिल्टनले ‘‘कविता कम सूक्ष्म र सुकुमार भए पनि बढी सरल, इन्द्रियग्राह्य र भावपूर्ण हुन्छ’’ भनेका छन् । त्यस्तै वीलियम वर्डसवर्थले ‘‘शान्त क्षणमा सन्चित अनुभवहरुबाट उत्पन्न मनोभावनाको स्वतःस्फूर्त प्रवाह कविता हो’’ भनेका छन् भने सेमुअल टेलर कलरिजको परिभाषामा ‘‘विज्ञानजस्तो सत्यको नभएर आनन्दको अनुभूति गराउने तात्कालिक उद्देश्य भएको रचना कविता हो’’ भनेर परिभाषा गरेको पाइन्छ । नेपाली साहित्यका विराट् प्रतिभा लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्यालदेखि नवोदित स्रष्टाहरुबाट समेत कविताका बारेमा आ–आफ्नै अवधारणा र परिभाषा प्रस्तुत भइरहेका छन् ।
पूर्वीय तथा पाश्चात्य साहित्यशास्त्रीहरुको परम्परागत अवधारणा भन्दा अलग हटेर माक्र्स तथा फ्रेडरिक एंगेल्सले पनि कविता तथा साहित्यका बारेमा आफ्ना पृथक् अवधारणा प्रस्तुत गरेका छन् । यी विद्वान्हरुको मतमा अन्य विधाको जस्तै कविताको पनि सामाजिक र संरचनागत चरित्र हुन्छ । माक्र्सवादी सौन्दर्यशास्त्रीय दृष्टिले कविताको चरित्र निरुपण गर्दा कवितामा केही आधारभूत तत्वहरुको उपस्थिति अनिवार्य देखिन्छ । ती आवश्यक तत्वहरुमा कविताको उद्गम स्रोत, कविताको सार, कविताको सामाजिक सम्बन्ध, यसको पक्षधरता, ऐतिहासिक क्रमवद्धता, कलात्मक बिम्वहरुको बिशिष्टता, अन्तरवस्तु तथा रुपको सम्बन्ध, समाजवादी यथार्थवादी मान्यता एवं यथार्थ र कल्पनाशीलताको प्रस्तुति हुन् । साहित्यलाई कल्पनाशीलताको फसल मात्र मान्नेहरुले कवितालाई समाजिक यथार्थ र कल्पनाशीलताको दोभान नठानी कवितालाई क्लिष्ट शाब्दिक कलाको रुपमा व्याख्यान गरेको पनि पाइन्छ । कथा वा उपन्यासको जस्तो यथार्थवादको समग्र मान्यता कवितामा प्रयोग गर्न नमिले पनि कवि बाँचेको समाज यसको यथार्थ संश्लेषण एवं प्रतिबिम्वन जस्ता कुराबाट कविता अलग हुन सक्दैन । कवितामा पनि विचार हुन्छ । कविता व्यक्तिगत भावावेगद्वारा अभिप्रेरित भइ रचना गरिए पनि यो समाज निरपेक्ष हुन सक्दैन । कवितामा व्यक्तिका रागात्मक भावहरुलाई सामाजिक रङ्गमा रङ्गाएर व्यक्त गरिएको हुन्छ । त्यसैले कविता वर्गीय हुन्छ भन्ने अवधारणा माक्र्सवादी सौन्दर्यशास्त्रीहरुको रही आएको छ ।
मानिसले गर्ने प्रत्येक क्रियाकलापको कुनै न कुनै उद्देश्य रहेको हुन्छ । त्यसैले कविता लेखन पनि निरुद्देश्यीय हुन सक्दैन । केही समालोचकहरु मनोरञ्जन, शिक्षा, आनन्द, लोककल्याण र यथार्थको प्रकटीकरणलाई मात्र लेखनको उद्देश्य मान्छन् भने अर्काथरी साहित्यशास्त्रीहरु कविता समाज रुपान्तरणको संवाहक एवं मार्गदर्शक हुनुपर्छ भनेर वकालत