18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म मेरो देश खोजिरहेछु

कविता प्रदीप चापागाईं February 3, 2011, 9:46 pm

सगरमाथाले चुहाएका

ती आँसुहरु केलाएर

बुद्धले सुनाएका

अर्तिहरु सित

दिन रातको फरकबिचको

एक शून्य निमेषमा

लडाँईपछिको भग्नावशेष भित्र

व्यग्र प्यासले

म मेरो देश खोजिरहेछु । ।

आफ्नै भुगोलमा

स्व-अस्तित्व मेटाउने खेलबिच

आमाहरु रुँदा

नानीहरु टुहुरिँदा

अनि दिदीबहिनीको रातो पुछिँदा

मुढे लासहरुको जमातै सामुन्ने

तिनै निर्दोष अनुहारहरुमा

टक्क अडिँदै

विक्षिप्त मनले

म मेरो देश खोजिरहेछु । ।

लोडसेडिङ्को रातमा

शहर अन्धकार हुँदा

लालाबाला च्यापेर

अगेँना छेवै

छाक जोर्ने सुरमा

पिठो घोलिरहेकी

गाउँले दिदीको

टुकी नबल्ने झुप्रोमा

टुटेको आशले

म मेरो देश खोजिरहेछु । ।

कथित ठुलाहरु

सत्तालिप्सामा अल्झिँदा

यो अनि त्यो को

पूरा नहुने मागहरुबिच

चैते घाम ओढेका

उराठ सडकहरु

टायरको आगोले रन्किँदा

त्यही कालो धुँवाको मुस्लोमा

बन्द आँखाहरुले

म मेरो देश खोजिरहेछु । ।

सिड्नी,अष्ट्रेलिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।