रहरहरु धितो राखेर
हरेक दिन समय चक्रमा,
सकिनसकि आफैलाई पिस्दै
भर्जिनिया र डिसितिर
घिसारिएका यि विबस जिन्दगीका,
टीठलाग्दा अनुहारहरु पढ्दा,
लाग्छ— बर्तमानका यी मान्छेहरु,
जिबित यन्त्रका अर्को संस्करण हुन् ।
कृत्रिमताको आवरणमा पिडाहरु लुकाउँदै,
आन्ड्रेला र रोजेटको अघि
हाँसो हराएर कलेटि परेका ओठहरुले,
बेस्वाद मुसकुराउछ ऊ ।
म्याकडोनाल्ड र क्वीजनोजका स्वादहरुमा,
कोलस्ला पापास अनि भेजि-ननभेजि बर्गरहरुले,
अघाउन नसकि दाम्ब्रिएको पेट,
थाकेर पनि बिश्राम नपाएका पाखुरी,
चिन्ता र रोगले गालेको
बिबस र लाचार तन,
अनि गह्रुङगो बोझिलो मनसगै
जति बाट्न खोजे पनि
फुस्किरहने बालुवाको कसारजस्तो
यो पराइ मुलुकमा,
बिभत्स कोलाहाल बर्बराउदै
खोइ के खोजिरहेछ ऊ?
यहाँ न ऊ अरुको हुन सक्छ,
न त अरु उसको नै,
बालुवामा हालेको पानीजस्तो उसको पसिना,
मु्ल्य भेटिनुअघि नै
उधारोमा परिवर्तित हुँदा,
न मु्ल्य छ उसको श्रमको,
न त आभारका प्रेमिल शब्दहरु,
मात्र उहि नियमित भोगाइमा,
'ऊ' केवल ऊ मा सीमित कार्बनकपि भएर,
अहोरात्र
एउटै सडक, उस्तै दैनिकि
उडब्रिज - भिएना
अनि
फियरफ्याक्स - स्प्रिङफिल्ड
ओहोर दोहोरमा ब्यस्त,
ऊसलाइ देख्दा,
आज म,
बन्द कोठरीमा
निर्जीव निस्प्राण,
घट घट घट घट,
दाँया बाँया
एकनास एकतमास,
निरन्तर चलिरहने,
मानब निर्मित यन्त्र र,
यन्त्र नियन्त्रित मानब बीचको,
गहिरो भेद खोजिरहेछु ।
अमेरिका