गर्छन् । वास्तवमा कवि अन्य कुनै ग्रहबाट आएको प्राणी नभई यसै समाजको एक सदस्य हो । त्यसैले कविका सिर्जना ऊ आफू बाँचेको समाजभन्दा पृथक हुने कुरै भएन । कविले आफू बसेको समाजमा जे देख्छ, जे भोग्छ र जे अनुभव गर्छ त्यही लेख्छ । त्यसैले कविताको परिवेश समाज निरपेक्ष हुन सक्दैन । कविको बुझाई, अनुभूति र संप्रेषणीयकला वा क्षमतामा कविताको संरचना आधारित हुन्छ ।
कविताका सम्बन्धमा पूर्वीय तथा पाश्चात्य साहित्यका आदि स्रष्टाहरुदेखि हालसम्मका चिन्तक साधकहरुबाट आ–आफ्नै किसिमका अवधारणा एवं परिभाषा प्रस्तुत भइरहेकोले कविता के हो भनेर कुनै एक वाक्यमा भन्नु त्यत्ति सजिलो पनि छैन । अध्यात्मवादी आदर्शवादीहरु कवितालाई व्यक्तिको आन्तरिक कुण्ठा, व्यक्तिवादी प्रलाप, अर्थहीन शब्दजालभित्र सीमित राखेर कवितालाई क्लिष्ट एवं रहस्यमय बनाउन चाहन्छन् भने भौतिकवादीहरु कवितालाई मान्छे र उसले जीवनका लागि गरेको श्रम, मानवीय सर्वोच्चता स्थापनाका लागि गरेको योगदान र समाजको सकारात्मक रुपान्तरणको माध्यम बनाउन चाहन्छन् । कविताका बारेमा अध्यात्मवादी र भौतिकवादीका आ–आफ्नै अवधारणा र मान्यता रहे पनि समग्रमा भन्नुपर्दा कविता सामाजिक वस्तुस्थितिले कविको चेतनामा पारेको प्रभावको उत्कृष्ट प्रतिबिम्वन हो भन्न सकिन्छ । अर्को शब्दमा भन्नु पर्दा कविता कविको तत्कालिक आवेग–प्रवेगको भावनात्मक तथा कलात्मक प्रस्तुति हो यसै कारण कविता आवेगपूर्ण, प्रवाहपूर्ण र समसामयिक हुन्छ । कविता थोरै शब्दमा धेरै कुरा प्रकट गर्ने कला पनि हो । यो सपाट र वर्णनात्मक भन्दा कलात्मक, बिम्वात्मक र चित्रात्मक हुन्छ । बिम्वमा सोच्नु, बिम्वमा खेल्नु र बिम्वमा बोल्नु कविताको विशेषता हो । यथार्थमा त्यस्तो कविताले मात्र स्रोता र पाठकको मनमा एक प्रकारको तरङ्ग वा झङ्कार पैदा गर्छ जुन कविताले व्यक्तिको व्यक्तिगत चिन्तनलाई सामुहिक एवं सामाजिक चिन्तनमा रुपान्तरण गर्दछ । व्यक्तिको रतिरागात्मक सङ्गीतलाई समूहको गीत–सङ्गीतमा फेर्नु नै कविताको अभीष्ट हो भन्न सकिन्छ ।
उपभोक्तावादी समाजले अनुत्पादक भन्दै जतिसुकै उपेक्षा गरे पनि नेपाली साहित्यमा रम्ने रमाउने र यसैमा समर्पित भएर आजीवन साहित्य साधना गर्ने साहित्यिक मनस्वीहरुको खडेरी भने छैन । भन्नेले अनुत्पादक अनुर्वरक जे–जसो भने पनि यसैमा समर्पित भएर लागिरहेका शब्द तपस्वीहरुको कमी छैन हाम्रो समाजमा । नाफा घाटा फाइदा वेफाइदाको कुनै हिसाब किताब नगरी अहोरात्र साहित्य सेवामा लागिरहेका मनिषीहरूका उत्सर्गको यथार्थ लेखाजोखा गरी समाजका अगाडि सार्वजनिक गर्ने