18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चीसो रात

कविता निरा शर्मा February 4, 2011, 9:33 pm

औसीको निस्पट्ट अध्यारो,

पुर्णिमाको झलमल्ल उज्यालो ,

कन्चन शीतमा रुझेको, पसिनामा निथ्रुक्क भिजेको,

जे होस् जस्तो होस्

तिमी र म बीच

न्यानोपनको महसुस गर्न

रात चिसो हुनै पर्छ ।

नि:शब्द शान्त मौनता,

शुन्यता छाएको सन्नाटा ,

लाटोकोसेरोको कोलाहल होस् या

झ्याउकिरिको सङ्गीत

तिमी र म बीच

निश्वास र धड्कनको गुन्जन सुन्न

रात एक्लो हुनै पर्छ ।

जुनकिरीको पिल पिल

ताराहरुको चम चम

जुनको उज्यालो होस या

बत्तीको झलमल्ल,

यी सबको आँखा छल्दै

अध्यारोको खास्टो ओडेर भए पनि

तिमी र म बीच

प्रेमको उज्यालो साटासाट गर्न

रात अँधेरो हुनै पर्छ ।

अधेरीमा चीसिएर,

एक्लै नितान्त एक्लै,

कुहिरोमा धर्मराएको होस या

तुवालो भित्र लरखराएको होस

तिमी र म बीच

बिश्वासको दह्रो घर बनाउन

रात लुलो हुनै पर्छ ।

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।