18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरो निगालोको घर

कविता प्रदीप चापागाईं March 14, 2011, 8:16 pm

एक बिहान

झिसमिसेमै उठेँ

घामले लाली नपोत्दै

क्षितीज पारीको क्यान्भासतिर

एक जोडी आँखा

कौतुहलता पोख्छन्

संसार हेरेकै हो

जीवन भोगेकै हो

एक नयाँ अध्यायको खोजी

अघी बढ्ने अठोटसित

शान्त पाईलाहरु

अघी लम्कन्छन् ।।

सपना देख्नेहरुले

विपना बिर्सदैँ

रातको आडमा

निद्रा मिठ्ठ्याएहोलान्

म देख्दिन सपना

किनकी

सपना सायदै पूरा होला

र अब म

झुप्रोमै ईतिहास कोर्छु

माकुरीकै जाल ओढ्छु

जून बटुलेर उज्यालो पार्छु

आगोसित लड्छु

तुफानलाई हराउँछु

त्यसैले त

ढिलोचाँडो

निगालोको घर बनाउँछु ।।

र अर्को बिहान

फेरी उठ्नेछु

संसारलाई जितेको हुनेछु

महलवालाहरु

इर्श्या गर्नेछन्

सायदै कहलिएलान् तिनीहरु

तर म अमर हुनेछु

दुई अक्षर

सुनले लेखिनेछ

र फेरी

जिवनविहिन अस्तित्वमा

अर्को यात्रामा हुनेछु

त्यसैले त

सुरुवातको

ज्वलन्त दियो बाल्न

अब म

निगालोको घर बनाउँछु ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।