गहन कार्यमा खटिरहेका सीमित स्रष्टा मध्येका एक स्रष्टा हुन्, राजेन्द्र पहाडी । पर्वत जिल्लाको कुश्मा बजारमा रहेर यी स्रष्टाले त्यस क्षेत्रको साहित्यिक वातावरण निर्माण गर्नमा निस्वार्थ पसिना बगाइरहेका छन् । अनर्गल प्रचारबाजी र सस्तो लोकप्रियता भन्दा टाढै रहन मन पराउने यी स्रष्टा अहोरात्र आफ्नो कर्म गरिरहेका छन् । राजेन्द्र पहाडी आफैमा राम्रा कवि र समालोचक त हुँदैहुन्, त्यसको साथसाथै उनको रुचीको प्रमुख विषय हो समाज सेवा । पर्वत जिल्लाको सामाजिक जागरणको लागि पसिनाको मोदी बगाइरहेका पहाडी शिक्षण पेशामा पनि संलग्न छन् । उनको व्यक्तित्वको आयाम कुनै एकक्षेत्रमा सीमित नभए पनि एउटा समाजशास्त्रीको रुपमा समाजका प्रत्येक गतिविधि र क्रियाकलापहरुलाई अत्यन्तै सूक्ष्म ढङ्गले पारख गर्नमा सफल मानिन्छन्, उनी । यी समालोचक स्रष्टाले पछिल्लो पटक पर्वतका भेट्रान साहित्यकार शान्तिनारायण श्रेष्ठका कवितामाथि आफ्नो अर्जुनदृष्टि लगाएका छन् ।
साहित्यकार शान्तिनारायण श्रेष्ठका कविताहरुको सामाजिक रुप र अन्तरवस्तुको विषयमा युवा समालोचक राजेन्द्र पहाडीले गरेको समालोचनाका बारेमा केही कुरा गर्नु पहिले सर्जक शान्तिनारायणका विषयमा केही पनि नबोल्नु अर्घेल्याईँ हुनसक्छ । शान्तिनारायण श्रेष्ठ नेपाली साहित्यका पाठकहरुको निम्ति अपरिचित नाम होइन । गुप्तेश्वर बहुउद्देश्यीय पुस्तकालयको स्थापना तथा सञ्चालन, गुप्तेश्वर गुफाको वृत्तचित्र निर्माण जस्ता रचनात्मक कार्यहरुका साथसाथै उनले दर्जनौं सामाजिक संघसंस्थामा रहेर समाज सेवाका कार्यहरू गरिरहेका छन् । यी कर्महरुका साथै विभिन्न विधाका डेढदर्जन जति कृति प्रकाशित गरिसकेका छन्, उनले । जीवनका सातदशक मध्ये पाँचदशक जति साहित्यिक क्रियाशीलतामा व्यतित गरेका शान्तिनारायणले जीवनका विविध विषयमा कविता रचना गरेको भए पनि समालोचक पहाडीले उनका कविताहरुमा अन्तर्निहित सामाजिक पहलुहरूको समाजशास्त्रीय नजरले पारख गरेका छन् । प्रस्तुत समीक्ष्य कृतिमा राजेन्द्र पहाडीले कवि शान्तिनारायण श्रेष्ठका कवितामा अन्तरनिहित सामाजिक परिवेशको चित्रण, ती कविताले समाजमा पारेको प्रभाव र उत्पन्न गरेको सामाजिक तरङ्गलाई बडो सजगताकासाथ चिरफार गरेका छन् ।
