18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

वारिपारि

कविता निरा शर्मा January 18, 2011, 8:23 pm

तिमी खोला पारि रम्यौ

म खोला वारि जमे

जम्नु मेरो नियति

मायाको न्यानो स्पर्श दिएर

तिमीले पगाल्नु पर्थ्यो

तर तिमी तिम्रै दुनियामा रमाइरह्यौ

म चीसा रातहरु सित पौठे जोरि खेल्दै

कहिले हिउ जस्तो त कहिले चट्टान जस्तो जमिरहे

हामी बीच तेर्सिएको यो नदी

छङछङ आवाज निकाल्दै बगिरहेको बेला

म तिम्रा प्रेमालापका श्लोकहरु अनि

याचनाका गीतहरु सुन्छु

नित्य चीसो र अन्तहिन

एक्लो रात बीच

वारि र पारी हुनुको पीडा

म भित्र एकतमासले दुखिरहन्छ

हामीले बिश्वासको दह्रो पुल हाल्न सक्नु पर्थ्यो

तर पटक पटक

उही अबिश्वासको काठे साँघु

जीर्ण हुदै भत्किरह्यो

हामी तमासे बनेर हेरिरह्यौ

मात्र आखाको जुवारी

म वारि, तिमी पारि,

स्वर्णिम सपनाहरुलाई यथार्थमा बदल्ने हाम्रो अभियान्

पुरा नहुँदै थाकेछौ हामी

मन बचन र कर्मको सङ्कल्प

बीचैमा तुहिदिदा,

हारेछौ हामी आफै सित,

र अल्झिएछौ नदी किनारमा,

बिधीको बिडम्बना

तिमी पारी राज गर्यौ

म वारि बास बसे

हामी बीच,

कुरा दृष्य र दृष्टीको थियो

समिकरण हुन नसकेका,

साघुरा सोचहरुको थियो,

परिचित भएर पनि

सनाखत नभएको

हाम्रो नाता सम्बन्धको थियो

कर्महरुले बिचारको दुरि छिचोल्न नसक्दा

अलग्गिएका हाम्रा आयामहरु

वारी र पारीमा

सिमाङ्कन भएछन,

मनले छोएको मन,

अनि नयनले भेटेको नयनलाई

एउटै डोलिमा अन्माउन नसकि

उछिट्टिएर पाखा लाग्दा

तिमी पारी पुग्यौ

म वारी छुटे

सगै सगै बग्ने रहर हुदा हुदै पनि

उत्सर्ग र समर्पणका आयतन नाप्न नसकेर

चुम्बन र आलिङगनको धित मार्नु अघि

तिमी सेतुले जोड्न नसकने गरि

उता पारि पुग्यौ

म उठनै नसक्ने गरि यता थला परे ।

कहिले नभेटिने नदिका दुइ किनारा झै

हामी वारि र पारि भयौ

वारि र पारि भयौ ।

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।