18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एक अनिद्रित रात

कविता पिएस निङलेकु लिम्बू “निश्चल” March 6, 2011, 4:38 pm

हेर्दाहेर्दै सूर्यदेव क्षितिजसंगै बिलीन भए

साँझको पोखरीमा सारा दृश्य चुर्लुम्म डुब्यो

लोडशेडिङको पालो फेरि आएछ क्यार!

गामभरी बाक्लो अन्धकार छायो

दसगते बनमा जूनकीरीहरु बास बसि सकेछन्-गीत गाएको सुनिन्न ।

चुक घोप्टिए झैं निष्पट्ट अध्यारो छ परिसर ।

जति रात छिप्पिदै गयो

छट्पट्टी त्येतिनै बढिरहेछ

ओछ्यानम दायाँ-बायाँ, दायाँ-बायाँ कोल्टे फेर्दै

लामो लामो श्वास लिदै,

मनभित्रको उदविग्नतालाई खोरुङ्वा खोलाको छ्वाङ् छ्वाङ् भेलसंगै बगाउदै

एक झक्को निदाउन खोजिरहेको छु ।

तथापि

मनमा अनेक कुराहरु खेलिरहेकाछन

दिनमा अनि बिगतमा घटेका कृयाकलापहरु

तालिकाबद्दरुपमा सिनेमाको पर्दामा झै

दृश्यावलोकन भइरहेछ-अन्तस्तलमा

कतै टाढा टाढा बाट! भुक्! भुक् ! केवल कुकुरको भुकेको आवाज सुनिन्छ ।

अस्ति भर्खर कमेरो छेपेको भित्तामा

टोक्ला चिया किन्दा उपहार परेको पेन्डुलम घडीले

ट्वाङ्! ट्वाङ्! गर्दै बिहानको दुई बजेको संकेत दिन्छ ।

अंह

निन्द्रादेवीसंग पटक्कै सम्झौता हुन सक्या छैन

लाखौ कोशिस बिफल

ब्यतित कुराहरु नजरभरि

पालै पालो दृश्य १, २, ३ हुदै घुमिरहेछन, घुमिरहेछन ।

ओछ्यानमा कोल्टे फेर्दै

प्रभातको किरण, लाजको लालीसरि

झ्यालबाट खुसुक्क सवारि हुन्छ

अनि

यसोरीनै एकै झप्को ननिदै एकरात, छट्पटाहटमै अनिद्रित कट्छ ।

धरान, सुनसरी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।