कविताको मूल्याङ्कन के कसरी गर्ने भन्ने कुरा मूल्याङ्कनकर्ता अर्थात् समालोचकको बैचारिक पृष्ठभूमि र उसले भोगेको भोगाइ वा बुझेको बुझाइमा निर्भर रहने विषय हो । रुपवादीहरुले आफूले गरेको विश्लेषण नै सबैभन्दा बढी वस्तुवादी हुन्छ भन्ने दावी गरे पनि सबै कुराहरुको वस्तुवादी र व्यवस्थित व्याख्या भने माक्र्सवादी सौन्दर्यशास्त्रले गरेको हुन्छ । कुनै पनि कृतिको महानता रुप विधान होइन, तत्कालिक यथार्थको उद्बोधन हो, भन्ने भनाई माक्र्स एंगेल्सको रहेको छ । कुनै पनि कलाकृतिमा निहित सौन्दर्य मूल्यहरुको खोजविन, अध्ययन र मूल्याङ्कन गर्ने हो भने त्यसको समाजशास्त्रीय विश्लेषण आवश्यक हुन्छ भन्ने तथ्यलाई राम्रैसँग बुझेका पहाडीले समाजशास्त्रीय दृष्टिले शान्तिनारायणका कविताको जाँच परख गरेका छन् ।
नेपाली समालोचना पद्दतीका कुरा गर्दा प्राय गरेर विद्यालय वा विश्वविद्यालयका पाठ्यसामग्रीमा समेटिएका कृति वा रचनाहरुभित्र सीमित रहेर समालोचना गर्ने परम्परा विद्यमान रहेको छ । यो परम्परावादी शैलीलाई भुत्ल्याउँदै समकालीन साहित्यिक कृतिहरुमाथि कलम चलाउने समालोचकहरुको संख्या त झन न्यून रहेको छ । यस्तो अवस्थामा समालोचक राजेन्द्र पहाडीले कवि शान्तिनारायण श्रेष्ठका कविताको समाजशास्त्रीय सौन्दर्यमाथि कलम चलाएर प्रशंसनीय मात्र होइन पर्वत जिल्लाको समालोचना साहित्यको इतिहासमा जोखिमपूर्ण कार्यको समेत थालनी गरेका छन् । कविताको विश्लेषण गर्दा सामाजिक यथार्थ र अन्तरविरोधको प्रभावभित्र रहेर गर्नु पर्छ भन्ने तथ्यप्रति पहाडी सचेत देखिन्छन् । कविको जीवन चिन्तनको प्रभाव उसका कवितामा पर्छ भन्ने मान्यतालाई अनुशरण गर्दै समालोचक पहाडीले कविताको अन्तरवस्तु, सामाजिक यथार्थ, समयचेतना, जीवनदृष्टि, समकालीन यथार्थको प्रकटीकरण र आञ्चलिकताजस्ता पक्षलाई समेटेर सामाजिक यथार्थवादी दृष्टिले शान्तिनारायण श्रेष्ठका कवितामा कसी लगाएका छन् ।
“शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन” नाम जुराइएको प्रस्तुत कृतिको खण्ड ‘क’ ‘परिचयात्मक प्रारम्भ’ शीर्षकको आलेखमा समालोचक पहाडीले कवि शान्तिनारायणको जीवनका विविध पक्षहरुलाई उजागर गर्ने काम गरेका छन् । पहाडीले शान्तिनारायणलाई जीवनका मीठा नमीठा अनुभवका खानी र भकारी नै भनेका छन् । समालोचक पहाडी लेख्छन्, “मध्यमस्तरको व्यापार, कृषि, ठेक्कापट्टा, कलाकारिता, समाजसेवा आदिजस्ता थुप्रै क्षेत्रको भुक्तमान अनुभव छ, शान्तिनारायणसँग । उनले भोगेको विगत शास्वत छ, जीवन्त छ ।” (पेज ४)
यसै शीर्षकको आलेखमा समालोचक पहाडीले कवि शान्तिनारायणको लेखकीय प्रवृत्तिहरुको चर्चा गर्दै लेखेका छन्, ‘यिनले नेपाली समाजको सार्वभौमिक विविधतामा आधारित रहेर कविता लेखे । ...परम्परावादी सोच, चिन्तन, शैली, ढाँचा र रुढीलाई समूल परिवर्तन गरी आदर्श समाज व्यवस्थाको स्थापनाको लागि यिनका काव्य रचना निर्दिष्ट देखिन्छ ।’ (पेज ४)
