म कवि होइन
न कविताकर्म मेरो हो
तर पनि कविता पढ्न मन पराउँछु
असाध्यै मायाँ गर्छु म कवितालाई ।
संसारका कविहरुको कविता
पढेको अहं छैन मसंग
तर जति कविता पढेकोछु
त्यसलाई मनमुटुमा संगालेकोछु मैले ।
मैले थुप्रै कवितामा
अनेक दर्शनका ज्वालाहरु देखेकोछु
जो-कवितामा दन्किन्छन्
अनि , ब्यबहारमा चिसो खरानी बन्छन् ।
कविताको दर्शनले भन्छ-
-मङ्गलग्रहमा मानव बस्ती बसालौं
आदिम युगको खानतलासी गर्दै
सुन्दर र सभ्य मानव समाजको निर्माण गरौं ।
तर, बिडम्बना !
यति सुन्दर दर्शनको अध्येताको बुढो बाबु
यही धर्तीको यौटा मानव बस्तीमा
सकिनसकि हलगोरु नारिरहेको हुन्छ ।
‘छोरा ! अब म बुढो भएँ’
टिलपिल टिलपिल आँशु बग्छ बाबुको आँखाबाट
सुस्केरा फुत्किन्छ अनायसै
-‘अब तैंले काँध थाप्नु पर्छ बिरासतको ।’
दिनदिनै कम्जोर बन्दैछु
हलको मेलो पुर्याउन सक्तिन अब म
दाँत पनि असाध्यै कम्जोर भएछन्
भुटेको मकै टोक्न सक्तिन म ।
पानीको घुट्कोसंगै गाँस निल्नु पर्छ
नत्र पेट भोकै हुन्छ
गोरस खानु त लैना पो पाल्नु पर्छ त
घाँस-कुँडो कस्ले गरिदिने?
अभाव, गरीबी र धपेडीले
आधा उमेरमै दमले थला परेकि
तेरी आमाको हाल यही नै हो
दिनरात स्वाँ स्वाँ र फ्वाँ फ्वाँमै जीवन काट्दैछे ऊ ।
तर, कविले बुझ्दैन यी झिना-मसिना कुराहरु
बुझोस् पनि कसरी र ?
ऊ त ठूला ठूला दर्शनका ठेलीका
सिरानी लगाएर सुत्ने महान कवि पो हो त ।
उसले त ब्रम्हाण्डको कुरा गर्नु पर्छ
मङ्गलग्रहमा मानव बस्तीको कविता लेख्नु पर्छ
अनि आफ्नो बिद्वताको दुहाई दिएर
महान दार्शनिक बन्नु पर्छ ।
आखिर हलो-कोदालो गरेर
अनि भस्मे र खोरिया फाँडेर
कोहि मान्छे दार्शनिक कहलिँदैन
न त महान कवि नै बन्न सक्छ ।
यही नै सत्य हुँदाहुँदै पनि म सोच्ने गर्छु
आफ्नै बुढो बाबु र असक्त आमाको पीडाबोध नहुने नाथे कविबाट
जन्मिएको सुन्दर कविता र दर्शनको जलपले
समाजलाई के दिन सक्ला र?
कवि समाजको संवाहक हो / हुनुपर्छ
कवि समाजको प्राण हो / हुनुपर्छ
कविता समाजको दर्पण हो / हुनुपर्छ
कविता जीवन हो / लेखिनु पर्छ
उमेरले डाँडा काट्दै गए पछि
मष्तिष्कमा पनि धमिरा लाग्दो हो सायद
त्यसैले त, तपशिल बाहेकका कविताहरु
बुझ्न छाडेकोछु अचेल म