18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लाज

कविता कृष्ण प्रसाईं March 29, 2011, 12:20 am

निर्वस्त्र थिए

मेरै आमाले देखिन,

मेरो पहिलो लाज

आफ्नै सृजनाको लाज

सायद गर्वबोधमा रमाउथ्यो आमालाई

म हुर्किदै गर्दा

नाङ्गा हिमशिखर र पहाडले मेरो लाज हेरे

त्यतिबेलैको कुरा हो

आकाश, जुन र ताराहरु

आफुसगै खेल्ने दौतरीहरु

हामी सवैले आफना लाज हेरेर

एक आपसमा लाज साट्यौं

लाजको सुगम यात्रामा

हामी हाम्रा लाज माथि कहिल्यै लजाएनौं

लाज रहदाको क्रम एकाएक भंगहुँदा

दौतरीहरु फेरिएका थिए

तर किनहो

लाज लुकाउने कुरामा

फेरिएका थिएनन्

जुन,

तारा

र पहाडहरु ।

अनि फेरिएनन् हिमशिखरहरु

यी सवै पहिले झै निसंकोच

लमतन्न भएर

एकअर्कालाई लाज देखाउदै

सुतिनै रहे,

लाजमाथि रमाएर

म भने अहिले

आफ्नै लाजसँग लजाएर

विवश बाचेको छु

आफ्नै लाजलाई बन्द कोठाभित्र लुकाएर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।