प्रस्तुत कृतिको दोस्रो आलेख ‘साहित्ययात्रामा शान्तिनारायणका ओजस्वी पाइलाहरु’ मा राजेन्द्र पहाडीले शान्तिनारायणद्वारा रचित सिर्जित कृतिहरुको परिचय गराएका छन् । त्यस्तै ‘कवितासँग शान्तिनारायणको मोह’ शीर्षकको आलेखमा पहाडीले कवितामाथि आफ्नो सौन्दर्यशास्त्रीय अवधारणा प्रस्तुत गर्दै शान्तिनारायणका कवितामा अन्तर्निहित सौन्दर्यको लेखाजोखा गरेका छन् । समालोचक पहाडी कविताका विषयमा लेख्छन्, पङ्ति मिलाएर लेख्दैमा वा तार्किकतामा ढालेर अथवा समानता, सहभागिता, सशक्तीकरण, समावेशीकरण, मूलप्रवाहीकरण जस्ता नीति आदर्शका कुराले कवितामा प्राण हाल्दैन । आमूल परिवर्तनका लागि गरिने क्रान्तिको अपरिहार्यतालाई ओझेल पार्ने र अनावश्यक भ्रम छर्ने काम कविताले गर्नु हुँदैन । कविले आफूलाई युगीन परिवर्तनको पक्षधर बनाएर उभ्याउनै पर्छ । (पेज १०) कवि शान्तिनारायणका कविता परिवर्तनका पक्षधर छन् भन्ने निचोड पहाडीको छ र आफ्नो भनाईको पुष्ट्याईंका लागि उनले शान्तिनारायणका कविताका केही पङ्ति समेत यस आलेखमा उद्धृत गरेका छन् ।
‘कवि, कविता र अन्तरवस्तु’ शीर्षकको समालोचनामा राजेन्द्र पहाडीले कवि शान्तिनारायण श्रेष्ठका कवितामा अन्तर्निहित अन्तरवस्तुहरु खोतलखातल पार्दै कवितामा अत्यावश्यक अन्तरवस्तुबारे लेखेका छन्, “कविताले मानव मात्रका लागि युगीन चेतना, जागरण, हौसला र निर्दिष्ट ऊर्जा सम्प्रेषण गर्न सक्नु पर्छ । समाजमा सदियौंदेखि जरा गाडेर बसेका घृणित प्रथा–परम्परा, कुत्सित प्रवृत्ति र वेथितिहरुप्रति शब्दयुद्ध चलाउने आँट नगर्ने सर्जक नपुंसक सावित हुन्छ । कविता लेखनको यो सत्यलाई स्रष्टा श्रेष्ठले शनैःशनै पर्गेल्न खोजेको देखिन्छ । पछिल्लो कालखण्डको उत्तरवर्ती समय–कुरुपतामाथि कठोर प्रहार गर्दै कल्पना सौन्दर्य दृष्टि छर्न प्रयत्न गर्नु यिनको लेखनीको सकारात्मक पक्ष हो ।” (पेज १३)
‘समाज र समय चेतना’ शीर्षकको आलेखमा समालोचक पहाडी लेख्छन्, स्रस्टा श्रेष्ठका कवितामा कालगत सवाल प्रतिविम्वन गर्ने क्रममा समाजको नकारात्मक यथास्थितिप्रति असहमति, असन्तुष्टि, विद्रोह र आक्रोशको भाव प्रकट भएको छ । ‘साहित्य सिर्जनामा जीवन दृष्टिको आँखीझ्याल’ शीर्षकको आलेखमा स्रष्टा शान्तिनारायणको अस्पष्ट जीवनदृष्टिप्रति संकेत गर्दै पहाडी लेख्छन्, “कतिपय रचना पढ्दा शान्तिनारायण जीवनका पक्षमा उभिनसक्ने कवि हुन् कि होइनन् भन्ने कौतुहलता लागि रहन्छ । लेखनधर्मितामा यिनी कुन कित्ताका अंशियार हुन् भेउ पाउन कठिन हुन्छ । ‘मायावी स्वादका पारखी कवि’ शीर्षकको लेखमा पहाडीले स्रष्टा श्रेष्ठका कवितामा रहेका प्रेम, प्रणय, अनुराग