18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

त्रास र आशाहरु

कविता श्रीशीशा राई April 3, 2011, 5:02 am

घरीघरी आँखामा आईरहने

आफ्नै भविष्यको परिदृश्यमा

आफुलाई धमिलै देखेपछि तिमी

मसँगै सुतेको सपनामा बौरिएका थियौ

‘यहाँ बसेर के हुन्छ र...... ?’

बुबाले चास्न नसकेर बाँझै छाडेको बारी,

दाजुको नास्तापसलको बचत,

दिदीको मंगलशुत्र,

टुसाउँदै गरेको प्रेमको सुन्तले कोसेली –

तिम्रो एमआरपी पासपोर्टमा

यी सवैको धरौटी छाप लागेको छ

पसिनाले भिजेको सिरानीले थिचेर यिनीहरुलाई

अचेल तिमी परदेशमा

हेल्पर जिन्दगी र ओभरटाईम सपनामा

सग्लो तस्विर खोजिरहेछौ

अहिले तिमीसँग

तस्विर हेर्नलाई सपनाहरु छन्

गर्मी नै भएपनि

सपना देख्नलाई सिरानी छ

कमसेकम

स्कुलडाँडावाट बहने हावा कता कता

शीतल लाग्न थालेको छ अचेल

तर नेटफोनहरुमा

हत्केलाको एकपत्र उप्किँदा पनि

अझै शुन्यको मधुरो आवाज आउँदा यहाँ

हावाहरु लप्का बहन्छन्

प्रत्येक झोँकाहरुमा

साँवा व्याजको हिसावका लागि

‘ब्याट्रि डाउन’ मोबाईल सँधै

‘क्यालकुलेटर’ अप्सन थिचीरहन्छ

सुकेका हजार चाहहरुलाई

पानी छर्काउँदै तिमी गयौ र

केही कोपिलाहरु सुर्यमुखीका

घामतर्फ अघि बढिरहेछन्

आश छ

तिमी फर्केर आउँदा यी कोपिलाहरु

ओठ खोलेर मध्यान्ह फुल्नेछन्

त्रास छ –

कतै तिमी

ट्वाईलेटको पानी खाँदै लिबिया बाँच्छौ,

झोला, मुस्कान र उत्साहलाई

परदेशमै छाडेर बाकसमा फर्किन्छौ

धरान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।