झन झन गाढिने भासमाथि उभिन्छन् कोहि ।
रोजाई आ-आफ्नो हो आसमाथि उभिन्छन् कोहि ।
हार असम्भव छ हुन जिन्दगी रहेसम्म,
बुझेर सहजै प्रयासमाथि उभिन्छन् कोहि ।
सन्नाटामा आँधिको अनुमान गर्न नसकी,
बनाएर महल तासमाथि उभिन्छन् कोहि ।
थाहा हुन्न आगोको गन्ध आगोकै खेती गर्दा,
त्यसैले त हाँस्दै कपासमाथि उभिन्छन् कोहि ।
कोहि उभिन्छन् प्रकाश छर्दै अँध्यारो धर्तीमा,
छाडेर धरती आकाशमाथि उभिन्छन् कोहि ।