र रतिरागात्मक सन्दर्भहरुलाई कोट्टयाएका छन् भने ‘राजनैतिक व्यङ्ग्यबाणको रुपमा कविको कलम’ शीषर्कको लेखमा राजनीतिज्ञहरुमा विद्यमान धूर्तता, छलकपट, धोकाधडी, र अकर्मण्यका विषयमा शान्तिनारायणका कविताले उतारेको चित्रको चर्चा गरेका छन् । ‘समकालीन यथार्थ प्रकटीकरणमा कविको भूमिका’, ‘आञ्चलिकता प्रस्तुतिमा कविको रुचि’, ‘भाषा प्रेमले सिर्जना भएका कविताका बान्कीहरु’ शीर्षकका आलेखहरुमा समालोचक पहाडीले कवि शान्तिनारायणका कवितामा अन्तर्निहित विषयवस्तु, जीवनदृष्टि, एवं लेखकीय विशिष्टता जस्ता विषयमाथि कलात्मक र सटीक ढङ्गले विवेचना गरेका छन् । शान्तिनारायण श्रेष्ठका कवितामा विषयको विविधता र पउल रहेको कुरामा पहाडी आस्वस्त छन् । प्रस्तुत कृति मार्फत समालोचक पहाडीले स्रष्टा श्रेष्ठको लेखकीय विशेषता, उनका कवितामा अन्तर्निहित लेखकीय अपेक्षा र समाज रुपान्तरणमा श्रेष्ठले कविता मार्फत् देखेका सपनाहरुको सजीव एवं सटीक स्वरुप उजागर गरेका छन् ।
कवि शान्तिनारायण श्रेष्ठका कविताहरुको मूल्याङ्कन गर्दा समालोचक पहाडीले आफ्नो लेखकीय इमान्दारिताको स्पष्ट पहिचान दिएका छन् । पहाडी कवि श्रेष्ठलाई अत्यन्त सम्मान गर्दछन् । आफूभन्दा अग्रज स्रष्टालाई यथोचित सम्मान दिनु प्रत्येक मान्छेको नैतिक दायित्व पनि हो । यो यथार्थलाई आत्मैदेखि स्वीकारेका समालोचक पहाडीले शान्तिनारायण श्रेष्ठका कविताको समालोचना गर्दा भने काका भतिजाको सम्बन्धभन्दा माथि उठेर कवि शान्तिनारायणका कवितामा अन्तर्निहित समाजशास्त्रीय सौन्दर्य चेतनाको शल्यक्रिया गरेका छन् । प्रस्तुत कृतिमा रहेका सबैजसो आलेखमा पहाडीले स्रष्टा श्रेष्ठको लेखकीय प्रवृत्तिका सकारात्मक पक्षहरुको प्रशंसामात्र होइन, कमजोर र दुर्वल पक्षहरुको उल्लेख पनि गरेका छन् । ‘टुङ्गो’ शीर्षकको आलेखमा समालोचक पहाडी लेख्छन् “मूलतः शान्तिनारायण श्रेष्ठ कविता विधामा मस्तले जमेका स्रष्टा होइनन् कि भन्ने पाठकलाई लाग्न पनि सक्छ, किनभने वि.सं. २०२७ सालमा प्रकाशित ‘गुप्तेश्वर’ खण्डकाव्य र रत्न श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार प्राप्त ‘स्मृतिका लहरहरु’ शोककाव्य बाहेक हालसम्म उनका कुनै गद्यकविता कृति प्रकाशन नभएका तर यिनका करिब आधादर्जनको संख्यामा मुक्तक, हाइकु, चोका, ताङ्का जस्ता छोटा बान्कीका कविता सङ्ग्रहहरु प्रकाशित भैसकेका छन् । शायद गीत, गजल र मुक्तक सिर्जनामा रमाउने र यिनै विषयको कृति प्रकाशन गर्नमा नै बढी ध्यान केन्द्रित गरेकाले पनि यसो भएको हुन सक्दछ ।” यसबाट के प्रष्ट हुन्छ भने पहाडी कविको नभएर कविताको समालोचना गर्न सक्षम छन् । आफूले काका भन्दै आएका पाका स्रष्टा श्रेष्ठको कवितामा रहेका मनसाय, उद्देश्य एवं सवल र दुर्वल पक्षहरुलाई कविताको सौन्दर्यशास्त्रीय कठघरामा उभ्याएर निर्धक्क वकपत्र गर्न सक्नु पहाडीको लेखकीय सामथ्र्य हो । वैयक्तिक पहिचान हो ।
