आजकाल उनीहरु
टीका लाउँदैनन्
के दशै, के तिहार
के संक्राती, के पूर्णिमा
आओस !
जे सुकै चाडपर्ब
तर अँह
लाउँदैनन् उनीहरु टीका।
अचम्म!
निधारमा टीका छैन
तर पनि टलल्ल टल्किन्छ टीका
उनिहरुको निधारमा
टीका चाहिदैन भनी
संस्कृतिको बिरोध गर्नेहरु चाँही
निधारमा लामो टीका
दल्छन् ,
शायद
टलल्ल टल्केको
छोपोस् भनेर।
आजकाल उनीहरु
टीका लाउँदैनन्
किनकि
उनीहरु
पारीबाट टीका लगाइ आउने
टीकेहरुद्वारा शासित जनता हुन्
जो आँफै चिनिन्छन्
टीके जनता भनेर।
टीकेहरुले पाएका आशिर्बादहरु
हिउँ झै बर्सिन्छन्
उनीहरु माथि
कहिले पारीबाट ल्याएको
बर्षौको कमाई
बीच बाटोमै लुटिएर
कहिले कोशी ब्यारेजमा
आएको बाढीसंगै बगेर
कहिले सिन्चाई गर्न नपाई
खंग्रङ सुकेको मकै झै
खडेरीले खाएर
कहिले कालापानी भएर
कहिले टनकपूर भएर
सिमलटार, काठमाडौं