शान्तिनारायणका कविता के कस्ता छन् भन्ने विषयमा पाठक समालोचकहरुको एउटै मत नहुन पनि सक्छ । लेखक स्रष्टाले कुन परिवेश र बुझाइका आधारमा रचना सिर्जना गरे त्यो परिवेश र बुझाइको अनुभूति सबैको एकै तह र एकै प्रकारको नहुन पनि सक्छ । स्रष्टा श्रेष्ठको लेखकीय प्रवृत्ति र उनी बाँचेको सामाजिक परिवेशलाई राम्रैसँग बुझेका पहाडीले यस कृति मार्फत् कवि शान्तिनारायणको कवित्वमा कसी हाल्नेमात्र होइन, पाइन हाल्ने र उजिल्याउने भरमग्दूर प्रयत्न गरेका छन् । कवि श्रेष्ठले कविताको औजारले छप्काएर असरल्ल छोडेका लाथ्रापोथ्रा, झाडीबुट्यान, र हाँगा–डालीहरुलाई बडो संयम र जतनका साथ छिमल्ने, पर्गेल्ने, मुठो बाँध्ने र भकाराहरुसम्म पु¥याउने सार्थक र मिहिन कसरत गरेका छन्, पहाडीले । समालोचक पहाडीले यस कृति मार्फत शान्तिनारायण श्रेष्ठको कवि व्यतिmत्वको साङ्गोपाङ्ग उत्खनन् गरेका छन् । कवि शान्तिनारायणका कविताका बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेहरुका लागि यो कृति मानक सन्दर्भसामग्री बन्न सक्ने देखिन्छ भने यसका मनसायहरुलाई ग्रहण गर्न सक्ने हो भने स्रष्टा शान्तिनारायण श्रेष्ठको आगामी कवितायात्राका लागि समेत यो कृति मार्गदर्शक बन्न सक्ने देखिन्छ ।
प्रस्तुत कृतिमा समालोचक पहाडीले उठान गरेका विषवस्तुसँग असहमति जनाउनु पर्ने कुनै कारण छैन । अबका कविताको उद्देश्य वर्तमानलाई व्याख्या गर्ने वा फोटोकपी गर्ने मात्र नभएर वर्तमानलाई परिवर्तन गर्ने सामथ्र्यको हुनुपर्छ । मानव जीवनलाई जटिल, कुरुप, दुरुह र भद्दा बनाउने राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक विसङ्गति बिरुद्ध सुसंस्कृत, सजीव, सुन्दर र रचनात्मक समाज निर्माणको ध्येय कवितामा हुनुपर्छ भन्ने निष्कर्ष समालोचक पहाडीले निकालेका छन् । समालोचक पहाडीको यो कृति पर्वत जिल्लाको मात्रै नभएर धवलागिरि अञ्चलकै समालोचना इतिहासमा छुट्टै मानक पहिचानकासाथ प्रस्तुत भएको छ । राजेन्द्र पहाडी हुने विरुवाका चिल्ला पात हुन् भन्ने पुष्ट्याईं गर्न यो कृति सफल छ । उनको यो समालोचनाको यात्रा बीचमा नरोकियोस् । यिनै शुभेच्छाका शब्द र विजयादशमी २०६७ को मङ्गलमय शुभकामना सहित आफ्ना भनाई यहीं अन्त्य गर्दछु ।
सि.न.पा. ८ भैरहवा, रुपन्देही